Pageviews

Sunday, July 15, 2012

आकाशको कथा


स्वप्निल स्मृति

उहिले  त आकाश सा¥है नजिक थियो नि !
कस्तो शासै थुन्थ्यो,

त्यतिखेर त ताराहरु पनि खड्कुडा जत्रा देखिन्थे
घाम र जून त घुमाउने खेत भन्दा विशाल..
धर्ती खासै सुन्दर देखिँदैनथ्यो

ठूल्दिदी तरुनी पुग्दै गइन् र पो त !

ओखल कुट्दा 
जहिल्यै मुसलको टुप्पामा ठोक्किने आकाश
मुसलको तीखो टुप्पोले लागेर
जून त खुर्पा भइसक्यो
ताराहरु पनि कुच्चिएर पाँच-छ कुने भएछ

हेत् यो आकाश पनि...
दिदीचाहिँ मुसलभन्दा अग्ली हुँदै गइन् 
मस्त तरुनी दिदी 
भाले खोज्दै नाच्ने मयुरलाई पक्रिन सक्थिन्

पेवा कुखुरा चार्ने घोर्लेस्याललाई उछिन्न सक्थिन्
तर यो आकाश चाहिँ जैल्यै मुसल ठोकी बस्छ हौ !

एक साँझ
मच्चिमच्ची किनामा कुट्दै थिइन् दिदी
आकाश अलिक तलतल झर्दै थियो
आकाशमा मुसल ठोक्कि गो


दिदीको पालो 
रिसले मुसल उल्टाएर आकाशतिर ड्याम्म हानिपठाएको 
झर्यामझुरुम फुट्यो आकाश

धर्तीमा उज्यालै उज्यालोको वर्षा भयो
घाम, जून, ताराहरु 
धेरै टाढा
माथि माथि पुगे

र संसार यति फराकिलो भयो !
यति सुन्दर भयो !

Thursday, July 5, 2012

सेतो भूत

स्वप्निल स्मृति

चार्लीको जन्म सुनखानीमा भयो । काँचो सुन ओसार्दाओसार्दै आमाले उसलाई नरिवलको फेदमा जन्माएको थियो । चार पाउ टेकेर घिस्रिने लहरा ऊ जब रुखको विरुवाजस्तै ठाडो उभिने सक्ने भयो तबदेखि चर्चको सदस्य र सुनखानीको कामदारमा गनियो । 

साताको शनिबार सेता घोडामा सेता पादरी र आसेपासे साबाथ मनाउन सुनखानीमा आउँथे, लामो प्रवचन दिन्थे । एकदिन प्रवचन सुनिरहेको बेला चार्लीलाई अचानक आमाले पछाडिबाट तानिन् र कटेरो चर्चबाट बाहिर निकालिन् । खत्तरनाक सर्पले पछाडिबाट लखेटे जस्तै गरी आमाले चार्लीलाई भगाउँदै टाढाको गाउँ पु¥याइन् र लामो श्वास तानिन् ।

आमाले एकटक उभेर गाउँको बीचको नरिवल नै नरिवलले घेरिएको नरिवलको पत्ताले छाएको झुपडी हेरिरहिन् । चार्लीले चाहिँ आमाको नरिवलजस्तो अनुहारलाई मात्र हेरिरह्यो । आमा आँशु पुछ्दै थचक्क बसिन् र छोरालाई आफ्नो घर सेतो भूतले कब्जा गरेर सुनखानीमा धपाएको बताउँदै रुन थालिन् ।

बेलाबेला सुनखानीमा गोरो अनुहार कराइको कालो टोपले निधारसम्म छोपेका, हरियो रङमा सेतो बुट्टा खुलेका पोशाक लगाएका, घोडचढीहरु आउँथे । उनीहरुले घोडाको पछिल्तिर बोरामा कुनै जङ्गली जीव जिउँदै पोका पारेर ल्याएका हुन्थे । सुनखानीको चट्टाने भूइँमा जथाभावी फ्याँक्दा घोडाको नरम ढाडमा चल्मलाई मात्र रहेको बोरा यता पल्टन्थ्यो उता पल्टन्थ्यो । कुनै युद्ध जितेजस्तो बोरामा लोड गरेर ठीक पारिएको काँचो सुन घोडामा राखेर जब अलप हुन्थे घोडचढीहरु तब सुनखानीका कामदारहरु निस्कन्थे र पल्टिरहेका बोराका मुख खोल्थे । चार्ली सेतो भूतहरु बोरामा हुनसक्ने अनुमान लगाउँथ्यो र हेरिबस्थ्यो तर बोराको गर्भाशयबाट त धमाधम काला, गठिला तर रक्तमुछेल नाङ्गा युवतीहरुमात्र जन्मन्थे । 

चार्ली प्रत्येक साबाथमा सेतो भूत दर्शन गर्न भाग्दै गाउँ जान्थ्यो तर उसले कहिल्यै सेतो भूत देख्न पाएन । बा¥ह वर्षको हुँदा एकदिन नरिवलको झुपडीघरमा दन्दनी आगो बलिरहेको देख्यो । हेर्नै नपाई सेतो भूतलाई आगोले खाइदिएकोमा दुःख मान्दै सुनखानी फक्र्यो । झुपडी जलेको खबर आमालाई सुनायो । आमाले त सुनको डल्लैडल्लाले चार्लीलाई हिर्काउन पो थाली । 

‘‘तेरो बुबालाई सेतो भूतले मा¥यो चार्ली !’’ 
यति भनेर आमा मूच्र्छा परिन् ।

एक हप्तापछि साबाथमा आमा र चार्ली भागेर फेरि घर हेर्न गाउँ पुगे । झुपडी जलाइएको ठाउँमा पक्की इँटाका पिलरहरु ठठ्याइँदै थिए । सेता छाला भएका, चश्मा लगाएका मानिसहरु कम्मरमा हात राखेर कालाहरुलाई काममा खटाइरहेका थिए । 

‘‘दुष्ट सेतो भूतलाई चिन, चार्ली ! त्यसलाई बाँकी नराख !’’ 

क्रोधले भरिपूर्ण आमाले चार्लीलाई काँधमा थपथपाइन् र फनक्क फर्केर जङ्गलतिर लागिन् । आमाको जङ्गल प्रवेशले अचम्म भयो चार्ली तर बाटोमा सेता घोडा हिन्हिनाउँदै आइरहेका सेता बन्दुकधारीहरु देखेर चार्ली पनि जङ्गल प्रवेश ग¥यो । 

रातभर चाहार्दा चाहार्दा नदी पारिपट्टि जङ्गलले ढाकिएको एउटा ओढारमा सानो उज्यालो देखियो । चार्ली र आमा नदी तरेर अक्करको ओढारमा पुग्दा भव्य नाचगान भइरहेको थियो । ठूलो आगोको धुनी बालेर वरिपरि काला नै काला मानिसहरु भरुवा बन्दुक, तीर, भाला, वर्षा, धनु काँडसँग उत्तेजित भएर नाचिरहेका थिए । चार्ली र आमाको अचानक आगमनले नाच रोकियो, हतियारधारीहरुले चार्ली र आमातिर आफ्ना हतियार सोझ्याए । उनीहरु मात्र कमाण्डरको आदेश चाहन्थे । 

‘‘फ्रिडम !’’ 

लामो दा¥ही जुँगा भएका, गोलीका माला लगाएका अग्ला, खाइलाग्दा, कालोवर्णको मिस्टर फ्रिडम देखा परे । चार्ली र आमालाई आफूतिर बोलाए । सबैले हतियार तल पारे ।

विहान अरु हतियारधारीसँगै चार्लीले परेड खेल्यो । कमाण्डरले धनुको ताँदोलाई औँलाले बजाउँदै, त्यसबाट धुन निकाल्दै गीत गायो, 

‘‘हामी चाहन्छौँ हाम्रो नरिवल 
हामी चाहन्छौँ सुन जस्तै सुनौलो विहानी
हामी हौँ कालो हिरा
को हो हाम्रो घरमा आगो लगाउने ?
हामीले चिनिसक्यौँ...’’
कमाण्डरले चार्लीलाई धनु दियो । चार्लीले पनि गाउन थाल्यो । 
‘‘हामीले चिनिसक्यौँ....’’

आमाको छेउमा गएर चार्लीले गीत दोहो¥यायो । कमाण्डर खुशीमा मुस्कुरायो । थोरै भए पनि चित्त बुझाई आमाले र छोरोलाई कमाण्डरतिरै फर्काइ दिई ।

चार्ली कालाहरुको फौजमा गायक बन्यो । जङ्गली पातबाट सुमधुर धुन निकाल्नु, क्रान्तिको गीत गाउनु र कालाहरुलाई जगाउनु उसको काम थियो । उसको पात–वादन र गायनले काला, सेता सबै लट्ठ भए । सुनखानी, गाउँ, सहर सबैतिर पुगेर उसले मानिसहरुलाई जगायो ।

सेता र कालाहरुबीच भीषण लडाइँ चल्यो । चार्लीको आमा लडाइँमा मरिन् । आफ्नो आमालाई गोली हान्ने कमाण्डरलाई चार्लीले फायर त ग¥यो तर गोलीले दुष्मनको टोप मात्र उड्यो र सेतो तालुखुइले टाउको देखियो । अर्को फायर खोल्दाखोल्दै टोप छोडेर भाग्यो तालुखुईले । 

लडाइँ दुई दशकभन्दा बढी लम्बिएला जस्तो भयो । सुनखानी, कलकारखाना गाउँ गाउँबाट कालाहरु उठे । लडाइँमा कसैको हार–जीत भन्दा पनि दुवै पक्ष सखाप होला जस्तो भयो । चार्लीले पात वादन र गायनमा शान्तिलाई पनि मिसाउन थाल्यो । उसले आमाको मृतआत्माको शान्तिका लागि गीत लेख्यो, 

एक गोलीले मरेको मानिस 
हजारौँ गोलीले नि बाँच्न सक्दैन भने 
मर्नु मार्न किन करोडौँ गोली खर्च गरी रहेछौँ !
मानिस आफैँ मर्न सक्षम छ !
मानिस आफैँ बाँच्न सक्षम छ !

युद्धरत दुई पक्षबीच समानताको सहमति भयो । सहमति हुनुमा चार्लीको शान्तिकामी गीति अभियानको अवश्य भूमिका थियो । काला र सेताहरुको ठेक्पा सरकार बन्यो । सरकारले चार्लीलाई शान्ति गीतका लागि दुई दर्जन तोप सलामी दिएर सम्मान ग¥यो । तर चार्लीको आत्मामा पटक्कै शान्ति थिएन । उसलाई आफ्नो बाल्यकालका काला स्मृति, लडाइँ र आमालाई गुमाउनु पर्दाको पीडाले तर्साइरह्यो ।

चार्ली एकदम निराश भयो । आमाले सुनाएको सेतो भूतको सम्झनाले सताइरह्यो । ऊ एकदिन पत्रकार मारिया सहित सहरबाट गाउँ गयो । मारिया चार्लीको जीवनमा आधारित एक रिपोर्ताज बनाउन आतुर थिई । चार्ली सानोमा देखेको आफ्नो घरजग्गामा बनिरहेको बिल्डिङ र वरिपरिको नरिवलबारीमा पुग्यो । सुनौलो रोगनले लिपिएको बिल्डिङ को आँगन टेक्नेवित्तिकै बालापनमा देखेको दन्दनी झपुडी जलिरहेको दृष्य चार्लीको आँखामा नाच्न थाल्यो । 

चार्लीको शान्ति गीत गाउँदै एउटा गोरा, तालु खुइले मोटाघाटा मानिस बिल्डिङ घरको तलाबाट ओर्लियो । उसले चार्ली र मारियालाई दोश्रो तलाको सिटिङ रुममा लग्यो । सबैभन्दा पहिले चिसो तातो सोध्यो । मारियाले केही नखाने सङ्केत गरिन् बरु डायरी झिकिन् र कलम जोत्न थालिन् । चार्लीलाई एक प्याक रक्सी र चुरोट थमायो । तालुखुइलेले आफ्नो परिचय दियो, ऊ अवकाश प्राप्त जर्नेल अक्टर रहेछ । अक्टरको तालु ठम्याएर चार्ली एकाएक मौन भयो । सल्काउँदै नसल्काइएको चुरोट औँलाले चेपेर मुखमा पु¥याएर बसिरह्यो । मारिया अहिलेसम्म नपल्टिएको चार्लीको जीवन कहानीको भर्जिन पृष्ठ पल्टने अवसर गम्भीरतापूर्वक् पर्खिरहेकी थिई । अक्टरले नरम भाषामा चार्र्लीलाई परिचय मागिरह्यो ।

चार्लीले आफ्नो परिचय दिनै सकिरहेको थिएन । चार्लीका आँखा रसाएजस्तै गरे । चार्लीले आफूलाई सम्झायो, 
‘‘चार्ली !’’ 

चार्लीको मुखबाट शब्दमात्र खसेको के थियो, भूपू जर्नेल कयौँ वर्ष खोजेको मानिस भेटेजस्तै उत्तेजित हुँदै खुशीमा मुस्कुरायो–

‘‘वाउ चार्ली !!’’