Pageviews

Thursday, February 21, 2013

पहिलो र अन्तिम प्रेमीलाई...

स्व.स्वप्निल स्मृति


तिम्रो र मेरोजस्तै
उहिले उहिले
माइ र तमोरको मायापिरती थ्यो' रे ।

चञ्चले तमोर
छाँगाबाट हाम्फाल्दा–हाम्फाल्दा
चट्टानमा खोपेछ एक मानिस गहिरो दह
सुटुक्क आफ्नो अनुहार हेर्दा
बुढो हिमाललाई देखेछ
भागेछ लाजले ओरालैओरालो ।

औलमा आइपुगेर पालाम गाउँदै लागेको तेर्सैतेर्सो
चाल पाएछन् पहाडका तरुनीहरुले
धाननाच्नलाई तान्न थालेछन्
तमोरको पालो तरुनी जम्मै सोहोरेर मधेस हिँडेछ ।

चुरेघाँटीमा आइपुग्दा
विहे गरुँ गरुँ भएछ
विरक्तिएर पहरालाई लात्ताले हान्दै सोच्दो रहेछ–
कहिले छुट्दै भङ्गालो कहिले घुम्दै दस फन्का
आफैँले खेला’का तरुनीसँग त के गर्नु हौ विहे ?!

लेकबाट हँस्याङ र फँस्याङ आइपुगेछ फिरन्ते बतास
सुनाएछ चारखोलका दुई मस्त तरुनी
वल्लो गैरो पल्लो गैरो तन्देरी खोज्दै हिँडेको
तमोर खुशीले यस्तरी उफ्रिएछ–
झन्नैले चुरेको उचाइ उछिनेछ ।

पक्कन्दी खेल्दै डाँडैडाँडा
तमोरको चाह लिएर इलाम पुगेछ बतास
छ महिना त आँखै देखेनछ
छ महिनापछि पो मालिङ्गोघारी/अम्लिसोघारीमा
जोगमाइ र देउमाइलाई फेला पारेछ ।

सोधेछ हैरान बतासले ‘राजी कि विराजी ?’
पहाडकी छोरी देउमाइ र जोगमाइ खोजेछन् जोरी
‘राजी भने राजी !’

ल है !
दुई बहिनी नभए नि एक बहिनी त ल्याउने–ल्याउने
शुर गरेछ तमोरले र
छेलो हान्दै त्रिवेणी वरिपरि अलमली बसेछ  !

एक बर्खा–
तमोरलाई भेट्न देउमाइ र माइ
नीलो केशराशी घिसार्दै लागेछन् चुलीको फेदैफेद
खपिनसक्नु डाह भएछ रतुवालाई ..
ढाँटेछ– तमोरको विहे भइसक्यो ।

‘‘हो त हो !’

माइको पालो पानीको मन न हो
रिसले पसेछ दक्खिनैदक्खिन.... ओरालैओरोलो ।

तमोरलाई पनि शत्रुको आँखा लागेछ...

माई त अन्तै फात्चा गई–सर्दुलाई ईश्र्या लागेछ
शीर ढलिहाल्यो तमोरको र
अरुनमा हेलिँदै हेलिँदै कोशीमा बङ्गै हाम्फालेछ ।

पछि...पछि...
मुग्लानमा
तल... तल...
तमोर र माइको हंशमात्र भेट भएछ ।

तिम्रो र मेरोजस्तै
दुरुस्तै..
ठूली !
उहिले उहिले
माइ र तमोरको माया पिरती थ्यो' रे ।