Pageviews

Friday, July 8, 2011

सपना-३



निदाउनु खतरा छ मलाई
कि सपनामा सेक्सटोय जत्रो रोबोट आउँछ
त्यो एकाएक विशाल गिद्ध बन्छ निगुरादेन याक्पेको
उठाएर लैजान्छ अक्करको टुप्पामा कावा खाइरहेको
टुनीको रुखको सयौँ तलामा......

झिक्रा झिक्रीले कुँदेको गुँडमा लुच्छ मेरो अस्मिता
मेरो मुटुमा बेस्मारी ठुँग्छ ठुँग्छ र
उसको चुच्चोबाट झर्छ रगत तपतपी तमोर नदीमा…।

रोबोट यसरी सपनामा लाप्पा खेल्छ मसँग
मलाई मार्न/मलाई नामेट पार्न
जब म पराजित भएर मर्न आँटेको हुन्छु
तब सम्झिन्छु
विपनामा येबाले
मेरो माङ्गेनामा शीरमाथि छर्किएको पानी…
त्यही पानीले बौरिन्छु, मृत्युबाट घुर्ता हुन्छु
…ब्यूँझन्छु !

निदाउनु खतरा छ मलाई
क्षणभङ्गुर आँखा के चिम्लिएको हुन्छु मृतकले झैँ
सियोको टुप्पोजत्रो भाइरस पस्छ मेरो मस्तिष्कमा
त्यो एकाएक भैँसीजत्रो भइदिन्छ भ्वाँभ्वाँ कराउन थाल्छ
मेरो देशको निशाना छापजस्तो लामा लामा सिङले
हान्छ, हान्छ र गिदी नै छ्यालब्याल पारिदिन्छ मेरो
त्यही गिदीबाट कुम्भमेला उठ्छ लाख भैँसीको…

भाइरस यसरी आउँछ मलाई केहीछिनलाई भैँसी बनाउँछ
तब सम्झन्छु
विपनाका कुरा
ज्वरो आउँदा अक्षता च्यापेर फेदाङ्बाले औँला
मेरो टाउको वरिपरि घुमाएर फुः फुः चार पटक फुकिपठाएको…
त्यही अक्षताले मान्छे हुन्छु …ब्यूँझन्छु

निदाउनु खतरा छ मलाई
तै निदाउनु छ ल्यापटप शिरानी हालेर
तै निदाउनु छ मोबाइल खेलाउँदा खेलाउँदै
तै निदाउनु छ कानमा आइपोड घुसारेर…

Wednesday, July 6, 2011

जिन्दगी माइला

जिन्दगीमा…
जिन्दगी माइला गफ दिन्छौ
-तरुनीको
-देश/परदेशको

तीनतले कान्छी…कारबारी माइली…याङ्सिङबुङ ठूली…
राम्री राम्री…जिउडालका त
तिम्रै मात्र तरुनी…

आसाम, बर्मा, मेघालय, नागाल्याण्डमा त झन्
के भन्नु र…
तिमी तरुनीहरुको राजा हई !
पत्याउँ/नपत्याउँ ?

चौधसाल खाँदै गाउँबाट हराएको
कोइलाखातमा कोइला खन्दा-खन्दा
चौधसाल पछि कोइलाभन्दा कालो…
बूढो भएर फर्क्या छौ-
हाट टेक्नेवित्तिकै तन्नेरी पुगिहाल्छौ
छायाँ जस्तै तरुनीको पछि पछि
इण्डियन टेप घन्काएर हाटको शिरपुछार कुदिबस्छौ…

'जप्फु' पहाडको ठण्डीले सेक्पा सुकाएको तिमीलाई
सोल्टिने ठूलीले छानेको पैकारी जाँड चिसो हुन्छ
डोयाङ नदीको तिरमा आरा काट्दा काट्दा
आराधरानजस्तै हुइपा भएको तिमी
विहेभोजमा तरुनीअघिल्तिर 'रिकुटे' हुँ भन्छौ
उता तरुनीहरुको आँखा बोल्छ-
छट्टु पो हो कि जिन्दगी माइला…

गाउँमा दुःख छ नि त…
कुम्लोमा बोकेर अस्पताल लगेको विरामी
कुम्लोमै स्वर्गारोहण हुन्छ
तिमीचाहिँ गफ दिन्छौ
हप्तादिन रेलमा कुदेको/रेलभित्रै सिनेमा हेरेको…
बर्माको सिमानासम्म तानिएको
तिम्रै इँजारको कथा कहालीलाग्दो छ
च्याब्रुङ उल्टो भिरेर
राखी सावन्तको आइटम डान्स देखाउँछौ
पत्याउनु कहाँ तरुनीले…
ठुटे अङ्ग्रेजी मिसाएर चिठी पठाउँछौ…
फोटो पठाउँछौ
जम्मा दश भा.रु. धानेको पर्स पल्टाएर
यी मेरी फल्ना तरुनी मन पर्यो ? चाहिँ नभन ल !
तरुनीहरु कम चम्बु हुन्छन्
करिश्मा मानन्धरको पोस्टकार्ड पठाएर
काठमाडौ खिचेको मेरो फोटो है लेखिपठाउँछन् ।

गाउँ पछि पर्यो भन्छौ
मानिस काम नलाग्ने भन्छौ
ल यो त ठीक छ
तर भोजको लागि दाउरा चिर्नु जाऊँ भन्दा
अझै पाहुना पल्टिन्छौ
स्कुलको लागि सिमेन्टी बोक्न गुहार्दा
तुरुन्तै पखाला चलाउँछौ
ब्रम्हपुत्रको किनारमा गोठाला गर्दागर्दा
झन्नै गोपालवंशी नभएको तिमी
उल्टै नराम्री तरुनीहरुलाई कुराले हान्छौ…
माइलौ !
यसरी त कुन दिन उनीहरुको माइतीले खुकुरीले हान्छ हौ ।

'जिन्दगीमा…'
'जिन्दगीमा…'
'जिन्दगी'को उच्चारण जिन्दगीमा तिमीले जति कसले गरेको छ र !
जिन्दगीमा यही त एउटा राम्रो गरेको छौ
हजार बाटो बिराएर िन
आफ्नो गाउँ फर्केको छौ
जिन्दगी माइला !
यो मानेमा
तिमीलाई सलोट छ !
यहाँको पानीको…माटोको…हावाको…
च्यातेर साहुको छिप्पट तमसुक
उकासेको छौ बाजेबराजुको बेँशी खेत
यो ठीक गरेका छौ ।