Pageviews

Monday, December 20, 2010

कथा-घुमाउने चौतारीमा काभ्राको



उहिले यहाँ
ठू…लो काभ्राको बोट थिएछ नाति...
......
चौतारीमा पिँडालुपातको भारी बिसाएर
कथाको तान बुन्न थाल्नु भो युमाले;
......
तीन्टा ला…मो ला…मो नाम्लोले नि नभ्याउने
कस्ता बौलाहा आँधीहुरीले नहल्लने
बाढी-पहिरोले बगाउन नसक्ने
काभ्राको बोट- त्यो !
जीवनको मैनाम रे गाउँलेहरुको
शक्तिको मुरुम्सित्लाङ रे बस्तीहरुको ।
......
झोलुङ्गे पुलजस्तो आकासलाई छुने टुप्पामा जून झुल्किन्थ्यो...
दिनहरु नाप्थे त्यसको छायाँमा खेतालाहरु...
पात खस्दा उभौली अरे
पात पलाउँदा उधौली अरे
रैथानेहरुको आदिम सभ्यता भन्नु त
त्यहीँ काभ्राको रुख हो रे !
.......
दशतिर झाँगिएका हाँगाहरु
फक्ताङलुङ हिमाल पो ताकेको हौ ! ठूलो हाँगाले
सत्रतिर ओच्छिएर जराहरु
चोःत्लुङतिर मोडिएको हौ ! मूलजरा
हातमा हात समाई हा कि हा…गोलाकार
गोडा-चालमा गोडा-चाल मिलाई भिरेर च्याब्रुङ बुरुङ… बुरुङ…
प्रेमको महा-उत्सव काभ्राको फेदमा...
नाति !
काभ्राको जरानेर मगमगाउँथेछ आदिम साम्यवाद
काभ्राको टुप्पा भन्नु त कर्याङकुरुङहरुको साङ्ग्रीला राज्य रे !

...तर सुन नाति !
विक्रम सम्वत् कति सालमा हो, उहि…ले;
तिम्रो बाजेको बाजे-को पनि बाजेले देखेछ सपना
लुम्…लुम्…काड्याङ…कुदुङदुङ दुङ… दुङ…हा?याक् !
चट्याङले काभ्रा ढलेको दुःस्वप्न !
विपनामा त काभ्रामाथि उम्रेको थियो रे
पीपलको तीनपाते विरुवा पो जङ्गली बिरालोको गुहुमा
.......
हावा आइरहेछ चौतारीमा सिरिरिरिरि…रिरिरि…रिरि…रि...
कथादेशमा छौँ जो युमा-नाति
कि म कथा सुन्दासुन्दै आफैँ काभ्राको रुख भइसकेको छु
त्यसपछि के… भएछ हँ… युमा ?
......
केमात्र भएन तब-
काभ्रामा जरा हाल्यो नि पिपलले
काभ्रा मर्दै गयो बिस्तारै
पीपल ठूलो-ठूलो हुँदै गयो
एकदिन-
बोक्रा र धोन्द्रा मात्र भयो काभ्रा
काभ्राको धोन्द्राभित्र अस्मट जोवन भयो पिपल पो
तर काभ्रा थिचिमारेर हावामा नाचिबस्दा पिपल
यो त काभ्रै हो भन्ठाने काभ्राका सन्तानहरुले !
........
अँ सुन् ! काभ्रा ढलेपछि त
ढल्यो रे तन्नेरी तरुनीको हिमालजस्ता मुस्कान
खेलौनासरीमात्र भए रे नानीहरु
बुढापाकाका मुन्धुम ढल्यो रे
मन ढल्यो रे देश ढल्यो रे
मात्र दुःखले जन्म लियो गाउँमा
मात्र भोक तिर्खाले अवतार लियो देशमा;
........
पिपलले काभ्रा थिचिमारेपिछ
सुरु भको रे थिचोमिचो र शोषणदमनको संस्कृति
.....
पिपल पहेँलै झाँगिदै गएपछि
बनाइएछ वरिपरि यो घुमाउने चौतारी
लगाइएछ नरमेध महायज्ञ
र रगत चढाउन थालिएछ प्रत्येक विहान
त्यहीँबाट सुरुभएको रे नाति ! इतिहास ईष्र्या डाहीको…
......
जब काभ्राको रुखमा शुरु भयो इतिहास पिपलको
तब मानिसमा घृणाको जन्म भएको रहेछ
रिसको जन्म भएको रहेछ
युद्धको जन्म भएको रहेछ
… … …
ना… ति…
यसरी लामो श्वास तानेर-
कथा केही छिन बिसाउनुभयो युमाले !
......
कथा तमरभन्दा लामो छ
सुँगुरलाई चारो दिनेबेला भो जाऊँ हिँड घर…
......
भारी बोक्ने पालो मेरो थियो
मेरो अघिअघि लौरो टेक्दै युमा कथा भनि नै रहनुभको थियो-

...नाति ! त्यो चौतारीमा
दौडँदादौडँदैका कति घोडचढी तानाशाहहरु रोकिए र थकाइ मारे
पिपलको जरामा बाँधेर घोडाहरु
मृत्युको कहाँलीलाग्दा सुसेली हाले…।
… … …
नाति ! त्यो घुमाउने चौतारीमा
जति थकाइ मेटेपिन
हाम्रो थकाइ मर्दैन है !…
… … …
नाति ! त्यहीँ पिपलको हाँगामा हो
तिम्रो चेप्जु बाजेलाई झुण्ड्याएर भाला रोपिएको
त्यहीँ झरिल्लो ढुङ्गा हो
दुई जिउकी तिम्रो चेप्जु बोजूलाई
उचाल्दै पछार्दै भुँडी फोरेर मारिएको…
(2065\66)

No comments:

Post a Comment