Pageviews

Thursday, June 28, 2012

रातो धर्का



स्वप्निल स्मृति

कवि इच्छुकको बारेमा सम्झन लायक ‘ठूल्ठूला’ प्रसङ्गहरू नहुने नै भए । २०५८ सालताका म एउटा सानो ‘कमरेड कवि’ त्यसमा पनि अन्तर्मुखी । जिब्रोमो ‘चिप्लो पदार्थ’को कमी भएको म ठूल्ठूला कमरेडहरुसँग त्यति सजिलै घुलमिल हुनै सक्दिनथेँ । दुई चार भेटमा कवि इच्छुक मलाई अत्यन्त ‘सामान्य’ लागेका हुन् । मलाई यसो लाग्नुमा उहाँका 'पेरिफेरी'मा ठूला क्रान्तिकारीहरू हुनुले पनि होला । जसरी जेठअसारको आकाशमा खडा हुने वादलको पहाडमुनि पहाडहरु सामान्य लाग्छन् ।
२०५७ सालमा म आर.आर. क्याम्पसको रात्रीकालीन विद्यार्थी । पत्रकार हुन्छु, कवि हुन्छु भनेर धनकुटा पढ्दापढ्दै भागेर आएको । २–३ महिना लोकन्थलीमा बन्दै गरेको पूर्व मन्त्री तथा त्यसबेलाका कांग्रेस नेता ढुण्डीराज शास्त्रीको घरमा बालुवा चाल्ने काम गरेँ । दिउँसो चार बजेसम्म बालुवा चाल्थेँ, त्यसपछि पानी तान्ने मेशिनमा ‘लाइन’ जोड्थेँ । खुब् तेजले इनारको पानी तान्थ्यो पाइपले । हातमुख हतार–हतार धोएर त्यतिकै तेजमा डेरातिर हानिन्थेँ । कौशलटारको डेरामा लुगा फेरेर ‘सात नं.’ बस समात्थेँ । ममा कविता र राजनीतिको आशक्ति सानैदेखिको हो । आर.आर. क्याम्पस त हो, विद्यार्थी राजनीतिले पढाइ नै हुँदैनथ्यो । फेरि त्यैताका स्ववीयु निर्वाचनको गरमागरम समेत । 
माओवादी, धनकुटा पढ्दा अलिअलि जानेको हुँ । नौलो विहानी, जनादेश, जनआव्हान साप्ताहिक धनकुटामा पाइन्थे । काठमाडौमै रङ् पेन्टरको काम गर्ने तर परीक्षा दिन धनकुटा धाउने एक दाइ थिए, डोलेश्वर चेम्जोङ । दाइले पढाइमा गाउँमा कमाएको सुनाम आर्थिक अभावले पूरा गर्न पाएनन् । भैरवनाथ गणले सामूहिक बेपत्ता पारेका सूचीमा डोलेश्वर लिम्बु भनेर उल्लेख छ अहिले । उनै दाइ डोलेश्वर र म जनयुद्धबारे गफ हान्थ्यौँ । बेलाबेलामा अहिलेका माओवादी युवा नेता हेमराज भण्डारी पनि आउँथे । त्यतिखेर उनी नेकपा मसाल दिननाथ शर्माको विद्यार्थी सङ्गठनका नेता थिए । धनकुटाबाट माओवादी खोज्न म काठमाडौ पसेको थिइनँ । तर संयोग आरआरमा माओवादी भेटियो । क्रान्तिकारीले एक बेलुकी नाइट शिफ्ट कमिटी गठन ग¥यो, म पनि त्यसको सदस्य भएँ । अर्ध भूमिगत रुपमा सङ्गठन बनाउने, पोस्टरिङ गर्ने र राति राँके दौड जुलुशहरू निकाल्ने गरिन्थ्यो । कति साथीहरुलाई पुलिसले बैठकबाटै समातेर लैजान्थ्यो । हामी नारा लगाउँथ्यौँ, ढुङ्गा र इँटा हान्थ्यौँ, ‘‘पाल्तु कुकुरहरु मुर्दावाद् !’’ यही क्रममा आरआर क्याम्पसमा आगजनी समेत भयो । 
कवि इच्छुक, त्यतिखेर राजविराज कारागारमा हुनुहुन्थ्यो । ललितपुरको भट्टेडाँडामा माओवादीले चौकी आक्रमण गरेको समाचार जनादेश साप्ताहिकमा प्रकाशित गरेको निहुँमा सरकारले ०५६ साल वैशाखमा पक्राऊ गरेको थियो । ‘किलो सेरा टु’, ‘कर्डन एण्ड सेर्च अभियान’, ‘थवाङ’ ‘जेलवाङ’, ‘बेथान’ ‘जलजला’, ‘सिस्ने’ ‘अनेकोट’ जस्ता शब्द काठमाडौमा खुब् स्थापित थिए । यी शब्दहरु शायद काठमाडौले पहिलोपटक सुनेको हुनुपर्छ । यी शब्दमा उत्पीडित जनको सङ्गठित सङ्घर्षको उद्वेलन तरङ्गीत थियो । म चाहिँ जनादेशको छैटौँ पृष्ठमा छापिने कविता र गीतमा विष्फोट हुन्थेँ । सानोमा बैरागी काइँलाका कविता पढेकोले जनादेशका कविता मेरो लागि ‘एम्बुस’ नै थियो, छोयो कि पड्किहाल्ने । मलाई थाहा छैन, नेपाली साहित्यका पण्डितहरुले जनयुद्धकालीन कविताहरुलाई कसरी लिइरहेका छन् ! तर ती कवितामा भयङ्कर शक्ति छ । ती कविताहरु फेरि पनि कुनै दिन पड्किन सक्छन् । समाज राजनीतिक दृष्टिले नेपाली कविताले त्यो नवीनता, त्यो शक्ति पहिला कहिल्यै प्राप्त गरेको थिएन । मैले पढेका त्यस्ता कविताका सर्जममध्ये एक थिए कृष्ण सेन इच्छुक ।
हरेक महिना नेपाल ल क्याम्पसमा हुने साहित्य सन्ध्यामा जान्थेँ । जहाँ माले समर्थक साहित्यकारहरु सक्रिय थिए । एमाले समर्थकको साहित्य सन्ध्या आरआरमा हुन्थ्यो तर हामी माओवादी समर्थक चाहिँ ल क्याम्पसमै जान्थ्यौँ । कारण त्यहाँ अलिक क्रान्तिकारी कविता सुन्न र भन्न पाइन्थ्यो । कोही कोही कवि मित्रहरु चाहिँ दुवै कार्यक्रम भ्याउँथे । इच्छुकलाई मैले त्यहीँ हो पहिलोपल्ट देखेको । उक्त कार्यक्रममा उहाँले ‘जेल’ कविता वाचन गर्नुभएको थियो । भर्खरै जेलबाट मुक्त हुनु भएर होला निधारमा रातो अविर लगाइदिएर मञ्चमा कविता वाचनको लागि आयोजकले डाकेको थियो । 
‘‘कुनै अनाम देश होस्
अथवा प्रिय स्वदेश होस्
के फरक प¥यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ ।’’

मसिनो र तर तिक्खर स्वरमा उहाँको त्यो कविता वाचन मेरो लागि पहिलो र अन्तिम समेत भइदियो । ‘इतिहासको यस घडीमा’ सङ्ग्रहका कविता कौशलटारको साँघुरो डेरा, अभावमा बाँचेको म र डोलेश्वर दाजु जस्ता कविताका पारखीले वाचन गर्दा संसार जितेजस्तो शास आउँथ्यो र उहाँप्रति त्यसैत्यसै प्रेम जागेर आउँथ्यो । २०५८ सालमा उहाँको ‘बन्दी र चन्द्रागिरी’ लामो कविता प्रकाशित भयो । बागबजारको एक पुस्तक पसलमा किन्नुभन्दा अघि उभिएरै पढिसकेँ । पढिसक्दा साँच्ची साम्यवाद आउने रै’छ भन्ने विश्वास पैदा भएको थियो ।
युद्धविरामको अवस्था थियो । म शान्तिनगरमा एक पन्जाबीको गार्मेन्टमा पाले काम गर्थैँ । लामो कपाल पालेका, रातो गाडीमा सवार पञ्जाबी साहु प्रकाशचन्द्र लोहोनीका बहिनी ज्वाइँ हुन् भन्नेसम्म सुनेको हुँ । चेम्जोङ लिम्बु भएकाले गार्मेन्टका कामदारहरु मलाई ‘‘च्याङ’’ भनेर बोलाउँथे । त्यसमा पनि गार्मेन्टको रेखदेख गर्ने जनार्दन भाइले त सा¥है नै ‘च्याङ’ भनिबस्थ्यो । म विद्यार्थीबाट पूर्णकालीन कार्यकर्ता हुने तरखरमा थिएँ । आन्दोलन क्याम्पस–क्याम्पस चलिरहेका थिए । दिशाबोध मासिकमा मैले ढुङ्गा हानिरहेको तश्विर प्रकाशित भयो । जनार्दनले ‘‘इः च्याङको फोटो भनेर’’ साहुलाई देखाएपछि सङ्कट प¥यो । त्यै मौकामा म पूर्णकालीन कार्यकर्ता भएर किर्तीपुर क्षेत्र गएँ । निजी विद्यालयमा शुल्क मिलान गर्नु, सङ्गठन बनाउनु र समाचार रिपोर्टिङ गर्नु थियो मेरो काम । पत्रकारिताको विद्यार्थी भएकाले म पत्रिकामै काम गर्न चाहन्थेँ नै ।
०५८ सालको भदौबाट प्रकाशन हुन थाल्यो जनदिशा दैनिक । त्यसपछि मेरो कवि इच्छुकसँगको भेट समीपियो पनि के भन्नु ! उहाँ कार्यालयमा पातलो मात्रै आउनुहुन्थ्यो । आफ्नै स्वभावले गर्दा अभिवादन साटफेरसँगै आउने ‘हाइहेलो’ बाहेक त्यस्तो अन्तरङ्ग केही भएन । भित्र मनमा मात्र थाहा थियो, ‘‘कृष्ण सेन इच्छुक महान् कवि हो तर कति सरल, कति सौम्य । बोलाउँदा नि केही बिगारिएला कि जस्तो ।’’ 
दशैँताका म गाऊँ गएँ । जनदिशा कार्यालयमा फोन गर्दा पो इच्छुक दाइसँग बोल्न पाइयो । उहाँले उताका केही ‘फिचर’ पनि ल्याउनु भन्नुभयो । अहिले सम्झिँदा लाग्छ, शिकारु पत्रकारलाई दिइने ‘होमवर्क’ नै फिचर हो । गाउँमा बाक्लै माओवादी प्रभाव थियो तर मैले कुनै फिचर उठाउन सकिन । ०५८ साल मंशीर ८ गते राति हामी जनदिशा दैनिकको कार्यालय ज्ञानेश्वरमै थियौँ । युद्धविराम भङ्ग भएर दाङ सदरमुकाम घोराहीमाथि आक्रमण भयो । साथीहरुले फोनबाट रिपोर्टिङ गरे । फोनमा त लडाइँ चलिरहेको सुनिन्थ्यो । त्यसको भोलिपल्ट बेलुकी जस्तो लाग्छ, जनदिशा कार्यालयमा सेतो पोशाकमा प्रहरीहरु आए र शीव तिवारी लगायतलाई पक्राउ ग¥यो । कमलकुमार ए.सी. र म बाहिर निस्कियौँ । त्यसपछिको स्थिति कहालीलाग्दो भयो । किनभने सङ्कटकाल लाग्यो । तीन महिने सङ्कटकालमा पनि जनादेश निस्कन्थ्यो । प्रभात चलाउने र म लगायत कोठामा हप्ताहप्ता दिनसम्म भोकै रहन्थ्यौँ । जनादेश आइपुग्थ्यो, विभिन्न सञ्चार गृहमा लुकाएर पु¥याउँथ्यौँ ।
फेरि तीन महिना सङ्कटकाल थपिँदा पशुपति गौरीघाटमा नवराज पुडासैनी र मलगायत सेल्टरमा बस्थ्यौँ । विना तालिम पनि हामी काठमाडौमा ‘साना’ फौजी कार्वाही ग¥थ्यौँ । यसै क्रममा माछापोखरीमा भिजिलान्तेहरुले पुडासैनीलाई समाते । म गौरीघाट सेल्टरमा फर्किँदा कोठा खानतालसी भइसकेको थियो । इच्छुकका सङ्ग्रह, मेरा कविताका डायरी र नागरिकता केही थिएन । कोठालाई नराम्ररी भुत्ल्याइएको थियो । घरबेटी दिदी रुनु भयो । विद्यार्थी हौँ भनेर एउटै परिवारजस्तो गरेर बसेका थियौँ । कहाँ बस्ने  केही टुङ्गो भएन । थाँती राखेको आइ.ए.को दोश्रो वर्षको परीक्षा झल्झली सम्झिन थालेँ । कहाँ जाने ? नेता गणेश रेग्मीलाई पेजर गरेँ र विदा मागेँ । एउटा पोलिथिनको झोलामा केही लुगा लिएर फेरि दाजु डोलेश्वर लिम्बुको डेरा कौशलटार फिर्ता भएँ ।
पार्टी सम्पर्क हुन सकेन । परीक्षा दिएँ । जनआस्था खुब् पढिन्थ्यो । जनादेश, जनदिशा त पढ्न पाउने स्थिति नै थिएन । मलाई लाग्थ्यो म बाहेक काठमाडौमा कसैलाई पनि बाँकी राखेको छैन । अब म क्रान्तिकारी निराशावादमा फसिसकेको थिएँ । बेलुकी भएपछि ढल्ने गरी ‘भक्तपुरे’ लगाउँथेँ । भट्टिपसलमा पनि कोही नौलो मानिस देखियो भने ‘सिआइडी हो कि’ जस्तो लाग्थ्यो । ०५९ जेठतिर हुनुपर्छ, जनआस्थाले इच्छुकलाई महेन्द्र पुलिसमा चरम यातना दिएर चोभारमा दोहोरो भिडन्त भएको नाटक गरेर हत्या गरेको समाचार प्रकाशित ग¥यो । मैले त्यसलाई सजिलै विश्वास गरेँ । किनभने दुश्मनको निष्कृष्टता मैले पनि अलिअलि बुझैकै थिएँ । बेलुकी भट्टिपसलबाटै मनमनै महान् कविलाई श्रद्धाञ्जली दिएँ । महान् कविकै स्मृतिमा माले अखिलले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा सहभागी भएँ । कविताले दोश्रो पुरुस्कार जित्यो तर वाचनको क्रममा ‘महान् सहिद कृष्ण सेन इच्छुकलाई समर्पित’’ भन्ने मेरो समर्पण वाक्य चाहिँ रातो धर्काले स्वाट्ट काटिएको थियो । 

[वर्ष ३० पूर्णाङ्क २०३ जेठ-असारमा २०६९ तछलाथ्व/तछालागाः ने.सं.११३२ मा  मूल्याङ्कन मासिकमा प्रकाशित संस्मरण]

Saturday, June 16, 2012

गीत



 स्व.स्वप्निल स्मृति




अलिक पर, धेरै पर, पर-- पर--- नहोस् किन
मानिस बाँचिदिए त आश हुन्छ है 
आफूलाई नै मारिदिने आत्माहरु नहोस् किन 
जिउँदोहरुलाई त धेरै धेरै माया लाग्छ है

बायाँ मात्र सम्झिए दायाँ चन्द्रमाले बाटो काट्छ है
माया भन्ने चिजलाई, सम्झे एकोहोरो, दिलै फाट्छ है
टुटे पनि ऐनाले त  बरु फाल्टै फाल्टै होस् 
प्रतिविम्ब देखाउँछ है दुरुस्तै...
माया लाउनु गुमाउनु त्यस्तै त्यस्तै है

आफूमात्र सम्झिए  यस्तो एक्लो, एक्लो, एक्लो भइन्छ  !
चारैतिर फर्केर हेरे जिन्दगीमा मुस्किल के छ र !
घट्छ बढ्छ चन्द्रमा त औँशी-पूर्ने अनुसार
चाँदनी चाहिँ थो-थोरै चुहिरन्छ है 
जीवन जीउनु विताउनु  त्यस्तै त्यस्तै है


Thursday, June 7, 2012

गीत















स्व.स्वप्निल स्मृति

खोलानाला, डाँडाकाँडा, फाँटलाई मात्र देश मान्नेलाई
सुनाई देऊ नदीभन्दा लामो तिम्रो कहानी
चिनाई देऊ हिमाल भन्दा अग्लो तिम्रो चिनारी....

फूल्छ, झर्छ, फेरि फुल्छ जस्तो लाली गुराँश
तर तिमी यस्तो फूल, फूल्छौ बा¥हैमास
चलाई देऊ फूलभन्दा मिठो तिम्रो सुवास
सुनाई देऊ देशभन्दा आदिम इतिहास

को हो देश चुस्ने यहाँ को हो देशद्रोही 
तिम्रो चोखो भावनामा शङ्का गर्छ कोही
डाँफे चिन्ने, मयुर चिन्ने, मान्छे नचिन्नेलाई
देखाई देऊ मानिसको कस्तो हुन्छ चिनारी !