Pageviews

Friday, March 5, 2010

संसारको सबैभन्दा खराब मान्छे मै बन्न चाहन्छु ।


बिमला तुम्खेवा नेपाली कविताका क्षेत्रमा चर्चित र लोकपि्रय युवा कवि । साहित्यमा राजनीतिक विचारको उपस्थितिलाई ठाडै इन्कार गर्ने उनी साहित्यलाई स्वयंमा विचार मान्छिन् । प्रेम उनको लेखनको 'सदाबहार' विषय र प्रेमलाई सशक्त सुन्दर र अतृप्त रुपले लेख्न सक्ने एकमात्र कवि पनि उनी नै हुन् । उनका बिमला तुम्खेवाका कविताहरु नदी छाल र तरङ्गहरु र संस्मरण बूढो रुखको कविताकृति प्रकाशित छन् । कहिले तबला वादनसँगै एकल कविता वाचन गरेर त कहिले काठमाडौ पशुपतिनाथको कैलाश डाँडामा जोगीसँग भाङ खाएर चर्चामा आउने उनी लेखनसँगै महिला अधिकारकर्मीका रुपमा समेत परिचित छिन् । बिमलालाई अब छिट्टै नेपाली साहित्यले आख्यानकारका रुपमा समेत पाउने छ केहीवर्षअघिदेखि उपन्यास लेखिरहेकी उनी अहिले आफनै उपन्यासको कुनै मध्यपृष्ठतिर रोकिएर बसेको बताउँछिन् । प्रस्तुत छ उनीसितको कुराकानी ।

केही वर्षअघिदेखि उपन्यास लेखनमा रहेको बताउँदै आउनुभएको थियो कहाँ पुर्याउनुभो त ?

लेख्दैछु । पात्र यति पिाचे परेछ कि १० पेज लेखिसक्दा बीसपल्ट रुन्छ । मेरो भावना नै रुन्चे हो कि 'क्यारेक्टर' नै रुन्चे हो म अलमलमा परिरहेको छु । क्यारेक्टर अहिले तेर् हथुमको ओख्रे गाउँमा गएर बसेको छ । ऊ माथि मेरो 'फिलिङ्स' हावी भएको भए म त्यसलाई चयात्न चाहन्छु । किनभने ऊ नेतृत्वदायीतवरले आओस् भन्ने हो । अबको लेखनमा त्यो हुनुपर्छ मैले चाहेको पनि त्यै हो ।

पात्रको थोरै परिचय दिन मिल्छ ?

मेरो कविता सङ्ग्रह नदी छाल र तरङ्गहरुको एउटा कविता 'हजार सपना र मनमाया' कविताकै पात्र हो त्यो । पात्र चाहिँ 'ट्रेडिशनल' छ । जवान लिम्बुनी हो । लिम्बू संस्कृतिबाट आएको हो । उसको यौन र मनोविज्ञानलाई इङ्गित गरेर लेखिरहेको छु ।

साँस्कृतिक हिसाबले त लिम्बूनी यूवती त्यति कमजोर नहुनुपर्ने होइन र ?

अरु जातिका महिलाको अवस्थालाई हेर्दा लिम्बू महिला हरक्षेत्रमा अगाडि छन् साँस्कृतिक मनोवैज्ञानिक आत्मबल आत्मविश्वास तर पनि कहीँ न कहीँ सामाजिक संरचनाको कारणले गर्दा महिला दोश्रो दर्जाको नागरिक भएर बाँच्न परिरहेको छ । भलै ब्राम्हण परिवारको महिलाले जस्तै लिम्बू महिलाले िहंशाको शिकार कम हुनुपर्ला । यो वहसको विषय हो । समग्रमा देशको अवस्थालाई हेर्दा महिला पीडित नै छन् । दक्षिण एसियामै तेत्तीस प्रतिशत महिला संविधानसभामा पुगे त्यो सकारात्मक छ । तर त्यो शुरुवात मात्रै हो । अरु धेरै क्षेत्रमा महिला पिछडी नै छन् ।

पात्रलाई नेतृत्वदायी बनाउने कुरा गर्नुभयो के अब तपाइँको लेखन नारीवादीउन्मुख हुँदै गएको हो ?

लेखनमा 'जेन्डर'लाई अगाडि ल्याउन चाहन्न मान्छेको सम्बेदनालाई लेख्छु । महिलाहरु समाज राज्य र संस्कारबाट ज्यादै नै िहंशाका शिकार भएका छन् संवेदनशील अवस्थामा छन् । यसको विरुद्धमा लेख्दा नारीवादी हुन्छु भने म खण्डन गर्न चाहन्न ।

जेण्डरप्रति विमति चाहिँ किन ?

जेण्डर भनेको महिला र पुरुष होइन प्रकृति हो । तर हाम्रो समाजमा गलत अभ्यास भइरहेको छ । महिला भनेको चाहिँ भगवानले पनि अर्कै ग्रहबाट पठाएको जसरी व्यवहार भइरहेको छ । यो मान्य छैन ।

तपाइँ केही वर्षयता साचारिका समूह महिला सुरक्षा दबाब समूहजस्ता महिला अधिकारवादी संस्थामा समेत कि्रयाशील हुनुहुन्छु तपाइँ महिलावादी नै त हो नि ?

महिला र पुरुषभन्दा पनि समाजमा जुन वर्ग पछाडि परेको छ खालि त्यो चाहिँ केही जान्ने मान्छेहरुका कारणले सोझासिधाहरु उनीहरुको वशमा परेका हुन् । मैले यी संस्थामा आएर पछाडि परेको वर्गलाई समानरुपले अगाडि ल्याउन वकालत गरेको हुँ । महिलाको ठाउँमा पुरुष नै भए पनि यो त म गर्थेँ नै ।

तपाइँले कवितामार्फत् पनि महिलाका विषयलाई उठाउन सक्नुहुन्थ्यो होइन र ?

महिला भनेर कहिल्यै उठाइनँ होला मान्छेको सम्वेदनशीलतालाई चाहिँ पकि्रन खोजेँ हुँला । मान्छेले भोगेको जीवनलाई नजिकबाट बुझ्न खोजेँ । लेख्दै गर्दा म महिला हुँ भन्ने कुरा नै बिस्रन्छु ।

तपाइँको उपन्यासचाहिँ कहिलेसम्ममा बजारमा आउँछ त ?

हेरौँ सबैभन्दा पहिले त पात्र फर्किनुपर्यो । उसलाई ुलिडरशीपु पनि बनाउनु छ ।

प्रसंग मोडौँ तपाइँलाई 'रुमानी कवि' भन्छन् नि ?

मेरो लेखनमा ज्यादै प्रेमको सन्दर्भ आउँछ त्यसैले होला । तर म उहाँहरुलाई के भन्न चाहन्छु भने आफू बाँचेको संसारलाई एकचोटि शून्य प्रेमहीन भएर बाँच्नुहोस् अनुभव गर्नुहोस् त्यसपछि पक्कै पनि उहाँहरुले यसोभन्न छोड्नुहुन्छ । जो कविताको नाउमा राजनीति गर्छ त्यसको ठूलो बथान छ तिनीहरु भन्छन् यो के लेखेको आत्मरति लेखेको म उहाँहरुसँग बहसै गर्न चाहन्न ।

तपाइँका कवितामा अतृप्त प्रेम ज्यादा झल्कन्छ तपाइँको अहिलेसम्मको प्रेमको भोगाइ के हो ?

यसको खाँटी जवाफ नै छैन । म खालि अनुभूत गर्न सक्छु । जे जति व्यक्त गरेको छु कवितामै गरेको छु ।

तपाइँले आफ्नो 'संस्मरण बूढा रुखको' कृतिमा कविताको नाममा राजनीति भइरहेको आरोप लगाउनुभयो, विचाररिक्त साहित्यको कल्पना गर्नुभएको हो ?

कविता आफैँमा व्यापक विचार हो । म भन्छु विभिन्न वादहरु लादेर साहित्यको सौन्दर्यलाई भद्दा नबनाऊ । कविता भन्नु नै अनुभूत गर्नु हो बहस गर्ने होइन । जब तिमी बहस गर्छौ भने त्यसको हत्या गरिरहेका छौ ।

'परिवर्तन'मा भूमिका त विचारसहितको साहित्यको न हुन्छ ?

ठीक छ तर राजनीतिज्ञहरुले साहित्यलाई दास बनाएर जबर्जस्ती आफ्नो नारामात्र बनाउन खोजेका पनि त छन् ।

राजनीतिप्रति त्यति उदासीन हुनुपर्ने केही कारण छ कि ?

उदासीन होइन । साहित्य आफैँमा विचार हो । कुरा कहाँ बिगि्ररहेको छ भने विचारको ठेक्का लिएर हिँड्नेहरुले साहित्यलाई जबर्जस्ती लगाम लगाइरहेका छन् । समाजलाई सुशासित बनाउने मुख्य भूमिका राजनीतिको हुन्छ । भन्न खोजेको यति हो कि साहित्य र राजनीतिलाई एकै ठाउँमा ल्याएर नराख्नु । आफ्नैआफ्नै सौन्दर्य छ दुइटैमा ।

राख्नेले राखिरहेकै छन् ?

यहीनेर कुरो नमिलेको हो ।

तपाइँलाई अराजकको संज्ञा दिइन्छ कहिले पशुपतिनाथ डाँडामा जोगीसँग भाङ खाँदै हिँड्नुहुन्छ रे…

संसारको सबैभन्दा खराब मान्छे मै बन्न चाहन्छु । मलाई आनन्द् आउँछ के गर्ने ?

तपाइँभित्रको लेखक किन त्यस्तरी बरालिएको त ?

सायद यो जीवनमाथि थोपरिएका अनावश्यक दर्शनहरु थेग्न नसकेर होला । म जीवनलाई एउटा ढंगले भोगिरहेको हुन्छु । दार्शनिकहरुले जीवन र समाजलाई अर्कै ढंगले व्याख्या गरिरहेका हुन्छन् । जबसम्म सही जवाफ पाउँदिन तबसम्म यस्तरी नै हिँडिरहन्छ होला मभित्रको लेखक । त्यसको आनन्द नै बेग्लै हुन्छ ।

लेख्नु र त्यस्तरी जीवन जिउनुमा कुन बढी आनन्ददायी लाग्छ ?

तीभन्दा पनि लेखेका कविताहरुमाथि जीवन जिउनुमा बढी आनन्द आउँछ । लेखेका कविताहरुमा म जीवनलाई अनुवाद गर्दै छु ।