Pageviews

Sunday, December 12, 2010

अरु सम्बोधन



स्व.स्वप्निल स्मृति

महोदय !
सर्कस-घर होइन देश
न समय
बादशाहको शालिक नै हो ।

तिम्रो हातमा छ
जो हस्तिनापुर र महाभारतको युद्ध सुन्दरी
अनि तिम्रो हातमा छ
उत्तराधुनिक 'रिमोट कन्ट्रोल'
जसले तिमी नचाइरहेछौ- पेशेवर वेश्या शान्ति ।

तिम्रो हातमा छ- िहंस्रक राज-झट्टी
र ठान्दो हौ- यही हो अन्तिम जादुमय छडी
लासहरुको चाङ
चाङमाथि चाङ
चाङहरुको दरबारमा
जुन छ वैदिक साम्यवादको गद्दी
होत्यहीँ आसीन छौ तिमी- जङ्ली ॠषिमुनि झैँ ।

तिम्रो हातमा छ- नरभक्षी बन्दुक
सँङ्सँगै एउटा कुरुप कला
तर आफू शाकाहरी हुँ आदेश-बक्सको
ठूल्ठूला होर्डिङबोर्डहरु झुन्ड्याएका छौ-
टोल-टोलका बधशालाहरुमा।

तिम्रो हातमा छ- गीता
र अज्ञात यौवनाको बालात्कारपछि
तत्काल हत्या गरेको रक्तमुछेल छुरी ।

जुन तिम्रो हातमा छ-
एक टक्रा सुकिलो खादा
राजकीय अभिनन्दनमा
उही बलात्कृत यौवनाका बुबाहरुबाट समर्पित
महोदय !
हाम्रो हातमा केही छैन
यो देशको एकमुठी माटोसम्म…
तर तिम्रो हातमा धेरै छ ।

सबैभन्दा घृणित त
तिम्रो हातमा छ- राष्ट्रिय झन्डा
जो हो तिम्रो गुप्ताङ्ग छाप्ने हतियार
मानिदिऊँ-
राष्ट्रियता तिम्रो कामुकता
अनि राष्ट्रहो तिम्रो गुप्ताङ्ग ।

तिम्रो अभिमान सोहोरिएको
तिम्रो महत्वाकाङ्क्षा पोको परेको
एउटा पुरातात्विक टोप
चाहे त्यो हाम्रो पाइतालामुनि होस्
चाहे त्यो तिम्रो शिरैमा होस्
जसको कुनै मतलब छैन हामीमा
होत्यो समेत तिम्रै हातमा छ ।

महोदय !
हिरामोति धनसम्पत्ति फौज
मानिदिऊँ- ब्रम्हको अण्ड नै
सबै-सबै तिम्रो हातमा छ
तर तिम्रै दुर्भाग्य !
तिम्रो हातमा छैन जनता र समय
तिम्रो आयुसमेत हाम्रो हातमा छ ।

हो खाली छन् हाम्रा हातहरु

बुभुनू महोदय !
सबैभन्दा डरलाग्दो
सबैभन्दा सिर्जनशील
सबैभन्दा परिवर्तनकामी
त खाली हातहरु नै हुन्छन्
जब भरिनेछन्-
केही थोकले हाम्रा हातहरु
सम्झिनू !
त्यतिखेर तिम्रो हातमा
के हुनेछैन के हुनेछ ।

(ऐतिहासिक जनआन्दोलन 0६२/६३ मा रचित एवं वाचित)

No comments:

Post a Comment