Pageviews

Sunday, July 15, 2012

आकाशको कथा


स्वप्निल स्मृति

उहिले  त आकाश सा¥है नजिक थियो नि !
कस्तो शासै थुन्थ्यो,

त्यतिखेर त ताराहरु पनि खड्कुडा जत्रा देखिन्थे
घाम र जून त घुमाउने खेत भन्दा विशाल..
धर्ती खासै सुन्दर देखिँदैनथ्यो

ठूल्दिदी तरुनी पुग्दै गइन् र पो त !

ओखल कुट्दा 
जहिल्यै मुसलको टुप्पामा ठोक्किने आकाश
मुसलको तीखो टुप्पोले लागेर
जून त खुर्पा भइसक्यो
ताराहरु पनि कुच्चिएर पाँच-छ कुने भएछ

हेत् यो आकाश पनि...
दिदीचाहिँ मुसलभन्दा अग्ली हुँदै गइन् 
मस्त तरुनी दिदी 
भाले खोज्दै नाच्ने मयुरलाई पक्रिन सक्थिन्

पेवा कुखुरा चार्ने घोर्लेस्याललाई उछिन्न सक्थिन्
तर यो आकाश चाहिँ जैल्यै मुसल ठोकी बस्छ हौ !

एक साँझ
मच्चिमच्ची किनामा कुट्दै थिइन् दिदी
आकाश अलिक तलतल झर्दै थियो
आकाशमा मुसल ठोक्कि गो


दिदीको पालो 
रिसले मुसल उल्टाएर आकाशतिर ड्याम्म हानिपठाएको 
झर्यामझुरुम फुट्यो आकाश

धर्तीमा उज्यालै उज्यालोको वर्षा भयो
घाम, जून, ताराहरु 
धेरै टाढा
माथि माथि पुगे

र संसार यति फराकिलो भयो !
यति सुन्दर भयो !

Thursday, July 5, 2012

सेतो भूत

स्वप्निल स्मृति

चार्लीको जन्म सुनखानीमा भयो । काँचो सुन ओसार्दाओसार्दै आमाले उसलाई नरिवलको फेदमा जन्माएको थियो । चार पाउ टेकेर घिस्रिने लहरा ऊ जब रुखको विरुवाजस्तै ठाडो उभिने सक्ने भयो तबदेखि चर्चको सदस्य र सुनखानीको कामदारमा गनियो । 

साताको शनिबार सेता घोडामा सेता पादरी र आसेपासे साबाथ मनाउन सुनखानीमा आउँथे, लामो प्रवचन दिन्थे । एकदिन प्रवचन सुनिरहेको बेला चार्लीलाई अचानक आमाले पछाडिबाट तानिन् र कटेरो चर्चबाट बाहिर निकालिन् । खत्तरनाक सर्पले पछाडिबाट लखेटे जस्तै गरी आमाले चार्लीलाई भगाउँदै टाढाको गाउँ पु¥याइन् र लामो श्वास तानिन् ।

आमाले एकटक उभेर गाउँको बीचको नरिवल नै नरिवलले घेरिएको नरिवलको पत्ताले छाएको झुपडी हेरिरहिन् । चार्लीले चाहिँ आमाको नरिवलजस्तो अनुहारलाई मात्र हेरिरह्यो । आमा आँशु पुछ्दै थचक्क बसिन् र छोरालाई आफ्नो घर सेतो भूतले कब्जा गरेर सुनखानीमा धपाएको बताउँदै रुन थालिन् ।

बेलाबेला सुनखानीमा गोरो अनुहार कराइको कालो टोपले निधारसम्म छोपेका, हरियो रङमा सेतो बुट्टा खुलेका पोशाक लगाएका, घोडचढीहरु आउँथे । उनीहरुले घोडाको पछिल्तिर बोरामा कुनै जङ्गली जीव जिउँदै पोका पारेर ल्याएका हुन्थे । सुनखानीको चट्टाने भूइँमा जथाभावी फ्याँक्दा घोडाको नरम ढाडमा चल्मलाई मात्र रहेको बोरा यता पल्टन्थ्यो उता पल्टन्थ्यो । कुनै युद्ध जितेजस्तो बोरामा लोड गरेर ठीक पारिएको काँचो सुन घोडामा राखेर जब अलप हुन्थे घोडचढीहरु तब सुनखानीका कामदारहरु निस्कन्थे र पल्टिरहेका बोराका मुख खोल्थे । चार्ली सेतो भूतहरु बोरामा हुनसक्ने अनुमान लगाउँथ्यो र हेरिबस्थ्यो तर बोराको गर्भाशयबाट त धमाधम काला, गठिला तर रक्तमुछेल नाङ्गा युवतीहरुमात्र जन्मन्थे । 

चार्ली प्रत्येक साबाथमा सेतो भूत दर्शन गर्न भाग्दै गाउँ जान्थ्यो तर उसले कहिल्यै सेतो भूत देख्न पाएन । बा¥ह वर्षको हुँदा एकदिन नरिवलको झुपडीघरमा दन्दनी आगो बलिरहेको देख्यो । हेर्नै नपाई सेतो भूतलाई आगोले खाइदिएकोमा दुःख मान्दै सुनखानी फक्र्यो । झुपडी जलेको खबर आमालाई सुनायो । आमाले त सुनको डल्लैडल्लाले चार्लीलाई हिर्काउन पो थाली । 

‘‘तेरो बुबालाई सेतो भूतले मा¥यो चार्ली !’’ 
यति भनेर आमा मूच्र्छा परिन् ।

एक हप्तापछि साबाथमा आमा र चार्ली भागेर फेरि घर हेर्न गाउँ पुगे । झुपडी जलाइएको ठाउँमा पक्की इँटाका पिलरहरु ठठ्याइँदै थिए । सेता छाला भएका, चश्मा लगाएका मानिसहरु कम्मरमा हात राखेर कालाहरुलाई काममा खटाइरहेका थिए । 

‘‘दुष्ट सेतो भूतलाई चिन, चार्ली ! त्यसलाई बाँकी नराख !’’ 

क्रोधले भरिपूर्ण आमाले चार्लीलाई काँधमा थपथपाइन् र फनक्क फर्केर जङ्गलतिर लागिन् । आमाको जङ्गल प्रवेशले अचम्म भयो चार्ली तर बाटोमा सेता घोडा हिन्हिनाउँदै आइरहेका सेता बन्दुकधारीहरु देखेर चार्ली पनि जङ्गल प्रवेश ग¥यो । 

रातभर चाहार्दा चाहार्दा नदी पारिपट्टि जङ्गलले ढाकिएको एउटा ओढारमा सानो उज्यालो देखियो । चार्ली र आमा नदी तरेर अक्करको ओढारमा पुग्दा भव्य नाचगान भइरहेको थियो । ठूलो आगोको धुनी बालेर वरिपरि काला नै काला मानिसहरु भरुवा बन्दुक, तीर, भाला, वर्षा, धनु काँडसँग उत्तेजित भएर नाचिरहेका थिए । चार्ली र आमाको अचानक आगमनले नाच रोकियो, हतियारधारीहरुले चार्ली र आमातिर आफ्ना हतियार सोझ्याए । उनीहरु मात्र कमाण्डरको आदेश चाहन्थे । 

‘‘फ्रिडम !’’ 

लामो दा¥ही जुँगा भएका, गोलीका माला लगाएका अग्ला, खाइलाग्दा, कालोवर्णको मिस्टर फ्रिडम देखा परे । चार्ली र आमालाई आफूतिर बोलाए । सबैले हतियार तल पारे ।

विहान अरु हतियारधारीसँगै चार्लीले परेड खेल्यो । कमाण्डरले धनुको ताँदोलाई औँलाले बजाउँदै, त्यसबाट धुन निकाल्दै गीत गायो, 

‘‘हामी चाहन्छौँ हाम्रो नरिवल 
हामी चाहन्छौँ सुन जस्तै सुनौलो विहानी
हामी हौँ कालो हिरा
को हो हाम्रो घरमा आगो लगाउने ?
हामीले चिनिसक्यौँ...’’
कमाण्डरले चार्लीलाई धनु दियो । चार्लीले पनि गाउन थाल्यो । 
‘‘हामीले चिनिसक्यौँ....’’

आमाको छेउमा गएर चार्लीले गीत दोहो¥यायो । कमाण्डर खुशीमा मुस्कुरायो । थोरै भए पनि चित्त बुझाई आमाले र छोरोलाई कमाण्डरतिरै फर्काइ दिई ।

चार्ली कालाहरुको फौजमा गायक बन्यो । जङ्गली पातबाट सुमधुर धुन निकाल्नु, क्रान्तिको गीत गाउनु र कालाहरुलाई जगाउनु उसको काम थियो । उसको पात–वादन र गायनले काला, सेता सबै लट्ठ भए । सुनखानी, गाउँ, सहर सबैतिर पुगेर उसले मानिसहरुलाई जगायो ।

सेता र कालाहरुबीच भीषण लडाइँ चल्यो । चार्लीको आमा लडाइँमा मरिन् । आफ्नो आमालाई गोली हान्ने कमाण्डरलाई चार्लीले फायर त ग¥यो तर गोलीले दुष्मनको टोप मात्र उड्यो र सेतो तालुखुइले टाउको देखियो । अर्को फायर खोल्दाखोल्दै टोप छोडेर भाग्यो तालुखुईले । 

लडाइँ दुई दशकभन्दा बढी लम्बिएला जस्तो भयो । सुनखानी, कलकारखाना गाउँ गाउँबाट कालाहरु उठे । लडाइँमा कसैको हार–जीत भन्दा पनि दुवै पक्ष सखाप होला जस्तो भयो । चार्लीले पात वादन र गायनमा शान्तिलाई पनि मिसाउन थाल्यो । उसले आमाको मृतआत्माको शान्तिका लागि गीत लेख्यो, 

एक गोलीले मरेको मानिस 
हजारौँ गोलीले नि बाँच्न सक्दैन भने 
मर्नु मार्न किन करोडौँ गोली खर्च गरी रहेछौँ !
मानिस आफैँ मर्न सक्षम छ !
मानिस आफैँ बाँच्न सक्षम छ !

युद्धरत दुई पक्षबीच समानताको सहमति भयो । सहमति हुनुमा चार्लीको शान्तिकामी गीति अभियानको अवश्य भूमिका थियो । काला र सेताहरुको ठेक्पा सरकार बन्यो । सरकारले चार्लीलाई शान्ति गीतका लागि दुई दर्जन तोप सलामी दिएर सम्मान ग¥यो । तर चार्लीको आत्मामा पटक्कै शान्ति थिएन । उसलाई आफ्नो बाल्यकालका काला स्मृति, लडाइँ र आमालाई गुमाउनु पर्दाको पीडाले तर्साइरह्यो ।

चार्ली एकदम निराश भयो । आमाले सुनाएको सेतो भूतको सम्झनाले सताइरह्यो । ऊ एकदिन पत्रकार मारिया सहित सहरबाट गाउँ गयो । मारिया चार्लीको जीवनमा आधारित एक रिपोर्ताज बनाउन आतुर थिई । चार्ली सानोमा देखेको आफ्नो घरजग्गामा बनिरहेको बिल्डिङ र वरिपरिको नरिवलबारीमा पुग्यो । सुनौलो रोगनले लिपिएको बिल्डिङ को आँगन टेक्नेवित्तिकै बालापनमा देखेको दन्दनी झपुडी जलिरहेको दृष्य चार्लीको आँखामा नाच्न थाल्यो । 

चार्लीको शान्ति गीत गाउँदै एउटा गोरा, तालु खुइले मोटाघाटा मानिस बिल्डिङ घरको तलाबाट ओर्लियो । उसले चार्ली र मारियालाई दोश्रो तलाको सिटिङ रुममा लग्यो । सबैभन्दा पहिले चिसो तातो सोध्यो । मारियाले केही नखाने सङ्केत गरिन् बरु डायरी झिकिन् र कलम जोत्न थालिन् । चार्लीलाई एक प्याक रक्सी र चुरोट थमायो । तालुखुइलेले आफ्नो परिचय दियो, ऊ अवकाश प्राप्त जर्नेल अक्टर रहेछ । अक्टरको तालु ठम्याएर चार्ली एकाएक मौन भयो । सल्काउँदै नसल्काइएको चुरोट औँलाले चेपेर मुखमा पु¥याएर बसिरह्यो । मारिया अहिलेसम्म नपल्टिएको चार्लीको जीवन कहानीको भर्जिन पृष्ठ पल्टने अवसर गम्भीरतापूर्वक् पर्खिरहेकी थिई । अक्टरले नरम भाषामा चार्र्लीलाई परिचय मागिरह्यो ।

चार्लीले आफ्नो परिचय दिनै सकिरहेको थिएन । चार्लीका आँखा रसाएजस्तै गरे । चार्लीले आफूलाई सम्झायो, 
‘‘चार्ली !’’ 

चार्लीको मुखबाट शब्दमात्र खसेको के थियो, भूपू जर्नेल कयौँ वर्ष खोजेको मानिस भेटेजस्तै उत्तेजित हुँदै खुशीमा मुस्कुरायो–

‘‘वाउ चार्ली !!’’

Thursday, June 28, 2012

रातो धर्का



स्वप्निल स्मृति

कवि इच्छुकको बारेमा सम्झन लायक ‘ठूल्ठूला’ प्रसङ्गहरू नहुने नै भए । २०५८ सालताका म एउटा सानो ‘कमरेड कवि’ त्यसमा पनि अन्तर्मुखी । जिब्रोमो ‘चिप्लो पदार्थ’को कमी भएको म ठूल्ठूला कमरेडहरुसँग त्यति सजिलै घुलमिल हुनै सक्दिनथेँ । दुई चार भेटमा कवि इच्छुक मलाई अत्यन्त ‘सामान्य’ लागेका हुन् । मलाई यसो लाग्नुमा उहाँका 'पेरिफेरी'मा ठूला क्रान्तिकारीहरू हुनुले पनि होला । जसरी जेठअसारको आकाशमा खडा हुने वादलको पहाडमुनि पहाडहरु सामान्य लाग्छन् ।
२०५७ सालमा म आर.आर. क्याम्पसको रात्रीकालीन विद्यार्थी । पत्रकार हुन्छु, कवि हुन्छु भनेर धनकुटा पढ्दापढ्दै भागेर आएको । २–३ महिना लोकन्थलीमा बन्दै गरेको पूर्व मन्त्री तथा त्यसबेलाका कांग्रेस नेता ढुण्डीराज शास्त्रीको घरमा बालुवा चाल्ने काम गरेँ । दिउँसो चार बजेसम्म बालुवा चाल्थेँ, त्यसपछि पानी तान्ने मेशिनमा ‘लाइन’ जोड्थेँ । खुब् तेजले इनारको पानी तान्थ्यो पाइपले । हातमुख हतार–हतार धोएर त्यतिकै तेजमा डेरातिर हानिन्थेँ । कौशलटारको डेरामा लुगा फेरेर ‘सात नं.’ बस समात्थेँ । ममा कविता र राजनीतिको आशक्ति सानैदेखिको हो । आर.आर. क्याम्पस त हो, विद्यार्थी राजनीतिले पढाइ नै हुँदैनथ्यो । फेरि त्यैताका स्ववीयु निर्वाचनको गरमागरम समेत । 
माओवादी, धनकुटा पढ्दा अलिअलि जानेको हुँ । नौलो विहानी, जनादेश, जनआव्हान साप्ताहिक धनकुटामा पाइन्थे । काठमाडौमै रङ् पेन्टरको काम गर्ने तर परीक्षा दिन धनकुटा धाउने एक दाइ थिए, डोलेश्वर चेम्जोङ । दाइले पढाइमा गाउँमा कमाएको सुनाम आर्थिक अभावले पूरा गर्न पाएनन् । भैरवनाथ गणले सामूहिक बेपत्ता पारेका सूचीमा डोलेश्वर लिम्बु भनेर उल्लेख छ अहिले । उनै दाइ डोलेश्वर र म जनयुद्धबारे गफ हान्थ्यौँ । बेलाबेलामा अहिलेका माओवादी युवा नेता हेमराज भण्डारी पनि आउँथे । त्यतिखेर उनी नेकपा मसाल दिननाथ शर्माको विद्यार्थी सङ्गठनका नेता थिए । धनकुटाबाट माओवादी खोज्न म काठमाडौ पसेको थिइनँ । तर संयोग आरआरमा माओवादी भेटियो । क्रान्तिकारीले एक बेलुकी नाइट शिफ्ट कमिटी गठन ग¥यो, म पनि त्यसको सदस्य भएँ । अर्ध भूमिगत रुपमा सङ्गठन बनाउने, पोस्टरिङ गर्ने र राति राँके दौड जुलुशहरू निकाल्ने गरिन्थ्यो । कति साथीहरुलाई पुलिसले बैठकबाटै समातेर लैजान्थ्यो । हामी नारा लगाउँथ्यौँ, ढुङ्गा र इँटा हान्थ्यौँ, ‘‘पाल्तु कुकुरहरु मुर्दावाद् !’’ यही क्रममा आरआर क्याम्पसमा आगजनी समेत भयो । 
कवि इच्छुक, त्यतिखेर राजविराज कारागारमा हुनुहुन्थ्यो । ललितपुरको भट्टेडाँडामा माओवादीले चौकी आक्रमण गरेको समाचार जनादेश साप्ताहिकमा प्रकाशित गरेको निहुँमा सरकारले ०५६ साल वैशाखमा पक्राऊ गरेको थियो । ‘किलो सेरा टु’, ‘कर्डन एण्ड सेर्च अभियान’, ‘थवाङ’ ‘जेलवाङ’, ‘बेथान’ ‘जलजला’, ‘सिस्ने’ ‘अनेकोट’ जस्ता शब्द काठमाडौमा खुब् स्थापित थिए । यी शब्दहरु शायद काठमाडौले पहिलोपटक सुनेको हुनुपर्छ । यी शब्दमा उत्पीडित जनको सङ्गठित सङ्घर्षको उद्वेलन तरङ्गीत थियो । म चाहिँ जनादेशको छैटौँ पृष्ठमा छापिने कविता र गीतमा विष्फोट हुन्थेँ । सानोमा बैरागी काइँलाका कविता पढेकोले जनादेशका कविता मेरो लागि ‘एम्बुस’ नै थियो, छोयो कि पड्किहाल्ने । मलाई थाहा छैन, नेपाली साहित्यका पण्डितहरुले जनयुद्धकालीन कविताहरुलाई कसरी लिइरहेका छन् ! तर ती कवितामा भयङ्कर शक्ति छ । ती कविताहरु फेरि पनि कुनै दिन पड्किन सक्छन् । समाज राजनीतिक दृष्टिले नेपाली कविताले त्यो नवीनता, त्यो शक्ति पहिला कहिल्यै प्राप्त गरेको थिएन । मैले पढेका त्यस्ता कविताका सर्जममध्ये एक थिए कृष्ण सेन इच्छुक ।
हरेक महिना नेपाल ल क्याम्पसमा हुने साहित्य सन्ध्यामा जान्थेँ । जहाँ माले समर्थक साहित्यकारहरु सक्रिय थिए । एमाले समर्थकको साहित्य सन्ध्या आरआरमा हुन्थ्यो तर हामी माओवादी समर्थक चाहिँ ल क्याम्पसमै जान्थ्यौँ । कारण त्यहाँ अलिक क्रान्तिकारी कविता सुन्न र भन्न पाइन्थ्यो । कोही कोही कवि मित्रहरु चाहिँ दुवै कार्यक्रम भ्याउँथे । इच्छुकलाई मैले त्यहीँ हो पहिलोपल्ट देखेको । उक्त कार्यक्रममा उहाँले ‘जेल’ कविता वाचन गर्नुभएको थियो । भर्खरै जेलबाट मुक्त हुनु भएर होला निधारमा रातो अविर लगाइदिएर मञ्चमा कविता वाचनको लागि आयोजकले डाकेको थियो । 
‘‘कुनै अनाम देश होस्
अथवा प्रिय स्वदेश होस्
के फरक प¥यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ ।’’

मसिनो र तर तिक्खर स्वरमा उहाँको त्यो कविता वाचन मेरो लागि पहिलो र अन्तिम समेत भइदियो । ‘इतिहासको यस घडीमा’ सङ्ग्रहका कविता कौशलटारको साँघुरो डेरा, अभावमा बाँचेको म र डोलेश्वर दाजु जस्ता कविताका पारखीले वाचन गर्दा संसार जितेजस्तो शास आउँथ्यो र उहाँप्रति त्यसैत्यसै प्रेम जागेर आउँथ्यो । २०५८ सालमा उहाँको ‘बन्दी र चन्द्रागिरी’ लामो कविता प्रकाशित भयो । बागबजारको एक पुस्तक पसलमा किन्नुभन्दा अघि उभिएरै पढिसकेँ । पढिसक्दा साँच्ची साम्यवाद आउने रै’छ भन्ने विश्वास पैदा भएको थियो ।
युद्धविरामको अवस्था थियो । म शान्तिनगरमा एक पन्जाबीको गार्मेन्टमा पाले काम गर्थैँ । लामो कपाल पालेका, रातो गाडीमा सवार पञ्जाबी साहु प्रकाशचन्द्र लोहोनीका बहिनी ज्वाइँ हुन् भन्नेसम्म सुनेको हुँ । चेम्जोङ लिम्बु भएकाले गार्मेन्टका कामदारहरु मलाई ‘‘च्याङ’’ भनेर बोलाउँथे । त्यसमा पनि गार्मेन्टको रेखदेख गर्ने जनार्दन भाइले त सा¥है नै ‘च्याङ’ भनिबस्थ्यो । म विद्यार्थीबाट पूर्णकालीन कार्यकर्ता हुने तरखरमा थिएँ । आन्दोलन क्याम्पस–क्याम्पस चलिरहेका थिए । दिशाबोध मासिकमा मैले ढुङ्गा हानिरहेको तश्विर प्रकाशित भयो । जनार्दनले ‘‘इः च्याङको फोटो भनेर’’ साहुलाई देखाएपछि सङ्कट प¥यो । त्यै मौकामा म पूर्णकालीन कार्यकर्ता भएर किर्तीपुर क्षेत्र गएँ । निजी विद्यालयमा शुल्क मिलान गर्नु, सङ्गठन बनाउनु र समाचार रिपोर्टिङ गर्नु थियो मेरो काम । पत्रकारिताको विद्यार्थी भएकाले म पत्रिकामै काम गर्न चाहन्थेँ नै ।
०५८ सालको भदौबाट प्रकाशन हुन थाल्यो जनदिशा दैनिक । त्यसपछि मेरो कवि इच्छुकसँगको भेट समीपियो पनि के भन्नु ! उहाँ कार्यालयमा पातलो मात्रै आउनुहुन्थ्यो । आफ्नै स्वभावले गर्दा अभिवादन साटफेरसँगै आउने ‘हाइहेलो’ बाहेक त्यस्तो अन्तरङ्ग केही भएन । भित्र मनमा मात्र थाहा थियो, ‘‘कृष्ण सेन इच्छुक महान् कवि हो तर कति सरल, कति सौम्य । बोलाउँदा नि केही बिगारिएला कि जस्तो ।’’ 
दशैँताका म गाऊँ गएँ । जनदिशा कार्यालयमा फोन गर्दा पो इच्छुक दाइसँग बोल्न पाइयो । उहाँले उताका केही ‘फिचर’ पनि ल्याउनु भन्नुभयो । अहिले सम्झिँदा लाग्छ, शिकारु पत्रकारलाई दिइने ‘होमवर्क’ नै फिचर हो । गाउँमा बाक्लै माओवादी प्रभाव थियो तर मैले कुनै फिचर उठाउन सकिन । ०५८ साल मंशीर ८ गते राति हामी जनदिशा दैनिकको कार्यालय ज्ञानेश्वरमै थियौँ । युद्धविराम भङ्ग भएर दाङ सदरमुकाम घोराहीमाथि आक्रमण भयो । साथीहरुले फोनबाट रिपोर्टिङ गरे । फोनमा त लडाइँ चलिरहेको सुनिन्थ्यो । त्यसको भोलिपल्ट बेलुकी जस्तो लाग्छ, जनदिशा कार्यालयमा सेतो पोशाकमा प्रहरीहरु आए र शीव तिवारी लगायतलाई पक्राउ ग¥यो । कमलकुमार ए.सी. र म बाहिर निस्कियौँ । त्यसपछिको स्थिति कहालीलाग्दो भयो । किनभने सङ्कटकाल लाग्यो । तीन महिने सङ्कटकालमा पनि जनादेश निस्कन्थ्यो । प्रभात चलाउने र म लगायत कोठामा हप्ताहप्ता दिनसम्म भोकै रहन्थ्यौँ । जनादेश आइपुग्थ्यो, विभिन्न सञ्चार गृहमा लुकाएर पु¥याउँथ्यौँ ।
फेरि तीन महिना सङ्कटकाल थपिँदा पशुपति गौरीघाटमा नवराज पुडासैनी र मलगायत सेल्टरमा बस्थ्यौँ । विना तालिम पनि हामी काठमाडौमा ‘साना’ फौजी कार्वाही ग¥थ्यौँ । यसै क्रममा माछापोखरीमा भिजिलान्तेहरुले पुडासैनीलाई समाते । म गौरीघाट सेल्टरमा फर्किँदा कोठा खानतालसी भइसकेको थियो । इच्छुकका सङ्ग्रह, मेरा कविताका डायरी र नागरिकता केही थिएन । कोठालाई नराम्ररी भुत्ल्याइएको थियो । घरबेटी दिदी रुनु भयो । विद्यार्थी हौँ भनेर एउटै परिवारजस्तो गरेर बसेका थियौँ । कहाँ बस्ने  केही टुङ्गो भएन । थाँती राखेको आइ.ए.को दोश्रो वर्षको परीक्षा झल्झली सम्झिन थालेँ । कहाँ जाने ? नेता गणेश रेग्मीलाई पेजर गरेँ र विदा मागेँ । एउटा पोलिथिनको झोलामा केही लुगा लिएर फेरि दाजु डोलेश्वर लिम्बुको डेरा कौशलटार फिर्ता भएँ ।
पार्टी सम्पर्क हुन सकेन । परीक्षा दिएँ । जनआस्था खुब् पढिन्थ्यो । जनादेश, जनदिशा त पढ्न पाउने स्थिति नै थिएन । मलाई लाग्थ्यो म बाहेक काठमाडौमा कसैलाई पनि बाँकी राखेको छैन । अब म क्रान्तिकारी निराशावादमा फसिसकेको थिएँ । बेलुकी भएपछि ढल्ने गरी ‘भक्तपुरे’ लगाउँथेँ । भट्टिपसलमा पनि कोही नौलो मानिस देखियो भने ‘सिआइडी हो कि’ जस्तो लाग्थ्यो । ०५९ जेठतिर हुनुपर्छ, जनआस्थाले इच्छुकलाई महेन्द्र पुलिसमा चरम यातना दिएर चोभारमा दोहोरो भिडन्त भएको नाटक गरेर हत्या गरेको समाचार प्रकाशित ग¥यो । मैले त्यसलाई सजिलै विश्वास गरेँ । किनभने दुश्मनको निष्कृष्टता मैले पनि अलिअलि बुझैकै थिएँ । बेलुकी भट्टिपसलबाटै मनमनै महान् कविलाई श्रद्धाञ्जली दिएँ । महान् कविकै स्मृतिमा माले अखिलले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा सहभागी भएँ । कविताले दोश्रो पुरुस्कार जित्यो तर वाचनको क्रममा ‘महान् सहिद कृष्ण सेन इच्छुकलाई समर्पित’’ भन्ने मेरो समर्पण वाक्य चाहिँ रातो धर्काले स्वाट्ट काटिएको थियो । 

[वर्ष ३० पूर्णाङ्क २०३ जेठ-असारमा २०६९ तछलाथ्व/तछालागाः ने.सं.११३२ मा  मूल्याङ्कन मासिकमा प्रकाशित संस्मरण]

Saturday, June 16, 2012

गीत



 स्व.स्वप्निल स्मृति




अलिक पर, धेरै पर, पर-- पर--- नहोस् किन
मानिस बाँचिदिए त आश हुन्छ है 
आफूलाई नै मारिदिने आत्माहरु नहोस् किन 
जिउँदोहरुलाई त धेरै धेरै माया लाग्छ है

बायाँ मात्र सम्झिए दायाँ चन्द्रमाले बाटो काट्छ है
माया भन्ने चिजलाई, सम्झे एकोहोरो, दिलै फाट्छ है
टुटे पनि ऐनाले त  बरु फाल्टै फाल्टै होस् 
प्रतिविम्ब देखाउँछ है दुरुस्तै...
माया लाउनु गुमाउनु त्यस्तै त्यस्तै है

आफूमात्र सम्झिए  यस्तो एक्लो, एक्लो, एक्लो भइन्छ  !
चारैतिर फर्केर हेरे जिन्दगीमा मुस्किल के छ र !
घट्छ बढ्छ चन्द्रमा त औँशी-पूर्ने अनुसार
चाँदनी चाहिँ थो-थोरै चुहिरन्छ है 
जीवन जीउनु विताउनु  त्यस्तै त्यस्तै है


Thursday, June 7, 2012

गीत















स्व.स्वप्निल स्मृति

खोलानाला, डाँडाकाँडा, फाँटलाई मात्र देश मान्नेलाई
सुनाई देऊ नदीभन्दा लामो तिम्रो कहानी
चिनाई देऊ हिमाल भन्दा अग्लो तिम्रो चिनारी....

फूल्छ, झर्छ, फेरि फुल्छ जस्तो लाली गुराँश
तर तिमी यस्तो फूल, फूल्छौ बा¥हैमास
चलाई देऊ फूलभन्दा मिठो तिम्रो सुवास
सुनाई देऊ देशभन्दा आदिम इतिहास

को हो देश चुस्ने यहाँ को हो देशद्रोही 
तिम्रो चोखो भावनामा शङ्का गर्छ कोही
डाँफे चिन्ने, मयुर चिन्ने, मान्छे नचिन्नेलाई
देखाई देऊ मानिसको कस्तो हुन्छ चिनारी !



Sunday, April 29, 2012

गीत

स्व. स्वप्निल स्मृति 

ओहो जिन्दगी !
मेरो जिन्दगी !!

झन्नैले मैमारेको दुःखहरुमा
खुशीले िसंगारेको सुखहरुमा 
कैले लाग्छ धेरै धेरै धेरै गर् हुँगो
कैले लाग्छ केही केही केही हैन यो
मेरो जिन्दगी !

मृत्युले लखेटेको भेटिनहालेको
गएको गएकैछ पुग्ने कहाँ हो !
अन्धाधुन्द बाँचेको कि जानाजान हो  
सियो जत्रो खुशीमा नि बहुत् रमाएको

 ओहो जिन्दगी !
मेरो जिन्दगी !!

Saturday, March 31, 2012

लोकतन्त्र पोइजन

 
स्व.स्वप्निल स्मृति  
 
हरन लगाउँदै कुम्मायक कुस्सायकलाई 
फिकुले डाँडा थर्किने गरी 
नाच्दै 'उलाला…उलाला' 
आइपुग्यो गाडी गाउँमा

स्वप्नमा गाडी देख्दा कुम्रेक लाग्ने गाउँमा  
यसपल्ट त साँच्ची गाडी आइपुग्यो ! 
 
गाडीको प्रतीक्षामा  तेर्सा  परेका बूढापाका 
किताबमा मात्र गाडी चढेका बालबालिका 
गाडी-बाटो खन्दाखन्दा हत्तु युवायुवती 
घर-घरबाट निस्के फूलमालासँग… 

स्ट्रेट कपाल हल्लाउँदै, निधारमाथिको कालो चश्मा मिलाउँदै 
घुँडासम्म आउने टप बुट लगाएको लोकतन्त्र
फुत्त उफ्रियो छतबाट 
बस्तीतिर एक फनक लायो नजर  
र, थुक्यो पिच्च ! 

लोकतन्त्रलाई सबसे पहिले 
अभिवादन गर्यो ठेकेदार खड्गप्रसाद निरौलाले  
त्यसपछि पालैपालो सेवारो टक्राए गाउँलेहरुले 

लोकतन्त्र र ठेकेदार निरौला 
झण्डै एकघण्टा गोप्य बात मारे 

मौका यही थियो 
गाउँलेले गाडीलाई घुमीघुमी हेरे/छोए 
गाडीको झ्यालमा टाँसिएको
पोस्टरको हिरो-हिरोइनको नमस्कारलाई समेत झण्डै फर्काए ! 

ठेकेदार निरौलाले घर-घर डुलायो लोकतन्त्रलाई 
स्वास्थ्य, शिक्षा, गाँसबाँसबारे रिपोर्ट उठायो 
आदिवासी आमाहरुलाई एक-एक प्याकेट कण्डम थमायो
देउताले समेत जाँड खाने घरमा 
कोकाकोला बाँड्यो
चाउचाउ बाँड्यो… 

कण्डमको हवाइजहाज उडाएर बच्चाहरु बुरुकबुरुक उफ्रिए 
गाउँलेले पहिलोपल्ट थाहा पाए- कोकाकोला र कोला फरक रहेछ 
एउटा चाउचाउ उमाल्दा एकभाँडा भयो 
तर भोक मेटिएन गृहणीहरुको 

सबासाम्माङ मात्र बस्ने सुन्तला बारीमा, कोलाबारीमा  
ताम्भुङ्ना पिङ खेल्ने जंगलमा
वरक्मा नुहाउने खोलामा 
लोकतन्त्रलाई निस्फिक्री घुमाउँदा ठेकेदारले 
सोचे गाउँलेहरुले-
'ला…अब …
यसलाई देउता लाग्छ/रगत छाद्छ 
बिना धूपबत्ती
-जल टेक्यो यसले 
-जमिन टेक्यो यसले 
-जंगल टेक्यो यसले' 

तर उल्टै गाउँलेहरु विराम परे
'हस्पिटल !' यति बोल्यो लोकतन्त्र  
खाँदाखाँद गाडीमा चढाइए बिरामीहरु 
नअटेकाहरु गाडीको अघिपछि  झुण्डिए  कीरैसरी सिस्नुका 

छतमा सुसेली हाल्दै हात हल्लायो लोकतन्त्रले 
गाउँ छोड्यो गाडीले
ह्वार्रह्वार्र रगतजस्तो कोकाकोला र चाउचाउ बमिट गराउँदै  विरामीहरुलाई  ...

गाउँलेहरुले सोधे ठेक्केदारलाई- 
'के भयो कोकाकोला र चाउचाउ मात्र खाएका थिए !' 
ठेक्केदार गम्भीर भयो - 
'देउता लाग्यो ! 
गाउँलेहरु अचम्भित भए- 
'देउता त लोकतन्त्रलाई लाग्नुपर्ने हो !!' 
ठेक्केदार मुस्कुरायो-
' जल, जंगल, जमिनभन्दा ठूलो देउता हो लोकतन्त्र !'