Pageviews

Thursday, February 24, 2011

Revolution


Winter days,
Studying bare trees of highway
They said-
The wind is deceased.

Pointing out
old nests of birds on those trees
They yelled-
The song is dead.

Inspecting entangled kites
on branches
They laughed out loud-
No more children are alive in town.

Observing nude trees
with no flowers
They concluded-
All youths had grown old.

But, one day
Colorful leaves emerged on trees
The wind performed
its novel dance on foliage
Creating new home,
birds started singing
blissful song of freedom
Ample of balloons and kites
were seen flying on the blue
The highway kept running
as mountain river
All youths rose as tides

By then, they were all dead.

[Trans : Nadeesh]

Sunday, February 20, 2011

इँटाको रातो जङ्गल



कसरी भन्न सक्छु
यो सहर मेरो हो ?
जबकि गाउँमा बितेको थियो मेरो बालापन
निकै लामो दूरी पार गरेर मात्र
म जहाँ उभिइरहेको छु- यहाँसम्म आइपुगेको हो ।

पहिले म कहिल्यै एक्लो थिइनँ
जब घरमुनिको कान्लाले छेक्दै गयो
गाउँ त्यस्तरी छोडिँदै आयो
जब खोला तरेँ
तब लाग्यो म साँच्चिकै कतै जाँदैछु
कि यहाँ आइपुग्दा
निदाइरहेको थिएँ म मालबाहक ट्रकमा
जब ब्युँझिएँ यहाँको कोलाहलले
कि बहुराष्ट्रिय कम्पनीका एजेन्टहरुले
लात्ताले हिर्काउँदै झारे ट्रकको मालसँगै मलाई
त्यस्तरी म एउटा भँगालो
मिसिएँ यो मान्छेहरुको महासागरमा
त्यस्तरी म एउटा इँटा
थपिएँ यो इँटाको रातो जङ्गलमा
त्यस्तरी म एक चोइटा सिसा
कस्तरी जोडिएँ यो काँचको अग्लो दहमा ?
कसरी भन्न सक्छु
यो सहर मेरो हो
कि हारालुछ भीडमा पाउँछु म आफूलाई बिलकुल एक्लो ।

म सोच्न सक्छु-
मान्छे कसरी जोडिने अर्को मान्छेमा
जब भुस्याहाभन्दा सहज मारिन्छन् मान्छे जेब्राक्रसमा
कालभैरव चक्कु हान्छ साइबर क्याफेमा
महादेव सिरिन्ज हान्छ र बौलाउँछ नाइट क्लबहरुमा
राजकुमार एके-४७ खेलाउँछ र भुइँचालो जान्छ टोलटोलमा
मान्छे कसरी मान्छे बन्ने ?
म देख्छु-
नयाँ सडक धमाधम लुगा फुकाल्दै छ जिन्स पुस्ताको
र प्रत्येकलाई बदल्दै छ सुपरमार्केटको डमीमा
जहाँ रिमोट कन्ट्रोलले चलाउँछ मान्छे
र थोत्रो बनाउँछ मष्तिस्कको पुर्जा
कस्तो सुखको रङ हो यो ?
दरबारमार्गमा दुईटुक्रा बिकिनी किन्दिएर
उफार्दै छ ज्याजमा बि्रट्नी स्पेयर्सहरु
ठमेल सय रुपैयाँमा सम्भोग गरेर लखेट्दैछ समलिङ्गी
यहाँको खुसीको विषय हो यो
पुतलीसडक डीभी परेर भाँडा माझ्दै छ अमेरिकाको
म आफैँलाई देाष दिन्छु-
यी दुनियाँ सवाल उठाउने म पागल हो ।
मध्यमवर्गीय बार्दलीमा
यस्ता हाइबि्रड आमाहरु घाम ताप्दै छन् ।
छोरी क्याटवाक गराउँछन् डिजिटल र् याम्पमा
बुहारी नाङ्गै बनाउँछन् पूजाकोठामा
यो आधुनिक धार्मिक सहर
सायद यिनै आमाहरुको हो ।
एटीएम रुममा
कस्ता तनावग्रस्त बुबाहरु छन् भने
सहर हल्लाउने एउटा मोटरसाइकल नकिन्दिए
हिप्पी गलफ्रेन्डलाई बुहारी नस्वीकारे
जङ्की छोराहरुले दिएका छन् आत्महत्याको अल्टिमेटम
यो सहर
सायद यिनै छोराहरुको हो ।

हमेसा पुरातात्विक क्षेत्रमा
मुस्कुराइरहेछन् पोलिथिनका माउन्ट एभरेस्ट
यसरी चलिरहेछ प्रदुषणको आँधी
सहर सुरसा हो र टकटक्याइरहेछ विद्रुप जिउ
यस्तो लाग्छ-
मभित्रको आदिकविसित छ यति नेगेटिभिटी
म कसरी वर्णन गर्नसक्छु यहाँको क्लनिङ ऐश्वर्य
कि फूल गोड्दागोड्दै
जन्माउनुभयो आमाले मलाई फूलबारीमा
अझै छ फूलको बासना ममा
त कसरी हुनसक्छ यो सहर मेरो ।

ग्यालरीमा सुसज्जित परीका पोट्रेट
र मिनरल वाटरका बोतलले सडक हिर्काइरहेका
महानगरका धनाढ्य श्रीमतीहरु
चोकमा स्थापित महापुरुषका सालिक
र ब्यान्डबाजा बजाइरहेका यहाँका सवारी चालक
यो सहरजस्तो छ वटा सहर जुवा हान्नसक्ने कुनै जुवाडे
वा पहाड ताछेर टाउन प्लानिङ गरिरहेका जग्गा दलाल
कसको हो यो सहर
यी बबरमहल केशरमहल हरिहरभवन बसन्तपुर
जसले बनाउँछन् धरहरा घण्टाघर रानीपोखरी…
ज-जसको छ कम्तीमा ए-एउटा ओडार
के तिनीहरुको हो ?
कति मर्छन् किच्चिएर यी महलका निदाल ओसार्दा कमिला-कामदारहरु ?
कति पुरिन्छन् भग्नावशेषझैँ माटो थुपार्दा ट्याक्टर-मेरुदण्डहरु ?
कति टाँसिन्छन् बुट्टामै टुँडाल कुँद्दा कालीगढ-मनहरु ?
यो पश्चिमपट्टीको झ्याल
कुन रखौटी टोलाई बस्ने झ्याल हो ?
कुनै कुमालेको स्वाभिमान छ यो धरहरामा ?
कुन मानव सभ्यताको समय छ घण्टाघरमा,
कुन शताब्दीमा रगत सङ्लिएर पानी बन्छ रानीपोखरीमा ?
कसरी भन्न स्क्छु-
यो सहर मेरो हो
जबकि सबैभन्दा माया गर्ने मेरी प्रियसी गाउँमा छिन् ।

कसरी हुनसक्छ यो सहर मेरो
जबकि गाउँमा बितेको थियो मेरो बालापन
जब म काम गर्न सक्ने भएँ
जब म देख्न थालेँ स्वप्न
यो सहरले खरिद गर्यो मलाई सस्तो भाउमा
र महँगो दाउमा बिक्री गरेको सत्य हो ...

Tuesday, February 15, 2011

गीत


काँडाले नै संसार सुहाउने भए
शायद फूल पनि यति सुन्दर फुल्दैनथ्यो
तिम्रो प्रीति बेगर जिउन सक्ने भए
यति सम्झ मेरो जन्मै पनि हुँदैनथ्यो

जहाँ तिमी भए पनि केवल मेरी नै हौ मेरी
सत्ते ! मेरै हौ जस्तो हुन्छ यति भन्दाखेरि
भ्रम यति मीठो नभइदिने भए
सम्झ सत्य पनि यति तीतो हुँदैनथ्यो …
काँडाले नै संसार सुहाउने भए
शायद फूल पनि यति सुन्दर फुल्दैनथ्यो

प्यासीप्यासी बगर भएँ हुँला कुनै दिन त खोला
कुरिरै'छु हाम्रो पनि भेट हुने दोभान होला
छायाँले नै संसार पुग्दो हुने भए
सम्झ घामजून, लाखौँ तारा हुँदैनथ्यो
काँडाले नै संसार सुहाउने भए
शायद फूल पनि यति सुन्दर फुल्दैनथ्यो

Saturday, February 5, 2011

उपहार


कविता नै नाम दिऊँ न एकछिन यसलाई
उपहार तिमीलाई…

दुई हात जोडेर बिन्ती विसाएको छु
सार्है गर्हुँगो बलैले टक्राएको छु
बहुतै जोखिम होसियारले दिएको छु !

एए? यो फुट्छ र महाप्रलय हुन्छ सृष्टिको...
कहाँ राख्छौ ?
दराजमा, सेफमा…
कि राख्छौ युमासाम्माङ-थेबासाम्माङ थानमािथ
कि बोकी हिँड्छौ त्यो अस्ट्रेलियन लेडिज ब्यागमा
एए? यो फुट्छ र करोडौँ घामको ज्योति निभ्छ हौ…

जो यो अलिअलि चल्मलाइरहेको छ
यस्तो उपहार छ !
जो यो मेरो छातीको देब्रेतिर हुनुपर्ने हो
नअटेर एक मुठीमा
फैलिएर जोडिएका दुई हत्केलामा छ
उपहार विशाल छ !

अटाउँछौ कहाँ कि डुबाइदिन्छौ समुद्रमा
त्यसो हो त यो पानी जहाज बन्नेछ
राख्छौ कहाँ कि सुकाइदिन्छौ सेहोनाम्लाङ पाखामा
त्यसो हो त यो चेन्जेलुङ हिमाल बन्ने छ

दिएँ…र म उन्मुक्त भएको छु
प्रत्येक पलामा भूइँचालो ल्याइरहने यो जीवित थोक
आइन्दा तिमीलाई दिएँ है दिएको छु
एए? यो फुट्छ र समाप्त हुन्छु म
त्यस्को राख्ने ठाउँ जहाँ हो त्यही राखौली
…मायाले राखौली
…प्रेमले राखौली

Wednesday, February 2, 2011

बुबा






भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको
ढुङ्गा फुटाइरहेको
ऋणको सानो कुम्लो बोकेर
मुग्लानबाट गाउँ आइरहेको……

आस्थाको ढाका टोपी
क्रान्ति पहिल्याउने लामो गम्बुट
विचार पिउने ठूलो लुम्बा
किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा
झर्के थालमा चिप्लिएका औँलाका जीवन-छाप…
हिउँदो लाग्यो कि घर छोड्दा तिमीले
त्यहीँनेर त हुन्थ्यो मेरो एक मिल्दो साथी …

मेरो साथी !
दस वर्षको हुँदा हो
'फिक्चुके ! फिक्चुके !' भनेर तिम्रो नाम काड्दा
एक फडेङ हानेको थियौ
त्यतिखेर 'आमो' भनेर रोए पनि
तिमीलाई बुबा भनेर अलिअलि चिनेको थिएँ मैले…

तिम्रो ढाडजस्तो सडक टेकेर
सहर आइपुगेको दस वर्षमा…

सहरमा ढुङ्गा हान्दाहान्दै
सहरमा राँको बाल्दाबाल्दै
सहरको विरुद्ध नारा लगाउँदालगाउँदै
सहरको प्रेममा परिसकेको रहेछु
…बुबा भइसकेको रहेछु ।

बुबा !
आज म बुबा हँदा पो
तिमीलाई बल्ल चिनेँ हौ ।