Pageviews

Monday, March 21, 2011

ओ मेरो प्रिय युद्ध !



ओ मेरो प्रिय युद्ध !
अब हाम्रो बर्बर सहयात्रा टुङ्गिन्छ यहीँनेर
साक्षी छन्-
विकिरणले चपाइरहेका यी मान्छेहरु
अस्पतालमा भरिएका आकस्मिक कक्ष
सडकमा हताश दगुरिरहेका एम्बुलेन्स
मसानघाटमा थुप्रिरहेका लास
रित्तिँदै गएको सलाईको बट्टा र देश
यहीँनेर अन्त्य हुन्छ अब
हाम्रो रहस्यमय साँठगाँठ .

आदिम दरबारअघिको
पछिल्लो सफल आत्मघाती विस्फोटसँगै
मध्ययुगीन ख्याकको निरीह गद्दीच्युतलगत्तै
वैज्ञानिक प्रविधियुक्त बङ्करमा भूमिगत
उत्तरआधुनिक तानाशाहको अपदस्तपछि
पूरा भएको छ अब तिम्रो भूमिका
ए युद्ध !
मेरो साथी !
यहीँबाट छुट्टिन्छ अब हाम्रो बाटो ।

जसरी आउँछ पत्तै नपाई भुइँचालो
आँधी, खडेरी, सुनामी या मृत्युलहर
तिमी आयौ मान्छेहरुबीच कहाँबाट कसरी
कि तिमी थियौ मान्छेहरुकै अवचेतनमा
कुनै अपराधीझैँ
कुनै सुराकीझैँ
अथवा पितृदेवझैँ
तिमीसित कसरी मोहित भए मानिसहरु
तिमी नै भयो उनीहरुको जीवनशैली
तिमी नै भयौ उनीहरुको पूज्यदेवता !

तिमीले के दियौ मान्छेहरुलाई ?
तिमी मान्छेहरुका आविष्कार
तिमी मान्छेहरुका प्रिय
मान्छेहरुले नै बनाए तिमीलाई त्यति शक्तिशाली
मान्छेहरुले नै बनाए तिमीलाई खबु सुन्दर
फगत् आँखा बनाइदिएनन् तिम्रो
र अन्धो भयौ
तर देख्छौ निहत्था चेलीबेटीका यौवन
र त चलाउँछौ बलात्कारका अनुपम श्रृङ्खला
तिमी पत्थर हौ तर प्रेमिल !
मान्छेको मुटु हो तिम्रो परमाणु प्रयोगशाला
तिमी क्रूर हौ
ग्यासच्याम्बरमा थुन्ने मान्छेको आवाज
तर उत्तिकै घोकाउँछौ स्तृतिगानको लय...

तिमी धेरैथोक मान्छौ मान्छेसँग-
रगत, पसिना, आँसु र यौन
हुर्किँदै गरेका केटाकेटी
पेन्सनमा बसेका बूढा सैनिक
खाँदाखाँदैका गाँस
के सबैसबै थोक गुमाएर
मान्छेका शरणमा आएका हौ तिमी ?
तर अलिकति मस्तिष्क नमाग्ने
नमाग्ने अलिकति रैथाने मन
कसले बनायो तिम्रो त्यस्तो मस्तिष्क ?

ओ मेरो प्रिय युद्ध !
यहीँनेर टुङ्गिन्छ अब हाम्रो पाशविक सहवास
साक्षी छन्-
क्षेप्यास्त्रले घाइते आकाश
धरापले छेडिएका बाटा
आगोले जलेको सहरको अवशेष
अब सकिँदैन सँगसँगै हिँड्न योभन्दा उता-

अलेग्जेण्डर महान् निदाउँदा
किन चुपी र इलियड सिरानी हाल्थे ?
त्यो खुन कसको थियो
जन्मदै चङ्गिज खाँको हातमा लतपतिएको...
के त्यो अक्टोभियन सर्प थिएन
जसले चुस्यो क्लियोपेट्राको अन्तिम सुन्दरता
किन झुन्डिएर मरिन् जोकास्टा
किन आँखा फुटायो इडिपसले
किन बलात्कृत भइन् मेरी बहिनी ?
युद्ध ! तिमीले सोच्नुपथ्र्यो

हिटलरको आत्महत्यापछि
पोलपोट. पिनासे. इदि अमिन. बोकासा जन्मनुअघि
वा सद्दाम हुसेनलाई मृत्युदण्ड नभई
सेप्टेम्बर एघार नआई
या ओसामा विन लादेन नजन्मी
कुरान, बाइबल र पुराणमा ईश्वर पस्नुपहिले
कम्तीमा पनि बुद्ध जन्मनेबित्तिकै
तिमीले थुक्नुपथ्र्यो आपुनो कुरुपता
पुनर्विचार गर्नुपथ्र्यो आपुनो चरित्र
आत्मदाह गर्नुपथ्र्यो तिमीले
तर तिम्रै क्रीडाभूमि भयो आजसम्म मेरो देश
तिम्रै प्रशस्तिले भरियो मेरो इतिहास
तिम्रै लागि जन्मेजस्तो भएँ म !

ओ युद्ध !
ओ हिँस्रक थोक !!
अब तिमीलाई यहँ रहने अधिकार छैन
अब तिमी यहाँ रहनुमा कुनै सौन्दर्य छैन
जाऊ- अघिल्तिर रगतको समुद्र छ
यदि म युद्ध भए
त्यही हामफलेर आत्महत्या गर्थेँ
सक्छौ भने तरेर आऊ
नसके त्यहाँ-
कङ्कालको लामो झोलुङ्गे पुल छ चढेर जाऊ
बिदाइ छ मेरो प्रिय युद्ध !
मेरो दुष्मन !
यहीँनेर समाप्त हुन्छ अब हाम्रो सम्पूर्ण सम्बन्ध
अब हामी छुट्टिँदैछौँ
अब हामी टाढा टा...ढा.. हुँदैछौँ
अब हाम्रो भेट हुन्न होला
अब हाम्रो भेट नहोस् पनि
वा फेरि हाम्रो भेट हुने हो !

[मिति-२०६३, साभार : गरिमा मासिक]

Wednesday, March 16, 2011

चक्रपथ



सिँहदरबार,
टुँडिखेल, कोतघर, खुलामन्च…
र सरकार
चक्रपथभित्र छ ।

चक्रपथभित्र
मालिक स्वीकारेर ढोग गर या
सम्झ सार्वभौमसत्ता सम्पन्न नागरिक
त्यहाँ
इतिहासमा कालो रगत र
पसिनामा दुर्गन्ध बगाए
स्थापित छ
नयाँ जङ्गबहादुरको शालिक ।

चक्रपथभित्र नेपाल छ
चत्रपथभित्र प्रजातन्त्र छ
सरकारी रेडियो ढाँटिरहेछ
टेलिभिजन पर्दामा
प्रधानमन्त्री कन्याइरहेछ कुर्सी-भिरिङ्गी ।

चक्रपथभित्रबाट
कली युगको पुष्पक विमान उड्छ
युद्ध-सुन्दरी बोकेर
कुनै बिदेशी आकासमा झैँ
चक्रपथबाहिर आक्रमण गर्छ ।

चक्रपथबाहिर नेपाल छ
बिश्वकै अल्को
गरीबीको सगरमाथा छ
भासिएको सेतीजस्तै गहिरो
दुःखको खोँच छ
महेन्द्र राजमार्ग छ रङ्गीन आतङ्क दगुरिरहेको
विद्रोहको अग्लिँदो पहाड छ
क्रान्तिको मनसुन ओर्लिरहेको…

चक्रपथबाहिर
शान्तिको आकर्षक चिता लुम्बिनी छ
चक्रपथभित्र
हिँसाको उद्गम थलो पटाङ्गिनी छ
चक्रपथबाहिर
लिम्बूवान छ, थरुहट छ, खम्बूवान छ, तमुवान छ
चत्रपथभित्रचाहिँ
यिनीहरुले नमानी नहुने भगवान् छ

चक्रपथभित्र घण्टाघर छ
जहाँ आयू उफ्रिरहेको छ-
मेरो सैनिक अफिसरको अनि बादशाहको
चक्रपथबाहिर आर्यघाट छ
त्यो चुपचाप बाग्मती नदीको किनारमा छ
खुँखार आतङ्ककारीलाई प्रतीक्षा गरिरहेको…

चक्रपथ
कोरिएको छ रगतले धर्सा-धर्सा
दुई युद्धरत देशको सिमा भएर
मित्र ! चत्रपथबाहिर कि भित्र ?
एउटा सङ्गीन प्रश्न
चक्रपथवरिपरि घुमिरहेछ ।

[२०६० वि.सं.]

Tuesday, March 8, 2011

गीत


आमा म निश्ठुरी हुँ निश्ठुरी
खोला तरी जाने
ओझेल परी जाने
गाउँ छोडी जाने...

यसपाली नि पैयुँ फुल्यो होला बारी बाँझै होला
बास फिर्ने चराहरुको उही साँझ होला
क्षितिजपारि आकाश गर्जे सम्झिने हुँ म त
चट्याङ पर्दा वर्षदिनमा झस्किने हुँ म त
आमा म अन्धो भएँ अन्धो
यो सहरैमा
भुलिगएँ गाउँ फिर्ने बाटो बाटो कुन दिशा !

हिउँ पर्न छोड्यो अरे माथि नागी लेकमा
उमेर सेतै फुल्यो होला तिम्रो कालो केशमा
एकोहोरो बगिरहने तमोर भएँ म त
भूवँरीमा अल्झीअल्झी उँधै बगेँ म त
आमा म बतास भएँ बतास
खुशी उडाई लाने
मुटु चुँर्डाई लाने
आमा रुवाउने...

Monday, March 7, 2011

आत्महत्याको सौन्दर्य



जन्मजात देशद्रोही
एसअर्थमा
सर्पजस्ता सीमानाले ठुँगिईरहेछु
बेरिएर पहेँलोले ऐँजेरुले झ्याङ झ्याम्म सिवाँलीको
निष्पक्ष जीवन अर्को निख्लम व्यक्ति
कमजोर हुँदै गएछु क्रमशः
भने
सुँगुरको खोर त्यो क्षेत्र-फलमा
मानी दिऊँ देश नै उपरोक्त पक्षमा
उद्घोष गर्छु-
मबाट धोका शिवाय अरु हुन सक्दैन ।

दास बनाउनु तेसरी व्यवस्थाले
नागरिक भोग्नु राज्यले
थोकहरुमा किनमेल हुनु मन-सत्ता जीवन-सत्ता
फेरि तेस किस्सिम कब्जा गरेर व्यक्ति-सत्ता
किल्ला ठोकेर दाम्लो कानुनको; विधानको
खु कु लो; कसिलो बाँधेर
घाँस खुवाउनु एक अङ्गालो सुविधाको
मल्खु पस्किनु एक निम्ठो राहतको
किल्लामै मर्छ मान्छे किन यस्तरी ?

मान्छेसित छ आत्महत्याको चेतना
मान्छेसित छ आत्महत्याको प्रविधि
मान्छेसित छ आत्महत्याको सौन्दर्य
तै पनि डराएछु कि आत्महत्या सम्पादनमा
भुलिएँ-अलिकति सम्झौतामा
भुलिएँ-नत्थु स्वतन्त्रतामा
भुलिएँ-बाँच्नुको अहं भ्रममा ।

जन्मजात देशद्रोही
एसअर्थमा
म बाँचेँ मात्र त
गति-विधि जिजिविषाको कति अराजनीतिक !
चल-खेल अस्तित्वको कति नीच !!
राज-नेता बन्नसक्छु र देश बेच्न सक्छु
शासक हुन्छु र रैती मार्न सक्छु
आतङ्कवादी भइदिउँला र
अन्तहीन युद्ध सुरुवात गर्न सक्छु
कि फगत्
सास्तीको सं-यन्त्रमा उल्था हुनु त
मान्छे तेसरी गाँठो पर्नु-झण्डामा, धर्ममा, दर्शन…मा
बरु तेस् अघि म
निरपराध आत्महत्या गर्न चाहन्छु ।

आत्महत्याको दफा संविधानमा खोई ?
म बाँचे मात्र भने
निहुँ खोज्न सक्छु पर्ख न,
इतिहास, परम्परा र बेवकुफ वर्तमान !!

तेस् अर्थमा समेत
म मर्न चाहन्छु ।

एतिपछि राज्यको आँखामा
मार्न लायक भइसकेँ कि म
एसो हो त बाँच्न चाहन्छु !

बाँच्न चाहन्छु !
कमसेकम आत्महत्याको नैसर्गिक उपभोक्ता म
कि म सक्दछु एतिखेर-आत्महत्या गर्न
मर्नुअघि मलाई देऊ
एक जोर पोशाक हिटलरका
एक आन्द्रा भोजन इदिअमिनका
मर्नुमघि मलाई नै देऊ
श्रीपेचमय सुनक असर्फी
खरिद गर्नु छ सुन्दर पासो एउटा लम्बाइ
मर्नुअघि केही क्षण आयू देऊ ।

यो पल-
आत्महत्याको उपल्लो कार्यान्वयनमा छु
झुण्डिएर बादशाहको शालिकमा

घेरिएर त्यस्तरी घेराभित्र
चेप्टिएर यस्तरी घेराभित्र
मन्जुरी छैन खेल्न-जीवनको खेल ।

[२०६२, रङ्ग साहित्यबाट]

Friday, March 4, 2011

आँधीको आख्यान


सर्वप्रथम त
कालो निलो क्षितिजबाट
विजुलीको चम्किलो हस्ताक्षर आइपुग्यो
र प्रत्येकको निधारमा लेखिदियो क्रान्ति
त्यसपछि चट्याङग्रस्त पहाडबाट
गर्ल्याम्म{{{ ! रुखहरु ढलेको आवाज आइपुग्यो
क्रमशः बतासमा तैरिँदै
शिरीषको फूल र पतझडको पतिङ्गर आइपुग्यो
फूलको सुगन्ध आइपुग्यो
अन्ततः हजार वर्षको सन्नाटा सोहोर्दै
सहरमा आँधी आइपुग्यो ।

जब आँधी आइपुग्यो सहरमा
हजार वर्षसम्म सन्नाटा पुजेर बस्नेहरुको
घर-घरमा छिर्यो
भोकमरीमय भान्साकोठाका थाल बटुका राखनधारन
ईश्वरविहीन पूजाकोठाका सर्पदेवताका थान, पूजाका थाली
ऐसआरामसून्य सिटिङ रुमका ऐना, फूलदानी, महाराजको तस्विर
सप्पैसप्पै ल्याङफ्याङ फाल्दियो र
घोर अशान्ति मच्चाइदियो ।

जब आँधी आइपुग्यो
हजार वर्षसम्म एउटै कुरा सत्य मान्ने
बुद्धिजीवीहरुको पुस्ताकालयमा पस्यो
पल्टाउँदै फररर…धर्म इतिहास र संविधानका पुस्तक
यति छिटो पढ्यो कि के बुझ्यो कुन्नि
गड्यामगुडुम लडायो-
किताबले भरिएका दराज-टेबल
उनीहरुको सत्य त्यही थिचिएर मर्यो ।

सहरमा आँधी आइपुग्दा
जुम्रा मारिरहेको थियो न्यायपालिका
सरकार शान्तिको गीत गाइरहेको थियो
राष्ट्र निर्माताको जन्मोत्सवमा
सहरवासी मैनवत्ति जलाइरहेका थिए
भुस्याहा कुकुरहरु
आलस्यमा लडिरहेका थिए यत्रतत्र
राष्ट्रप्रमुख आफ्नो जन्मदिनको उपलक्ष्यमा
मुलुकवासीलाई बडो प्रेमले सम्बोधन गरिरहेको थियो ।

जब आँधी आइपुग्यो सहरमा
आँधीको पदचापले गर्जियो आकाश धर्ती
पानीको छिटाले हिर्काउन थाल्यो मानिसको अनुहार
हावाको गतिले धकेल्न थाल्यो मानिसको चेतना

मन्दिरका गजुर, विजुलीका पोल
चोकचोकमा टाँगिएका प्रजातन्त्रका होर्डिङ बोर्ड
चौबाटोबीच उभिएको बादशाहको शालिक
दरबारको वार्दलीमा सुकाइएका बादशाहका लुगाफाटा
बादशाहले सडकमा बिछ्याएको सुशासनको विस्कुन
सप्पैसप्पै उडाइदियो आँधीले
कि ती फगत् कसिङ्गर थियो ।

जब आँधी आइपुग्यो सहरमा
शोकमा सधैँ झोक्राइरहेजस्तो राष्ट्रिय झण्डा
जोडजोडले फर्फराउन थाल्यो ।


[ताजा सभार www.alagaviyan.com अन्य साभार–नव समन्वय, चिमाल,
जन्ममिति-२०६३]

Wednesday, March 2, 2011

यदि बालापन फर्किने भए…




यदि बालापन फर्किने भए
म
तुरुन्तै गाउँ फर्किन्थेँ

समुद्रपारिको भाइरसले ह्याङ भएर
साइफर क्याफेको डस्बिनमा फ्यालिएको मस्तिष्क
'वेभ क्याम'मा छिल्लिरहने पन्ध्र यू.एस. डलरकी ई-प्रेमिका
उपभोक्ता लडी मर्ने भीरजत्रा सुपर मार्केट
ढुङ्गासमान यो मुटु
अम्लिय वर्षा जस्तै यी आँशु
चिहानघारी बराबर यो सहर
छोडेर सप्पैसप्पै थोक
म त्यो दूर्गम इलाकातिर जान्थेँ

खोलालाई सुन्थेँ
हिमाललाई देख्थेँ
पहाडलाई अङ्गालो हाल्थेँ
सहरमा
फूलको शत्रु बाँच्नुभन्दा
गाउँमा काँडाको साथी बन्थेँ

यदि बालापन फर्किने भए
उमेरको साँपले पच्चिस फन्को बेरिएको म
तुरुन्तै मुक्त हुन्थेँ
र आमाको स्नेहमा लाख फन्को बेरिन्थेँ ।

Thursday, February 24, 2011

Revolution


Winter days,
Studying bare trees of highway
They said-
The wind is deceased.

Pointing out
old nests of birds on those trees
They yelled-
The song is dead.

Inspecting entangled kites
on branches
They laughed out loud-
No more children are alive in town.

Observing nude trees
with no flowers
They concluded-
All youths had grown old.

But, one day
Colorful leaves emerged on trees
The wind performed
its novel dance on foliage
Creating new home,
birds started singing
blissful song of freedom
Ample of balloons and kites
were seen flying on the blue
The highway kept running
as mountain river
All youths rose as tides

By then, they were all dead.

[Trans : Nadeesh]