Pageviews

Tuesday, June 28, 2011

बुबा




भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको
ढुङ्गा फुटाइरहेको
ऋणको सानो कुम्लो बोकेर
मुग्लानबाट गाउँ आइरहेको……
हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे !


आस्थाको ढाका टोपी
क्रान्ति पहिल्याउने लामो गम्बुट
विचार पिउने ठूलो लुम्बा
किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा
झर्के थालमा चिप्लिएको तिम्रो माइली औँला
ओहोहो…! त्यो माइली औँला !
बेला बेला उठ्थ्यो तिम्रो नाकअघिल्तिर सिधा
र हेथ्र्यौ मलाई टेढो टेढो आँखा …

मेरो साथी !
दस वर्षको हुँदा हो
'फिक्चुके ! फिक्चुके !' भनेर तिम्रो नाम काढेको
जतिखेर उठ्यो तिम्रो दाहिने हात र बजि्रयो मेरो देब्रे गालामा
त्यतिखेर हुँ 'आमा' भनेर रोए पनि
बुबा भनी अलिअलि चिनेको …

सुँगुरको पाठा बोकेर पेरुङ्गोमा
फिक्चुकेकॊ पछिपछि धुर्विसे पन्चमी जाँदा
थाहा पाएको हुँ बजार भाऊ मान्छेको
फिक्चुकेले सुँगुरको जगर तोला-तोला बटुलेर झोलामा
डुल्दा तमोर खोला मेवा खोला…
लाग्थ्यो-
मेरो साथी बादल धुम्मिएको
सेतो सेतो वर्षात् झुण्डिएको
खोलाको माथि…माथि…शीरतिर होला
फिक्चुके खरितेले गाईगोरुको लस्करसँगै काट्दाखेरि देउराली
विदेश भन्ने पहिलोचोटी जानेको हुँ 'सिलिगुढी, जय बङ्ला!'

फिक्चुके ! तिम्रो ढाडजस्तो सडक टेकेर
म आज खै कुन्नी कुन देश आइपुगेँ !
तिम्रै मुखबाट पहिलोचोटी सुनेको हो 'नेपाल नेपाल'
तिमी आइ नपुगेको 'नेपाल'पो आइपुगेँ िक
उता फुल्न थालिसक्यो होला
हिँड्ने बेला मैले रोपेको बारीको डिलको नास्पाती
तर चिन्नै गार्हो अझै मलाई
म कहाँ छु ?
यो कुन देश कुन दिशापत्ता हो ...

यता म ढुङ्गा हान्दै छु
उता ढुङ्गा ढोग्दै हौला तिमी देउरालीमा
उता राँको फालेर खेद्दै हौला अनिकाल साउने सक्रातीमा
यता म राँकेजुलुस बालेर बोलाउँदै छु उज्यालो

जब मस्तिष्कमा खुट्टा पलायो र ताकेँ अर्कै ध्रुव
उता एक्लो रुख भयौ तिमी हाँगा उछिट्टिएको एक्लो रुख
यता ममा पलायो एउटा नौतुन हाँगा
बडो स्वप्नील हाँगा !
जसको लागि मेरो काँध भएको छ चोमोलुङ्मा, चढ्छ र,
क्षितिजको अन्तिम फेरको तारालाई छुन्छु भन्छ
जसको लागि मेरो काख स्वप्नभूमि भएको छ र ब्यूँझिँदा
पूर्वी आकाशतिर उदाइरहेको निक्खुर जूनमा पुग्छु भन्छ

बुबा !
आज म बुबा हँदा पो
तिमीलाई बल्लबल्ल चिनेँ हौ ।

Thursday, June 16, 2011

पूर्व छापामार


१६ वर्र्षको हुँदा
पहिलो पल्ट पुग्यो ऊ सदरमुकाम
र थर्र्थरी काँप्दै लियो नागरिकता
२० वर्षको उमेरमा
आफूलाई अनागरिक घोषणा गर्यो
र युद्धमा आफूलाई होमिदियो

युद्धमा कब्जा हुँदा सदरमुकाम
उसले फस्ट एसल्टको जिम्मेवारी निभाएको थियो
सिडिओ कार्यालयको प्रवेशद्वार छिचोल्ने बेला
घाइते भएपछि
सहयोद्धाहरुले उसलाई उडाएका थिए डोकोको जहाजमा
हेडक्वाटरले उक्त युद्धलाई यसरी संश्लेषण गरेको थियो-
'हारे-हारेजस्तो जीत
जिते-जितेजस्तो हार
कामरेडहरु ! समग्रमा जीत नै हो .'

आज ३० वर्षको उमेरमा
फेरि ऊ आइपुगेको छ सदरमुकाम
युद्धमा जलेको नागरिकता बनाउन
अयोग्य भनेर शिबिरबाट निकालिएको योग्यताले
नभरिने भएपछि पेट
अब राहदानी बनाएर जानु छ अरबतिर उँट चराउन

पल्टेको छ ऊ सदरमुकामको सस्तो गेस्ट हाउसमा
लगातार बम विस्फोट भइरहेछ उसको निशस्त्र छापामार मस्तिष्कमा
कि कमाण्डरले युद्ध रोकिएपछि खोलेको 'मेनपावर'मा
तुरुन्तै राहदानी बुझाउनु
उस्को तत्कालीन कार्यनीति छ
गाउँकै धूले स्कुलमा भएिन छोराछोरी पढाउने
उस्को दीर्घकालीन योजना छ

यसरी उ आफूउपर पहिलोखेप सोच्न थालेको छ

सिडिओ सरुवाबढुवाको लागि
राजधानी गएको छ
एक हप्ता भइसक्यो आगोले अवरुद्ध छ राजमार्र्ग
गोली विझेको लडाकू झै दायाँ पल्टिन्छ बायाँ पल्टिन्छ
दायाँ बायाँ उसको निधारमा
फेरि दुःखले ल्याप्चे लगाएको छ

स्वप्नको बारुदले पोलिरहेछ भर्याक भर्याक रातभर
भोकाहरुले फेला पारेर हारालुछ चोक्टा चोक्टा चुँडिखाएको
अन्जान रोटीजस्तो
पश्चिम आकाशमा एकचोक्टा जून खिस्सखिस्स मुस्कुराईरहेछ .

उसको दिमागमा जो छिरेको थियो विचारको लार्भा
त्यो आज झुसिल्किरा भएको छ
उड्दापक्षी खैनीले एकदम विझाइरहेछ उसको गिजा
जुरुक्क उठेर झ्याल बाहिर थुक्दछ -थुक्क !