Pageviews

Thursday, March 28, 2013

हराएकाहरु...

स्वप्निल स्मृति

बाँचेकाहरु एक एक ठेगानामा छौँ
अजम्बरी दुःखलाई क्षणभङ्गुर सुखले सिङ्गारिरहे छौँ
मरेकाहरु त मरेका मरेकै भए
चिहानघारीका स–साना पेन्डोराहरुमा चुपचाप प्रवेश भए
तर जो गएका थिए
...गएका गएकै भए
अझैसम्म फर्केर आएनन्
...कहाँ गए ?

सुँगुरलाई चारो भनेर
पानी लिन पँधेरा गएका थिए
दुहुनो गाईलाई घाँस भनेर
कम्युनिस्ट झण्डाको हँसिया
पटुकीमा सिउरेर पाखातिर गएका थिए
सोल्टिनीहरुलाई बैना मार्न
फुर्का–काइँयो लिएर ठुटेपसल होस् या हाट–जात्रामा
संसार जित्छु भनेर युद्धमा होस् या
अरु नै खाले स्वप्नको महान् यात्रामा
उनीहरु गएका थिए...

उनीहरुको बाटो
हिँड्दाहिँड्दै जङ्गलपट्टि पस्यो र चढ्यो कि रुख
रुखको टुप्पोमा पुगेर चरा भयो कि उनीहरुको स्वप्न
उसो हो त उधौली/उभौलीमा
घरको निदाल या घर छेउको दूधिलो रुख सम्झेर
आउनुपर्ने हो फर्केर ... ।

उनीहरुको बाटो
चढ्दाचढ्दै हिमाल
चुचुरोमा पुगेर बादलको देशतिर पस्यो कि
त्यसो हो त कुनै ठेगाना नभएको बादलसँगै
आकाश माथि... माथि... कावा खाइरहेका हुन्
तर आमाहरु तुइनमा अड्किरहेका घाटहरु देख्दा त
अवश्य ओर्लनु पर्ने हो ।

उनीहरुको बाटो
पहिल्याउँदा पहिल्याउँदै
अजिङ्गरको मुुखभित्र पस्यो कि
उसो हो त उनीहरुको बाटो
अजिङ्गरको पुच्छरको टुप्पोमा टुङ्गिन्छ
र सारा सम्भावनाहरु समाप्त हुन्छ ।

फूलमाला लगाएर होस् या
विरालोको चाल मारेर मध्यरातमा
...जो गएका थिए
जीउँदै छन् या छैनन् ?
मानिस भगवान् होइन
जन्मेपछि अवश्य मर्छ
यी मानिसहरु हराएर भग्वान भइसके भनुँ त
बा ! अन्त मर्न ठाउँ नपाएर
आफ्नै जन्मगाउँमा मर्नलाई
टेकेर उमेरको लौरो लुखुर लुखुर आइपुग्ने हुन् ?

जो गए
खोला झैँ, अतीत झैँ
यो हावाको समुद्रमा
ठीक अहिले फुत्केर गइरहेको मेरो आवाज झैँ
उनीहरु त्यति निश्ठुर त थिँदै थिएनन्
छातीमा हात राखेर कस्तरी गाउँदथे राष्ट्र गान !
उनीहरु देश बेचेर गएका पनि त होइनन्
कि उल्टै देशले आधा बाटोमै भेट्यो र
बेचिदियो त उनीहरुलाई ?

मलाई त सुसाइरहेको सल्लाघारीमा
उनीहरुकै उच्छवास छ जस्तो लाग्छ
आधा रातमा गुञ्जिने धर्तीको झञ्जवात
उनीहरुकै क्रन्दनजस्तो लाग्छ
बेला बेला आइरहने भूकम्पहरु
उनीहरुको धड्कन जस्तो लाग्छ

बाँचेकाहरु छौँ एक–एक ठेगानामा
मरेकाहरु त मरेका मरेकै भए
तर जो गएका थिए
...गएका गएकै भए

उनीहरु
कहिले छातीमा भिक्टोरिया क्रस लगाएर
कहिले निधारमा हसिया हथौडा झण्डा मोहोरेर
बारम्बार मेरो सपनामा आउँछन् ।


{अघिल्लो हप्ता नागरिक अक्षरमा प्रकाशित, नागरिक अक्षरको पहुँच नभएका पाठकहरुलाई आफ्नै 'बारी'मा

Thursday, February 21, 2013

पहिलो र अन्तिम प्रेमीलाई...

स्वप्निल स्मृति


तिम्रो र मेरोजस्तै
उहिले उहिले
माइ र तमोरको मायापिरती थ्यो' रे ।

चञ्चले तमोर
छाँगाबाट हाम्फाल्दा–हाम्फाल्दा
चट्टानमा खोपेछ एक मानिस गहिरो दह
सुटुक्क आफ्नो अनुहार हेर्दा
बुढो हिमाललाई देखेछ
भागेछ लाजले ओरालैओरालो ।

औलमा आइपुगेर पालाम गाउँदै लागेको तेर्सैतेर्सो
चाल पाएछन् पहाडका तरुनीहरुले
धाननाच्नलाई तान्न थालेछन्
तमोरको पालो तरुनी जम्मै सोहोरेर मधेस हिँडेछ ।

चुरेघाँटीमा आइपुग्दा
विहे गरुँ गरुँ भएछ
विरक्तिएर पहरालाई लात्ताले हान्दै सोच्दो रहेछ–
कहिले छुट्दै भङ्गालो कहिले घुम्दै दस फन्का
आफैँले खेला’का तरुनीसँग त के गर्नु हौ विहे ?!

लेकबाट हँस्याङ र फँस्याङ आइपुगेछ फिरन्ते बतास
सुनाएछ चारखोलका दुई मस्त तरुनी
वल्लो गैरो पल्लो गैरो तन्देरी खोज्दै हिँडेको
तमोर खुशीले यस्तरी उफ्रिएछ–
झन्नैले चुरेको उचाइ उछिनेछ ।

पक्कन्दी खेल्दै डाँडैडाँडा
तमोरको चाह लिएर इलाम पुगेछ बतास
छ महिना त आँखै देखेनछ
छ महिनापछि पो मालिङ्गोघारी/अम्लिसोघारीमा
जोगमाइ र देउमाइलाई फेला पारेछ ।

सोधेछ हैरान बतासले ‘राजी कि विराजी ?’
पहाडकी छोरी देउमाइ र जोगमाइ खोजेछन् जोरी
‘राजी भने राजी !’

ल है !
दुई बहिनी नभए नि एक बहिनी त ल्याउने–ल्याउने
शुर गरेछ तमोरले र
छेलो हान्दै त्रिवेणी वरिपरि अलमली बसेछ  !

एक बर्खा–
तमोरलाई भेट्न देउमाइ र माइ
नीलो केशराशी घिसार्दै लागेछन् चुलीको फेदैफेद
खपिनसक्नु डाह भएछ रतुवालाई ..
ढाँटेछ– तमोरको विहे भइसक्यो ।

‘‘हो त हो !’

माइको पालो पानीको मन न हो
रिसले पसेछ दक्खिनैदक्खिन.... ओरालैओरोलो ।

तमोरलाई पनि शत्रुको आँखा लागेछ...

माई त अन्तै फात्चा गई–सर्दुलाई ईश्र्या लागेछ
शीर ढलिहाल्यो तमोरको र
अरुनमा हेलिँदै हेलिँदै कोशीमा बङ्गै हाम्फालेछ ।

पछि...पछि...
मुग्लानमा
तल... तल...
तमोर र माइको हंशमात्र भेट भएछ ।

तिम्रो र मेरोजस्तै
दुरुस्तै..
ठूली !
उहिले उहिले
माइ र तमोरको माया पिरती थ्यो' रे ।

Friday, November 30, 2012

साम्लो

स्वप्निल स्मृति

कन् माःङ्घा लाजे?लाम् आम्मो आसेवा वारो सेवारो
लादुक्खे इःत्माल् नाम्दुक्खे इःत्माल्ले 
हाःप्मा युरो, मिक्वा थारो, निङ्वा? पङ्सिङ्लो

लाधाअ‍े चङ्धाङ लोःक्मासाङ 
याङ्ङील्लेन् युक्ना लोमासाङ
निङ्वा?ओ फोःन्छिङ् पाङ्भे?इन्
सेप्माङ्मो निधाप् हिम्धाङहा?
कोःक्मा नु यङ्घङ, तेःङजुम्हा?
कन् माःङ्घा लाजे?लाम् चुम्से ! आसेवा वारो सेवारो
पक्कन्दी चाःत्ती तेम्धाओ लाःङ्नाबा
इःत्छिङ तारो, लुङ्मा हिःम्लो, निङ्वा?, पङ्सिङ्लो

तङ्नाम नु तङ्सुम् ता?इल्ले
कन् तेमेन् लाजे? सारिक् माःङ
सेसे नु साङसाङ वाआरो
माङ्गेना मैनाम तेःत्फुङ् रो
फुत्तेम्मे आमिङ मुन्धुम्मो
कन् माःङ्घा लाजे?लाम् आम्मो ! आसेवा वारो सेवारो
मालाजे? काइ? मिःम् लाजे? सुम् ल?रो
नेरेत् पुङ मुन्लो, याःङ्घेक् तुन्लो, निङ्वा पङ्सिङ्लो...


Saturday, October 20, 2012

सिद्धिनरसिंह र कविता लामा

स्वप्निल स्मृति



खत्तम भएछ चन्द्रवीर जी !
खत्तम भएछ ।

अब कहाँ खाने कफी ?
हर–विहान हाम्रो एउटा फुच्चे घाम 
कविताले टक्राइदिने 
एक कप ब्ल्याक कफीभित्रबाट उदाउँथ्यो
विहान–विहान– 
घामले तताएर उठिरहने धरतीको बाफ झैँ
त्यही कफीबाट छुटिरहन्थ्यो हाम्रो श्वास
कतै श्लील जस्तो कतै अश्लील जस्तो
रातो दुनटको चिराभित्रको सेतो क्रिम
बेलाबेला टाँसिन्थ्यो तिम्रो एक हरफ जुँगामा
खत्तम भयो चन्द्रवीर जी !
खत्तम भयो,
पाटन दरबार क्षेत्रको
‘द कविता कफी प्वाइन्ट’ बन्द भयो ।

ब्लेडले कोरेजस्ता आँखा
सिङ्गान फ्याँक्दा चोर औँला र बूढी औँलाले
निचोर्दा–निचोर्दा थेप्चिए जस्तो नाक
डल्ले खुर्सानीजस्तो झर्झर अनुहार
अन्दाजी उन्नाईस बीसकी 
कविता उर्फ कविता लामा
विश्व सम्पदा सूचीमा रहेको 
पाटन दरबारबाट हराई..।

उसको बाजे
तिमालबाट चन्द्र शम्सेरले पिपामा भर्ती गरेर ल्याएको
संस्कृत मात्र पढ्न पाइने पालाको 
उसको बुबा दावा डकर्मी...
नयाँ नयाँ घरको चर उठाउने दावाले 
सत्र, छत्तीस र छयालीस साल गरी
तीनपटक विवाह गर्नु संयोग थियो ! 

कान्छी आमापट्टिकी कविता लामा
र अङ्ग्रेजी पढ्ने जमाना
बुबाले ‘फी’ तिर्न नसकेर  
आठ क्लास पढ्दापढ्दै स्कुल छोडी कविताले–
‘लभ’ गरी, काठमाडौँका पार्क चाहारी
अन्ततः डेभिड सैलुनको कामदार 
माइकल शर्मालाई प्रेमीको रुपमा फेला पारी ।

माइकलले–
सक्दो उखेल्यो आँखीभौहरु कविताको
प्राइभेट क्लिनिकमा लगेर कतिपटक उखेल्यो उसको कुमारित्वलाई
बदलामा फाइनान्सबाट ‘लोन’ झिकेर
कफी प्वाइन्ट खोलिदियो 
गणतन्त्र दिवसको उपहार मेरुदण्डको फेदमा
ड्रागनको ठूलो टाटु खोपिदियो र
माइकल सहरबाट गायब भयो ।

‘द कविता कफी सप’मा
जब हाम्रो प्रवेश भयो–
हामी उसैउसै उसको मेरुदण्डको ड्रागनमा उड्न थालेका हौँ
तर आज हेर !
सटर बन्द छ 
सटरमा माइकल शर्माको ताल्चाको डल्लो झुण्डिरहेछ ।

खत्तम भयो चन्द्रवीर जी !

‘‘खत्तम भयो कवि जीहरु !
खत्तम भयो
कविता आफ्नै मेरुदण्डको ड्रागन चढेर
रातको बा¥ह बजे
विना इजाजत साउदीअरब उडी...
म पत्थरको स्तम्भमाथि टँसाइएको सिद्धिनरसिंह मल्लले 
रोक्न सकिन
फगत् नमस्कार गरिपठाएँ...।’’  


{आजको नागरिक दैनिक http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1153-nagarik-20-oct-2012/2-nagarik.html मा प्रकाशित कविता, छापासंस्करणको पहुँच नभएका कविताप्रेमीहरुका लागि पुनप्र्रकाशित }

Thursday, October 18, 2012

छक्कु उदासीकृत 'आँशु कुन्ज'उपर पाठक प्रतिक्रिया


जापानमा रहेर साहित्य सेवारत छक्कु उदासीको कृति आँशु कुञ्ज भर्खरै बजारमा आएको छ । २६ छोटा छोटा रचनाहरुको यस कृतिलाई लघु रचना सङ्ग्रह नाम दिइएको छ । हुन पनि उनका रचनाहरु छ्यासमिस छन् । कुनै उत्तर आधुनिक समालोचक बोल्नु पर्दो हो त यस कृतिलाई विधाभञ्जन या त्यस्तै केही नामाकरण गरिदिँदा हुन् । कुनै रचना लघु कथा जस्ता छन्, कुनै रचना छोटा निबन्ध जस्ता छन् कुनै रचनामा कविता मिसिएका छन् कुनै रचना लघु संस्मरण भइदिएका छन् । विधागत शास्त्रबाट उम्किएका यी रचनाहरुलाई मलाई चाहिँ एक साहित्यिक मनको स्वतन्त्र उडान जस्तो लाग्यो ।
‘मेरो साहित्य यात्रा’ नामक संस्मरणात्मक रचनामा उदासी जीले पोखरामा हुने साहित्य कार्यक्रमहरुमा सरुभक्तसँग प्रत्यक्ष भेट हुने मौका मिलेर आफ्ना सिङ्गाने रचनाहरुको समीक्षा भएको उल्लेख गरेका छन् । ‘सरुभक्त’ र ‘सिंगाने रचना’ शब्दले आफ्नो साहित्य यात्रालाई लेखकले इङ्गित गर्न खोजे पनि त्यसको मिति उल्लेख छैन । त्यसैले कहिलेदेखि छक्कु उदासी नेपाली साहित्यमा साधनारत छिन् यसै भन्न नसकिए पनि यो कृति उनको पहिलो हो र उनी नेपाली साहित्यको एक अकिञ्चन भक्त पनि हुन् भन्नुपर्छ ।
प्रायः साहित्यको कखरा जुनै लेखकले त नभनुँ अधिकांशले सामान्य अवस्थामा सामाजिक विषय बस्तु, देशभक्ति या प्रेमका विषयमा लेखेर शुरु गर्छन् । सामाजिक विषय बस्तु आम मानिसले दिने प्रतिक्रियाहरु हुन्, देशभक्ति विद्यालयहरुमा घोकाइने शिक्षा भए भने प्रेम चाहिँ एउटा बालकले आमाको काख छोडेपछि एक्लो महसुस गर्दै प्रकृति या अन्य साथी–सङ्गी र यौनावेगात्मक सुखतृप्तिको मित्रप्रतिको अनुराग हो । छक्कु उदासी जीका प्रायः रचनाहरु पनि प्रायः यिनै तीन विषयउपर उधिनिएका छन् ।
'दशैँको बेला र दैवको लीला', 'दशैँ र अबोध फुच्चे' दुई कथा एउटै कथा हो, पात्र मात्र फरक । परिस्थिति पनि एउटै हो । गरिबीका कारण दशैँ खल्लो भएका धेरै कथा नेपाली साहित्यमा लेखिसकिएका छन् । त्यसैको निरन्तरता मान्न सकिन्छन् यी कथालाई । कलम बलियो कि तरबार, मानव सभ्यतामा सोधिँदै र वादविवाद प्रतियोगिताहरुमा बच्चाहरुलाई उभ्याइँदै आएकै हो । लेखिका उदासी निक्कै ढिलो ‘कलम र बन्दुक’ शीर्षक कथा लिएर यस वादविवाद प्रतियोगितामा उभिएकी छिन् । शायद यो बाल कथा पनि हुनसक्थ्यो तर लेखिकाले त्यता ध्यान दिनुभन्दा कथामा बन्दुकलाई विजेताका रुपमा उतारेकी छिन् । कलम एक बौद्धिक शक्ति हो र बन्दुक एक भौतिक शक्ति, बन्दुकले दुष्मनलाई परास्त गरेर आफ्नी आमालाई बचाउँछ कथामा, कलम चाहिँ दुष्मनबाट कुलेलम ठोक्छ । 
‘दुई घण्टे कहानी’ दुई घण्टा अवधिमा प्रकट स्वप्न वर्णन हो भने ‘किन गर्छौ श्रृङ्गार ?’ एक आलेख हो जसले कोमल हृदय नै नारी सौन्दर्यका रुपमा तर्क गर्दछ । ‘नौलो नाता’ एक मनोवाद जस्तो छ । जहाँ एक नारी पात्रले अपरिचित शायद पुरुष पात्रसँग अवचेतनात्मक आशक्ति दर्शाइरहन्छ । ‘रातो स्वेटर’ कथामा श्रीमान्ले श्रीमतीलाई आफैँले ल्याइदिएको रातो स्वेटर च्यातिदिएको छ । फलतः श्रीमतीलाई रातो स्वेटरमाथि स्थापित  ‘मेरो’ स्वामित्व च्यातिएको अनूभूति हुन्छ । श्रीमतीले आफ्नो भरोसा, आस्था र विश्वास च्यातिएको महसुस त गर्छे तर त्यसलाई टुलुटुलु हेर्न समेत विवश छे । 
‘फुकेमाइलो’ चरित्रचित्रणका हिसाबले अरु रचनाभन्दा बलियो देखिन्छ । नेपालबाट जापान भासिएको, घर व्यवहार वास्ता नगरी बूढेसकालमा पनि कानमा टप कोचेर फुलेको केशमा खैरो दलेर साली नानी जिस्क्याउँदै हिँड्ने पात्र हो फुकेमाइलो । फुकेमाइलोलाई घरदेशको वास्तै छैन, आइफोनमै व्यस्त हुन्छ, त्यसैले लेखिका भन्छिन्, ‘‘यो विदेशमा आएर फुकेमाइलो जस्तो कोही नहुनु होला र फुकेमाइलोको देखासिकी झुक्केर पनि नगर्नु होला ।’’ 
‘मेरो गर्भमा भ्रूण हुर्किँदै’ कथाबाट लेखिकाको राजनीतिक दृष्टिकोण बुझ्न सकिन्छ । संविधान सभालाई आमा र नयाँ संविधानलाई भ्रूणका रुपमा यसका कथामा देखाइएको छ । संविधान सभा विघटनअघि लेखिएको कथा भएकोले बच्चा जन्माउन आतुर थिइन् आमा तर अबको अवस्थामा भने नजन्मदै बच्चाको हत्या गरिएको भाव थपेर पाठकले पढ्न सक्दछन् यस कथालाई । ‘काफल र एक अविस्मरणीय क्षण’, 'पुख्र्यौली घर र आमाको बुबू’ र ‘बाडुली लाग्दा’ लेखिकाका बाल्यकालका संस्मरण हुन् तर घटनामा मात्र आएका छन् । समय, स्थान र देशकालको वर्णन जीवन्त छैन । त्यै पनि पठनीय भने छन् । ‘म र मेरो साहित्य यात्रा’ तथा ‘मेरो साहित्य’ शिर्षकमा लेखिकाले आफ्नो साहित्य यात्राबारे बताउन चाहेकी छिन् । एउटै प्रसङ्ग दुई–दुई शिर्षकमा लेख्नुले लेखिका स्वयंले दुःख पाएकी छिन् र अनि पाठकले पनि । ‘सुबिल एक रुप अनेक’ सुबिल चरामाथिको लोक कथाको पुनर्लेखन हो । ‘विचार र अनूभूति’ लेखिकाले आफ्ना मित्र भुवनप्रसाद श्रेष्ठका पिताले जापान भ्रमणका क्रममा जापानको भौतिक विकास र नेपालको प्राकृतिक सम्पदालाई दाँजेर नेपालप्रति जनाएको सहानूभूतिलाई वर्णन गरेकी छिन् । ‘अभाव’मा श्रीमान्, श्रीमती र श्रीमान्को भूतपूर्व प्रेमिकासँगको भेटले श्रीमतीले श्रीमान् छोडेर हिँडेको कथा छ । ‘प्रेम दिवस’ कथामा दिवसकै दिन प्रेमीले आफ्नो प्रेम गुमाउँछ भने ‘नेशनल होलिडे’ कथामा कामदार लेखक ‘होलि डे’ समेत बिर्सन्छिन् कि खजना सकिएकोअलराम नबजेपछि दुई घण्टा ढिलो ब्यूँझिएकी कामदार अफिस जान हतारपतार गर्दा बल्ल साथीबाट फोनमा होलिडेको थाहा पाउँछिन् । यस कथाले वैदेशिक रोजगारका क्रममा रहेका मेशिनमय नेपाली कामदारको झल्को दिन्छ ।
‘बिर्खेको कसम’ एक व्यङ्ग्यात्म कथा छ । जाँडरक्सीको कुलती बिर्खेले एकदिन ढकीमा गुन्द्रुक कुटिरहँदा श्रीमती प्याउलीको आँखामा बलिद्रधारा आँशु देख्छ र आफूप्रति पछुताउन थाल्छ । श्रीमतीलाई मन थाम्न आग्रह गर्दै सबै जग्गा जमिन श्रीमतीको नाममा पास गरिदिने, आइन्दा सही बाटोमा हिँड्ने वाचा गर्दै ढिकी कुटिरहन्छ । गुन्द्रुक कुट्दा रायोको सागले पोलेर श्रीमतीको आँशु खसिरहेको उसलाई पत्तो नै हुँदैन । यस्तै ‘घुम्तीको चिया पसल’ कथा पनि रोचक छ । यस कथामा जुनुलाटीकी बतासे छोरी जुनकिरी हुन्छे । एकदिन घरमा पाहुना हूल आइपुग्छ । त्यही हुलमा जूनकिरीको बुबा पनि हुन्छ । पाहुना सत्कारका क्रममा जूनकिरीले दूध र चिनीको अभावमा रातो चिया भन्दै चिनी बेगरको फिका चिया पाहुनालाई खुवाउँछे । सबैले जूनकिरीको सुन्दरता हेर्दै चिया मिठो मानिमानी खान्छन् र बुबा पर्नेले जूनकिरीलाई हजार रुपैयाँ बक्सिस छोडेर जान्छन् । बाटामा उनीहरु आ–आफ्नो भागमा चिनी बेगरको चिया परेको भन्दै गुनासो गर्छन् ।
‘सुन्तलीको तिहार’मा वैदेशिक रोजगारमा भाइ गएपछि भाइटिका थाप्न नपाएकी दिदी सुन्तलीको कथा छ भने ‘गोरी’मा समाजमा नारी जातिले कुकुरको जतिको पनि सम्मान नपाएको चित्रण गरिएको छ । गोरी कुकुरनीलाई मानवीय सहानूभूति दर्शाउने क्रममा कथाकी नारी पात्रले समाजमा नारीको दयनीय अवस्थाबारेको कथा सुनाउँछिन् । 
राष्ट्रिय फूल फूल्दा साकुरा फुल्न सकेन’ पनि कथाजस्तै छ । २०११ मार्च ११ मा जापानमा सुनामीले निम्त्याएको विपत्तिलाई थोरै भए पनि छुन खोजेकी छिन् कथाकारले । जापनीजहरुले पुष्प उत्सवको रुपमा लिने साकुरा फुलेको अवसरमै सुनामी जस्तो विपर्यासलाई कथामा उतार्न खोज्नु कथाकारको प्रयास देखिन्छ । 
आँशुकुञ्ज भित्रका रचनाहरुलाई साहित्यकार कृष्ण धरावासीले ‘झिनो विषय उपरको उत्कृष्ट टिपोट’को खादा ओढाइदिएका छन् । धरावासीले भने झैँ उदासीका रचना भाषा र शैली परिष्कार उन्मुख देखिन्छ ।  किताब घरले प्रकाशित गरेको यस कृतिको मूल्य रु.१७५ रहेको छ । कृति बिक्रीबाट प्राप्त रकम असहाय तथा पीडितहरुको सेवामा समर्पित गर्ने लेखकको पुस्तकको पछिल्तिरको आवरणको भनाइबाट बुझिन्छ । अतः नेपाली साहित्यको एक सम्पत्ति सँगै यो कृति खरिद गर्नेका लागि समाजसेवामा काटिने सहयोग रसिदको ‘अद्र्धकट्टी’ नै माने हुन्छ ।

'लिम्बुवान मासिक'मा प्रकाशित, यहाँ पुनप्र्रकाशित।

Saturday, October 13, 2012

छोरालाई अनुरोध


मेरो छोरा ! 
तिमी हर प्रश्नका लागि जन्मशिद्ध हकदार हौ । 

त्यो बुढो हिमाल तिम्रो पुर्खा हो
त्यो गहिरो आकाश तिम्रो इच्छा हो
एक रुख अर्को रुख उफ्रिहिँड्ने
यो चञ्चले बतास तिम्रो प्राण हो
डोरी झुण्ड्याएजस्ता पारि पहाडका ती नागबेली बाटाहरु
तिम्रा स्वप्नहरु हुन् ।

तिम्रा दुई आँखा र 
ती अनगिन्ती ताराहरु एउटै सन्तान हुन्
यो हिउँदभरिको हिउँ
यो ऋतुभरिको फूल
यो छिनभरिको इन्द्रेणी
र मैले तिम्रो गलामा दिएको पलभरिको चुम्बन
हाम्रो जीवन हो ।

तिमीलाई जसले जन्मायो, हुर्कायो 
र यति कलकलाउँदो बनायो
ऊ धर्ती हो
ऊ तिम्रो अनि मेरो पनि आमा हो

मेरो प्यारो छोरा !
तिमी हर प्रश्नका लागि तयार होऊ
अफसोच !
पन्ध्र दिन हराउने पन्ध्र दिन उदाउने
त्यो बाँसघारीमाथिको जून ?!
क्यै क्यै नसोध...
त्यो किन कहिले दिउँसै उदाउँछ ?
त्यो किन कहिले हँसिया जस्तो हुन्छ ? 
लाटा ! त्यो त्यस्तै हो..
किन ? भनेँ–
त्यो तिम्रो बुबाले बैँशमा गुमाएको प्रेम हो ।



Saturday, September 29, 2012

एक मिनेट मौनधारण



स्वप्निल स्मृति

संसारको सबैभन्दा सरल काम
ज्ञात/अज्ञात सहिदहरुप्रति 
एक मिनेट मौन धारण गर्नु हो
सभा, सेमिनार या पोलिट्ब्युरोहरुमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्याराहरु 
सहिदहरुको श्रद्धाञ्जलीमा मौनधारण गरिरहेछन् । 

तस्करले जन्मदिनमा उपहार थमाएको
हिराजडित नाडी घडीमा उफ्रिरहेको सेकेण्ड काँटासँगै 
गद्दार सरकार एक मिनेट कला प्रदर्शन गरिरहेछ
सहिदको रगत लत्पतिएको राष्ट्रिय झण्डा उचालेर
सहिदको आस्था–समाधिलाई सख्त टेकेर 
राष्ट्रसेवकहरु मौन मौन
गम्भीर गम्भीर उभिरहेछन्...

संसारको सबैभन्दा कठोर काम
ज्ञात/अज्ञात सहिदहरुप्रति 
एक मिनेट मौन धारण गर्नु हो
सार्वजनिक शौचालय वरिपरि
या सहर, सडक या गाऊँ, गल्ली, देउरालीमा
दुई हातले पेट थिचेर
मेरो देश
एक मिनेट उभिरहेछ ।

एक मिनेटमा 
सहिद–स्वप्नले धर्ती विचरण गरिसक्छ
एक मिनेट भूइँचालो आयो भने सृष्टि अदलबदल हुन्छ
शासकहरुले ठण्डा दिमागले एक मिनेट सोचेको भए
इतिहास यस्तो हुँदैनथ्यो 
हत्या गरिनुअघि सहिदहरुलाई
एक सेकेण्ड बाँच्ने फुर्सद दिइएन
एक सेकेण्ड गडबढ भएर
योद्धाहरु भुर्कुट भए...
मेरो हिमाल सृष्टिकालदेखि मौनधारण गरिरहेछ
यो एक मिनेट मौन धारणले के हुन्छ ?
हर एक मिनेट मौनधारणहरुमा
आधा मिनेट मलाई हाँस उठ्छ
आधा मिनेट मेरो मन रुन्छ ।

संसारको सबैभन्दा उत्कृष्ट नाटक 
मेरो देशमा
ज्ञात/अज्ञात सहिदहरुप्रति हुने 
एक मिनेट मौन धारण हो ।