Pageviews

Thursday, December 31, 2009

तिमीलाई के मन पर्छ मेरो ?

तिमीलाई के मन पर्छ मेरो -
म त्यहीं दिन्छु ।

कतिलाई मेरो अनुहार मन पर्‍यो
कतिलाई मेरो दुःख मन पर्‍यो
तर दिइँन ।

कतिले आँशु माँगे
शायद सम्झे होलान् आङ्खना अतीतहरु
कति मेरो खुशीको उत्सवमा नाच्न खोजे
भेटे होलान् ममा सुरिला गीतहरु
कतिले उकालीमा हात दिए
शायद मन पराएको हुँदो हो म एउटालाई
कतिले गुलाबको फूल दिए
भाकेर देउराली-देउतालाइ
तर मैले स्विकारिन ।

धेरैले मलाई आङ्खनो नाम दिए, ठेगाना दिए,
आफसेआफ धन्यबाद दिए,
शुभकामना दिए
र दिए खाली कागजका पन्नाहरु
लेखीदिन मागें केही हरफ मायालु कविता
धेरैले आँखाबाट टिपेर लगे मेरो परिचय
र पठाए निला खामहरु
तर मैले पठाइन केही पनि जवाफ
बरु बगें पटक-पटक हिम-पहिरो झैं
निर्जन अन्तहरुमा
मानौं ठिङ्ग उभिई रहें
जसरी उभिएको हुन्छ सगरमाथा पर्यटकको क्यामरा अघि ।

आए, गए कति प्रेम दिवसहरु
आए, गए सालिन्दा नयाँ वर्षरु
तर म बाँचे एक्लै.... एक्लै....
जसरी वास्ता हुँदैन-
नदीलाई पुलको
फूललाई भवँराको
ऐनालाई अनुहारको ।

तर,
तर
म आज तिमीसम्म यसरी आएको छु
जसरी आउँछन्
घर आँगनमा निम्तोबिना भिखारीहरु ।

तिमी पनि उभिएका छौ
मेरो सामुन्ने,
नचिने पनि चिने जस्तै गरी
जसरी घरबेटीहरु संघारमा उभिन्छन्
र हेर्छन् भिखारीहरुलाई ।

तिम्रो मन मलाई मन पर्‍यो
तिम्रो जीवन मलाई मन पर्‍यो
तिम्रो उभिने तरिका मन पर्‍यो ।

म सिर्फतिमीलाई प्रेम गर्न आएको छु
मायाको लागि
हत्केलाको आयतन फैलाएको छु

तिमीलाई के मन पर्‍यो मेरो
भन, म त्यहीं दिन्छु ।

जङ्गबहादुरहरु

त्यसो त दरबारमा-
धेरैपटक मरिसकेका हुन्छन् जङ्गबहादुरहरु ।

जङ्गबहादुरहरु
अस्पतालमा मर्छन् एकपटक
बाँचुलाझैँ गर्छन् मृत्यू शैय्याहरु
समेत
फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरु ।

जङ्गबहादुरहरु
अखबारमा मर्छन् दोश्रोपटक
आयू थपिएझैँ चम्चमाउँछन् पाठकका
आँखाहरु ।

जङ्गबहादुरहरु
इतिहासमा मर्छन् अन्तिमपटक
विद्यार्थीहरु पढ्दापढ्दै बन्द
गर्छन् इतिहासको पुस्तक

तर पनि-
किन जन्मिरहन्छन् अझै नयाँ जङ्गबहादुरहरु ?