
आज दुई हजार वर्षपछि
एउटा ईश्वर बल्ल लखेटियो यहाँबाट…
लुम्बिनी
मक्का
जेरुसलम
गङ्गा…
केही होइन
मानी दिऊँ हिजोसम्म यही थियो
संसारमै सबैभन्दा पवित्र तीर्थस्थल
तागेरानिङ्वा भुमाङ
परमेश्वर
अल्लाह
नाथेहरु हुन
भनिदिऊँ यहीभित्रै हिजोसम्म साक्षात् थियो
उनीहरुको समेत भगवान् !
हिजो-
ज-जसले पाए दर्शन
तिनीहरु सीपालु भए
मूर्ति त्रिशुल घण्ट उचाल्न
ज-जसले थापे आशीर्वाद
तिनीहरु माहिर भए
खुँडा बन्चरो बन्दुक चलाउन
ज-जसले पाए 'तथास्तु' उनीहरुले-
मातृबलात्कार र बंशहत्याशिवाय
सबै-सबै गरे पूण्य काम…
ज-जसले पाए सराप
तिनीहरु स्वभाविक बौलाए
र जङगल पसे
देववाणीको बखिर्लाप गरे जो-जोल्ले
तिनीहरु 'नरकलोक एक्प्रेस'मा कोचिएर
सीधै रवाना भए पाताल रेलस्टेशन …
तर आज दुई हजार वर्षपछि
एउटा ईश्वर धन्न लखेटियो यहाँबाट…
दुई हजार वर्षअघि
एउटा फुकिढल फिरिङ्गीले
मेरो पुर्खालाई त्रिशुलले घोचिघोची मारिदियो
गाडिदियो लासलाई घरको मूलखम्बानेर
र त्रिशुलमा लत्पितिएको रगत चाट्दै
आफूलाई आइन्दा ईश्वर घोषणा गरेको थियो…
त्यसरी शीलान्यास भयो दरबारको
तब घडेरीमा पुरियो मेरो सार्वभौमसत्ता
तब गारोमा मिलाएर खापियो मेरो स्वतन्त्रता
तब सिमेन्टीका भित्तामा लिपियो मेरो आवाज
तब यो देश कुरुप कुरुप
अति विद्रुप विद्रुप हुँदै गयो…
तर आज दुई हजार वर्षपछि
त्यो ईश्वर नाङ्गै लखेटियो यहाँबाट…
No comments:
Post a Comment