Pageviews

Thursday, July 5, 2012

सेतो भूत

स्व.स्वप्निल स्मृति

चार्लीको जन्म सुनखानीमा भयो । काँचो सुन ओसार्दाओसार्दै आमाले उसलाई नरिवलको फेदमा जन्माएको थियो । चार पाउ टेकेर घिस्रिने लहरा ऊ जब रुखको विरुवाजस्तै ठाडो उभिने सक्ने भयो तबदेखि चर्चको सदस्य र सुनखानीको कामदारमा गनियो । 

साताको शनिबार सेता घोडामा सेता पादरी र आसेपासे साबाथ मनाउन सुनखानीमा आउँथे, लामो प्रवचन दिन्थे । एकदिन प्रवचन सुनिरहेको बेला चार्लीलाई अचानक आमाले पछाडिबाट तानिन् र कटेरो चर्चबाट बाहिर निकालिन् । खत्तरनाक सर्पले पछाडिबाट लखेटे जस्तै गरी आमाले चार्लीलाई भगाउँदै टाढाको गाउँ पु¥याइन् र लामो श्वास तानिन् ।

आमाले एकटक उभेर गाउँको बीचको नरिवल नै नरिवलले घेरिएको नरिवलको पत्ताले छाएको झुपडी हेरिरहिन् । चार्लीले चाहिँ आमाको नरिवलजस्तो अनुहारलाई मात्र हेरिरह्यो । आमा आँशु पुछ्दै थचक्क बसिन् र छोरालाई आफ्नो घर सेतो भूतले कब्जा गरेर सुनखानीमा धपाएको बताउँदै रुन थालिन् ।

बेलाबेला सुनखानीमा गोरो अनुहार कराइको कालो टोपले निधारसम्म छोपेका, हरियो रङमा सेतो बुट्टा खुलेका पोशाक लगाएका, घोडचढीहरु आउँथे । उनीहरुले घोडाको पछिल्तिर बोरामा कुनै जङ्गली जीव जिउँदै पोका पारेर ल्याएका हुन्थे । सुनखानीको चट्टाने भूइँमा जथाभावी फ्याँक्दा घोडाको नरम ढाडमा चल्मलाई मात्र रहेको बोरा यता पल्टन्थ्यो उता पल्टन्थ्यो । कुनै युद्ध जितेजस्तो बोरामा लोड गरेर ठीक पारिएको काँचो सुन घोडामा राखेर जब अलप हुन्थे घोडचढीहरु तब सुनखानीका कामदारहरु निस्कन्थे र पल्टिरहेका बोराका मुख खोल्थे । चार्ली सेतो भूतहरु बोरामा हुनसक्ने अनुमान लगाउँथ्यो र हेरिबस्थ्यो तर बोराको गर्भाशयबाट त धमाधम काला, गठिला तर रक्तमुछेल नाङ्गा युवतीहरुमात्र जन्मन्थे । 

चार्ली प्रत्येक साबाथमा सेतो भूत दर्शन गर्न भाग्दै गाउँ जान्थ्यो तर उसले कहिल्यै सेतो भूत देख्न पाएन । बा¥ह वर्षको हुँदा एकदिन नरिवलको झुपडीघरमा दन्दनी आगो बलिरहेको देख्यो । हेर्नै नपाई सेतो भूतलाई आगोले खाइदिएकोमा दुःख मान्दै सुनखानी फक्र्यो । झुपडी जलेको खबर आमालाई सुनायो । आमाले त सुनको डल्लैडल्लाले चार्लीलाई हिर्काउन पो थाली । 

‘‘तेरो बुबालाई सेतो भूतले मा¥यो चार्ली !’’ 
यति भनेर आमा मूच्र्छा परिन् ।

एक हप्तापछि साबाथमा आमा र चार्ली भागेर फेरि घर हेर्न गाउँ पुगे । झुपडी जलाइएको ठाउँमा पक्की इँटाका पिलरहरु ठठ्याइँदै थिए । सेता छाला भएका, चश्मा लगाएका मानिसहरु कम्मरमा हात राखेर कालाहरुलाई काममा खटाइरहेका थिए । 

‘‘दुष्ट सेतो भूतलाई चिन, चार्ली ! त्यसलाई बाँकी नराख !’’ 

क्रोधले भरिपूर्ण आमाले चार्लीलाई काँधमा थपथपाइन् र फनक्क फर्केर जङ्गलतिर लागिन् । आमाको जङ्गल प्रवेशले अचम्म भयो चार्ली तर बाटोमा सेता घोडा हिन्हिनाउँदै आइरहेका सेता बन्दुकधारीहरु देखेर चार्ली पनि जङ्गल प्रवेश ग¥यो । 

रातभर चाहार्दा चाहार्दा नदी पारिपट्टि जङ्गलले ढाकिएको एउटा ओढारमा सानो उज्यालो देखियो । चार्ली र आमा नदी तरेर अक्करको ओढारमा पुग्दा भव्य नाचगान भइरहेको थियो । ठूलो आगोको धुनी बालेर वरिपरि काला नै काला मानिसहरु भरुवा बन्दुक, तीर, भाला, वर्षा, धनु काँडसँग उत्तेजित भएर नाचिरहेका थिए । चार्ली र आमाको अचानक आगमनले नाच रोकियो, हतियारधारीहरुले चार्ली र आमातिर आफ्ना हतियार सोझ्याए । उनीहरु मात्र कमाण्डरको आदेश चाहन्थे । 

‘‘फ्रिडम !’’ 

लामो दा¥ही जुँगा भएका, गोलीका माला लगाएका अग्ला, खाइलाग्दा, कालोवर्णको मिस्टर फ्रिडम देखा परे । चार्ली र आमालाई आफूतिर बोलाए । सबैले हतियार तल पारे ।

विहान अरु हतियारधारीसँगै चार्लीले परेड खेल्यो । कमाण्डरले धनुको ताँदोलाई औँलाले बजाउँदै, त्यसबाट धुन निकाल्दै गीत गायो, 

‘‘हामी चाहन्छौँ हाम्रो नरिवल 
हामी चाहन्छौँ सुन जस्तै सुनौलो विहानी
हामी हौँ कालो हिरा
को हो हाम्रो घरमा आगो लगाउने ?
हामीले चिनिसक्यौँ...’’
कमाण्डरले चार्लीलाई धनु दियो । चार्लीले पनि गाउन थाल्यो । 
‘‘हामीले चिनिसक्यौँ....’’

आमाको छेउमा गएर चार्लीले गीत दोहो¥यायो । कमाण्डर खुशीमा मुस्कुरायो । थोरै भए पनि चित्त बुझाई आमाले र छोरोलाई कमाण्डरतिरै फर्काइ दिई ।

चार्ली कालाहरुको फौजमा गायक बन्यो । जङ्गली पातबाट सुमधुर धुन निकाल्नु, क्रान्तिको गीत गाउनु र कालाहरुलाई जगाउनु उसको काम थियो । उसको पात–वादन र गायनले काला, सेता सबै लट्ठ भए । सुनखानी, गाउँ, सहर सबैतिर पुगेर उसले मानिसहरुलाई जगायो ।

सेता र कालाहरुबीच भीषण लडाइँ चल्यो । चार्लीको आमा लडाइँमा मरिन् । आफ्नो आमालाई गोली हान्ने कमाण्डरलाई चार्लीले फायर त ग¥यो तर गोलीले दुष्मनको टोप मात्र उड्यो र सेतो तालुखुइले टाउको देखियो । अर्को फायर खोल्दाखोल्दै टोप छोडेर भाग्यो तालुखुईले । 

लडाइँ दुई दशकभन्दा बढी लम्बिएला जस्तो भयो । सुनखानी, कलकारखाना गाउँ गाउँबाट कालाहरु उठे । लडाइँमा कसैको हार–जीत भन्दा पनि दुवै पक्ष सखाप होला जस्तो भयो । चार्लीले पात वादन र गायनमा शान्तिलाई पनि मिसाउन थाल्यो । उसले आमाको मृतआत्माको शान्तिका लागि गीत लेख्यो, 

एक गोलीले मरेको मानिस 
हजारौँ गोलीले नि बाँच्न सक्दैन भने 
मर्नु मार्न किन करोडौँ गोली खर्च गरी रहेछौँ !
मानिस आफैँ मर्न सक्षम छ !
मानिस आफैँ बाँच्न सक्षम छ !

युद्धरत दुई पक्षबीच समानताको सहमति भयो । सहमति हुनुमा चार्लीको शान्तिकामी गीति अभियानको अवश्य भूमिका थियो । काला र सेताहरुको ठेक्पा सरकार बन्यो । सरकारले चार्लीलाई शान्ति गीतका लागि दुई दर्जन तोप सलामी दिएर सम्मान ग¥यो । तर चार्लीको आत्मामा पटक्कै शान्ति थिएन । उसलाई आफ्नो बाल्यकालका काला स्मृति, लडाइँ र आमालाई गुमाउनु पर्दाको पीडाले तर्साइरह्यो ।

चार्ली एकदम निराश भयो । आमाले सुनाएको सेतो भूतको सम्झनाले सताइरह्यो । ऊ एकदिन पत्रकार मारिया सहित सहरबाट गाउँ गयो । मारिया चार्लीको जीवनमा आधारित एक रिपोर्ताज बनाउन आतुर थिई । चार्ली सानोमा देखेको आफ्नो घरजग्गामा बनिरहेको बिल्डिङ र वरिपरिको नरिवलबारीमा पुग्यो । सुनौलो रोगनले लिपिएको बिल्डिङ को आँगन टेक्नेवित्तिकै बालापनमा देखेको दन्दनी झपुडी जलिरहेको दृष्य चार्लीको आँखामा नाच्न थाल्यो । 

चार्लीको शान्ति गीत गाउँदै एउटा गोरा, तालु खुइले मोटाघाटा मानिस बिल्डिङ घरको तलाबाट ओर्लियो । उसले चार्ली र मारियालाई दोश्रो तलाको सिटिङ रुममा लग्यो । सबैभन्दा पहिले चिसो तातो सोध्यो । मारियाले केही नखाने सङ्केत गरिन् बरु डायरी झिकिन् र कलम जोत्न थालिन् । चार्लीलाई एक प्याक रक्सी र चुरोट थमायो । तालुखुइलेले आफ्नो परिचय दियो, ऊ अवकाश प्राप्त जर्नेल अक्टर रहेछ । अक्टरको तालु ठम्याएर चार्ली एकाएक मौन भयो । सल्काउँदै नसल्काइएको चुरोट औँलाले चेपेर मुखमा पु¥याएर बसिरह्यो । मारिया अहिलेसम्म नपल्टिएको चार्लीको जीवन कहानीको भर्जिन पृष्ठ पल्टने अवसर गम्भीरतापूर्वक् पर्खिरहेकी थिई । अक्टरले नरम भाषामा चार्र्लीलाई परिचय मागिरह्यो ।

चार्लीले आफ्नो परिचय दिनै सकिरहेको थिएन । चार्लीका आँखा रसाएजस्तै गरे । चार्लीले आफूलाई सम्झायो, 
‘‘चार्ली !’’ 

चार्लीको मुखबाट शब्दमात्र खसेको के थियो, भूपू जर्नेल कयौँ वर्ष खोजेको मानिस भेटेजस्तै उत्तेजित हुँदै खुशीमा मुस्कुरायो–

‘‘वाउ चार्ली !!’’

No comments:

Post a Comment