
भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको
ढुङ्गा फुटाइरहेको
ऋणको सानो कुम्लो बोकेर
मुग्लानबाट गाउँ आइरहेको……
आस्थाको ढाका टोपी
क्रान्ति पहिल्याउने लामो गम्बुट
विचार पिउने ठूलो लुम्बा
किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा
झर्के थालमा चिप्लिएका औँलाका जीवन-छाप…
हिउँदो लाग्यो कि घर छोड्दा तिमीले
त्यहीँनेर त हुन्थ्यो मेरो एक मिल्दो साथी …
मेरो साथी !
दस वर्षको हुँदा हो
'फिक्चुके ! फिक्चुके !' भनेर तिम्रो नाम काड्दा
एक फडेङ हानेको थियौ
त्यतिखेर 'आमो' भनेर रोए पनि
तिमीलाई बुबा भनेर अलिअलि चिनेको थिएँ मैले…
तिम्रो ढाडजस्तो सडक टेकेर
सहर आइपुगेको दस वर्षमा…
सहरमा ढुङ्गा हान्दाहान्दै
सहरमा राँको बाल्दाबाल्दै
सहरको विरुद्ध नारा लगाउँदालगाउँदै
सहरको प्रेममा परिसकेको रहेछु
…बुबा भइसकेको रहेछु ।
बुबा !
आज म बुबा हँदा पो
तिमीलाई बल्ल चिनेँ हौ ।
बड़ो मार्मिक लाग्यो कबिता !
ReplyDeleteकविताले मनलाई छुनु पर्छ । भित्रभित्रै एउटा आन्दोलन ल्याउँछ हरेक असल कविताले । कवितामा यो गुण भावनाले हाल्छ । भावना बेगरको कविता सुकेको रुख हो । अहिले म आफ्नो बालाई सम्झिरहेको छु । सलाम माथिको कवितालाई ।
ReplyDelete