Pageviews

Friday, January 29, 2010

गुरुकुलमा कविताको जहाज





ओ मेरो देश
म हङकङ भइसकेछु

कि मेरो सिङ्गो शरीरमा
गन्हाउन थालेको छ आइडी

केही वर्षअघि 'डिपेन्डेन्ट'मा हङकङ पुगेका कवि हाङयुग अज्ञातले काठमाडौ गुरुकुलमा गतः वर्षको एक शनिबार यो कविता वाचन गर्दा उपस्थित श्रोता निक्कै भावुक भए । नहुन् पनि कसरी वाचित एकदर्जन एक कवितामा हङकङ दुरुस्तै उत्रिएपछि । हङकङ २१ औँ शताब्दीका मानिसहरुको स्वप्न सहर हो । त्यही स्वप्न सहरमा आधा दशक कटाउन लागेका कवि अज्ञातले त्यसलाई थप खुलासा गरे

कुनै लाहुरेको गफमा सुनेजस्तो
यो हङकङ
साँच्चैमा सुन्दर र सुखी छैन

यहाँका अग्ला भवनहरुमा
धेरै होँचा विचारहरु बस्तछन्
यहाँका सफा सडकहरुमा धेरै फोहोरी नियतहरु हिँड्दछन् ।

कवि अज्ञात गुरुकुलमा 'हङकङ अपरेसन'का लागि भने आएका थिएनन् । नेपाली साहित्यमा पचासको दशकमा चलेको सृजनशील अराजकता साहित्यिक आन्दोलनको नवौँ वर्ष गाँठको अवसरमा एकल कविता वाचन गर्दै थिए । सिर्जनशील अराजकताका एक अभियान्ता संस्थापक भएको नाताले यो मौका दिएका थिए कवि राजन मुकारुङ र उपेन्द्र सुब्बाले
। वर्षगाँठहरु 'सिण्डकेट प्रणाली'मा मनाउने योजनामुताविक हो या के हो ? दुई अभियान्ता अज्ञातकै सहपात्रको भूमिकामा मात्र देखिँदा त्यहाँ हल्का गाइगुइँ त भएको थिएन तर रु एक सय पचासको टिकटको अर्धकट्टि लिएका कविताप्रेमीहरुले खचाखच भरिएको हलमा कवि अज्ञातले राम्रैरी हल्लाए ।
श्रोतावृन्द सृजनशील अराजकताका नयाँ ब्राण्डका कविता सुन्न लालायित र पुराना कविता पो आइलाग्ने हुन् कि भनेर भयभित थिए । कवि अज्ञातको पालो प्रशस्त ठट्टाका साथ कहिले हँसाए त कहिले हङकङे दुःखले रुवाए र कतिपयलाई त 'नश्लीय बोधता'को आडमा अश्लील विम्बका कविता-पङ्त्ति दोहोर्याइदोहोर्याइ सुनाएर भलाद्मी श्रोता मनमा दिगमिग उत्पन्न गराए ।
अग्रज कवि श्रवण मुकारुङले 'नङ र निरङ्कुशता' अज्ञातको छोटो कविता वाचन गरेर कार्यक्रमलाई 'पम्प' हाल्नुअघि सानो ठट्टा 'म धेरै बोल्दिन सल्मान खाँन भनेको त काँदर खाँन पो परेछ भन्नु होला', मात्र के भनेका थिए कवि अज्ञातले कार्यक्रम अवधिभर ठट्टा गरिरहे ।
कवि अज्ञातले जति पनि वाचन गरे कविता ती सबै वास्तवमै ठट्टा थिए तर त्यसभित्रै बौद्धिकता, तर्क, दर्शन, कला, पक्षधरता र सौन्दर्यशास्त्र मुस्कुराइरहेका थिए ।
मुःजिक्नाको कविता एउटा शक्तिशाली साँस्कृतिक कविता जसलाई शुरुमै उनले वाचन गरे जसले श्रोतामा यति गहिरो छाप छोड्यो कि त्यो गुरुकुलमा कयौँ शताब्दीसम्म गुन्जिरहने छ । त्यसपछि वाचित उनका बाँकी कविता त्यस कविताअघि कम शक्तिशाली ठहरिए तर शक्तिशाली थिए ।

सोल्टिज्यूहरुले ठीकै भनेछन्
म पूर्णेको जून हुँ
म मखमली फूल हुँ
मनमनै कुरा गरेर
ऐनाले मुख छोपेर
अन्तिममा मुःजिक्ना बेस्सरी लजाई
सिङजाङगो फूलजस्तै लजाई ।

यूवा मेलाबाट ल्याएको ऐनामा आफ्नो अनुहार हेर्दा चल्तीफिर्तीका हिरोइन रेखा थापा, रेजिना उप्रेती, विपना थापालगायतका अनुहारजस्तो आफ्नो अनुहार नदेख्दा शुरुमा मुःजिक्ना एउटी लिम्बूनी केटीलाई हीनताबोध हुन्छ तर अन्तमा मुःजिक्ना सृजनशील अराजकताको नश्लीय बोधताको दर्शनमा पुग्छिन् र आफूलाई पूर्णेको जूनजस्तै सुन्दर पहिचान गर्छिन् । के मुःजिक्नाले उत्तरआधुनिक ऐना हेर्नु नै ठूलो गल्ती गरेकी थिइन् ? तर ऐना हेरिसकेपछि मुःजिक्नाले आफूलाई जसरी पहिचान गरेर साँस्कृतिक साम्राज्यवादलाई चुनौती दिइन् त्यो तारिफलाग्दो छ ।
मुःजिक्नाको कविता सृजनशील अराजकताको सबैभन्दा शक्तिशाली प्रतिनिधि कविता हो । नश्लीय बोधतालाई त्यति शक्तिशाली ढंगले सृजनशील अराजकहरुले प्रयोग गरेको अन्तिम कविता पनि यहीँ हो । सृजनशील अराजकहरुको आफ्नो अब्बल सौन्दर्यशास्त्रीय कविताको रुपमा यसलाई स्थापित गर्न आवश्यक छ ।
उपेन्द्र सुब्बा, राजन मुकारुङ अनि हाङयुग सृजनशील अराजकताका अभियान्ता हुन् । विचारका दृष्टिले हाङयुगका कविता अघिल्ला कृतिका कविताहरुभन्दा धेरै मूर्त र पक्षधरता लिएर आएका देखिन्छन् । यो कसैको अपेक्षा र प्रार्थना नभएर कवि स्वयंको विवशता किन होभने उनले हङकङ पुगेपछि लेखेका कविता 'बिग्रेको कम्युनिस्ट कवि'ले लेखेकोभन्दा बढी प्रगतिशील हुन थालेका छन् ।
प्राथमिकता के लाई दिने ? लेखकको आफ्नै रणनीति हुन्छ । हाङ्युकले आफ्नो पछिल्लो लेखनमा पूँजीवादले जन्माएको समस्या र पीडाहरुको रङलाई मज्जाले लिप्न थालेका छन् आफ्ना कवितामा,

यो पुरानो बस्तीहरुमा आइपुग्नलाई
उसका कविताहरुले दिनहुँ
बाटोमा धेरैधेरै बस्तुहरुसित साक्षात्कार गर्नुपर्छ
दिनहुँ फकाउँछन् किताब फालेर म्याडोनाल्डमा वर्गर बेच्नु
दिनहुँ फकाउँछन् यत्तै यो सहरको कुनै आलिशान फ्लैटमा बस्नु
दिनहुँ फकाउँछन् साउती मार्दै कस्मेटिक पसलका सामाग्रीहरुले
दिनहुँ फकाउँछन् पसलमा झुण्डेका डिस्काउण्टका पोष्टरहरुले-
यसकारण पनि
तु फू मा जङको एउटै चालमा अड्केको छ

समुद्रमाथिकै डुङ्गामा बस्ने, खाने जिविकोपार्जन गर्ने हङकङे आदिवासी जातिसँग सम्बन्धित कविता हो यो । कयौँपल्ट हङकङ सरकारले घर बनाएर आधुनिक सभ्यतामा घुलमिल गर्न लगाए पनि समुद्रको डुङ्गामै फर्कने यी जातिको चाल पूँजीवादी खेल माःजङमा अड्केको छ । विश्वका आदिवासीहरुको चाल यस्ता थुप्रै पुँजीवादी खेलमा अड्केकै छ ।
त्यस्तै उनको अर्को कविता मोहम्मद आलमको कविताले पनि पूँजीवादलाई गजब्बले व्यङ्ग्य गरेको छ । वास्तवमा यो कविता होइन कथा हो पाकिस्तानी बूढो मोहम्मदको जो आधुनिक सहर हङकङको स्ट्रिटमा बसेर जीवनको भीख मागिरहेछ । सत्तरी वर्षीय मोहम्मद रावलपिण्डीबाट अङ्ग्रेजमा भर्ती पाएर हङकङ आइपुगेको ४० वर्ष भएको छ । हङकङको परिवारिक संरचनाअनुसार वृद्धावास्थामा परिवारबाट स्वभाविक टुकिएर मोहम्मदको जीवनको बूढ्यौली उमेर हेनेसी रोडमा खसेको छ र जीवनको याचना गरिरहेको छ । आइडी डिपेन्डेन्टमा हङकङ उडेका झण्डै चालिस पुग्न आँटेका कवि अज्ञात उनलाई भेट्दा हतारमा तीस वर्ष बढी यसरी सोचिपठाउँछन्,

मैले पनि मोहम्मद आलमकै विवशता बेहोर्नुपर्नेछ
जब यौटा क्युरियो सामान बेच्दै
न्यूजिलैण्डबाट हङकङ घुम्न आएको
कुनै पर्यटकले ुओ तेिाजङ !ु भन्दै
थमाउने छ एक डलर
तब धेरै ढिला भइसकेको हुनेछ ।
आइडीमा हङकङ पुगेका, यहाँका आदिवासी संस्कृतिमा बाँचेका, विदेशिएकाहरुलाई कसरी हङकङले हेनेसी रोडमा पुर्याउँछ यो कविताले बकेको छ ।
हङकङ पुगेपछि अराजक कवि अज्ञात बढी सृजनशील र सम्बेदनशील हुन थालेको गुरुकुलमा वाचित उनका कविताले छनक दिन्छ । वाचनका क्रममा उनले भरपुर ठट्टा गरे त्यसको मनोवैज्ञानिक पक्ष धेरथोर त्यो पनि हो । समालोचक डा गोविन्दराज भट्टराईले उनका कवितालाई दामी को संज्ञा दिएका थिए वाचनअघि एक कार्यपत्र प्रस्तुत गर्दै । त्यो ठीकैजस्तो लाग्यो जब कवि अज्ञातले पाँच-पाँच सय हङकङ डलरका दुईवटा कविता पनि प्रस्तुत गरे । डा. भट्टराईले दर्शन कला र विचारको अब्बल प्रयोक्ताको संज्ञा पनि दिए उनलाई । हुन पनि कवि अज्ञात आफ्नो कविता वाचनका क्रममा साँच्चिकै कलात्मक देखिए । उपस्थित श्रोताहरुले भने उनलाई झेली कविको अर्को संज्ञा पनि थपिदिए किनभने उनले आफ्ना कवितामा आएका कतिपय प्रसङ्गहरुमा तुरुन्तै तात्कालिकता जोडे । म मालबाहक जहाज हुँ कवितामा केही कवि-लेखक नामहरु थिए वाचनको क्रममा उनले कार्यक्रममा उपस्थित बरिश्ठ हुँ भन्ने सबै कविहरुको नामलाई पनि मिलाइमिलाई उच्चारण गरिदिए र स्वयं कविहरुलाई हँसाइदिए ।
वास्तवमा उनको एकल कविता वाचन एकल कविता वाचनमाथिकै व्यङ्ग्य थियो । हरेक महिना एक दिन मिनरल वाटरसँगै एकल कविता वाचन हुने गुरुकुलमा उनले अन्तिमतिर खुट्टा पसारिपसारी कविता सुनाए प्रायः लामालामा कविता भएकाले होला उनी निक्कै थाकिसकेका थिए जस्तो कि उनले कवितैमा भने,


हज्जारौँहज्जार माइलको यात्रा गर्दै
यो बन्दरगाहमा
मानिसहरुका निम्ति
विचारका कण्टेनरहरु बोकेर
आइपुगेको यौटा मालबाहक जहाज मात्र
……
मैलै भर्खरै यो बन्दरगाहमा
कविताहरुको कण्टेनर ओरालेको छु
र थाकेर छालहरुसित हिँड्दाहिँड्दा……

(निकै पुरानो लेख है यो)

2 comments:

  1. स्वोप्निल,नाकिमा र विपल पनि मन्त्रमुग्ध भएकाथिए

    ReplyDelete
  2. swapnil ji tapai ko yoo article onlineliteratures.com ma chappan amilchha hola?

    thank u

    ReplyDelete