Pageviews

Tuesday, August 21, 2012

सीतादेवी नेपाली...

स्वप्निल स्मृति

भनिन्छ, सीतादेवी नेपाली
मात्र नेपाली हुन् ।

ठमेलको मसाज सेन्टरमा होस् या
लोकतन्त्र चौकको कुनै नयाँ हवेलीमा
नाङ्गो, घोप्टो, लम्पसार लोकतन्त्रलाई
घोडा चढेर तेल घसिरहेकी हुन्छिन्
लोकतन्त्रको लागि
जुनसुकै बेला नाङ्गो हुन तैयार छिन् ।

सीतादेवी नेपाली
बेलामौका परिचय बदलिरहन्छिन्
कहिले सीतादेवी सुब्बा
कहिले सीतादेवी राई
कहिले सीतादेवी शर्मा
कहिले सीतादेवी चौधरी
...भनिन्छ, 
जस्ता पुरुषसँग ओछ्यान साटे पनि 
एक नेपाली हुन् सीतादेवी !’’

सीतादेवी नेपाली
हप्ताहप्ता ठेगाना बदलिरहन्छिन्
कहिले बल्खु
कहिले सानेपा
कहिले कोटेश्वर
कहिले पूर्व
कहिले पश्चिम
.....भनिन्छ, सीतादेवीलाई सीमानै कटाउँदा पनि
नेपाल त तिनको छातीमै छ !

सीतादेवीलाई पार्टी/विचार/राजनीति/सत्ता मतलब छैन केहीको
मतलब छ फगत् आफ्नो लिपस्टिकको
यो देशका प्रायःप्रायः पार्टीका झण्डामा 
सीतादेवीकै ओठका लिपस्टिकको रङ छ
यो देशका प्रायःप्रायः नेताका ओठमा
सीतादेवीको ओठको जोडदार दस्तखत छ ।

सीतादेवी खासमा को हुन् !
असनमा पर्यटकलाई राष्ट्रिय झण्डा बेच्ने व्यापारीलाई थाहा छैन
बसपार्कमा सीतादेवीकै पकेट मार्ने पकेटमारलाई थाहा छैन
सीतादेवीलाई पक्रने तर
उल्टै घुस मागेर जुस खुवाएर ठमेलको बजारमा निर्वाध छोडिदिने
सुरक्षा निकायलाई पनि थाहा छैन ।

कसैलाई थाहा छ कि सीतादेवी को हुन् ?!
कसकी छोरी, बुहारी, दिदी बहिनी, श्रीमति, सोल्टिनी हुन् !
धर्म के हो मस्जिद, मन्दिर, चर्च, गुम्बा जता पनि भगवान्हरुको प्रिय छिन्
जात के हो ?
कता हो थातथलो ?

कि ब्वाँसाहरुको राज्यमा सीतादेवीलाई
कुनै देवताले आकाशबाट सिधै उपहार खसालिदिएका हुन् ?  



{२०६९, गरिमा मासिकको साउन अङ्कमा प्रकाशित छ।}

5 comments:

  1. दाई म त यो कविताले पागल पो भए, कस्तो कलात्मक बिम्ब ! अब थाहा भो कवी आफु त पागल हुन सक्छ-सक्छ, अरुलाई पनि पागल बनाउने क्षमता राख्दछ ।

    ReplyDelete
    Replies
    1. धन्यवाद्, प्रतिक्रियाको लागि प्रीय भाइ।

      Delete
  2. सीतादेवी नेपाली
    बेलामौका परिचय बदलिरहन्छिन्
    कहिले सीतादेवी सुब्बा
    कहिले सीतादेवी राई
    कहिले सीतादेवी शर्मा
    कहिले सीतादेवी चौधरी
    ...भनिन्छ,
    जस्ता पुरुषसँग ओछ्यान साटे पनि
    एक नेपाली हुन् सीतादेवी !’’


    सीतादेवी नेपाली
    हप्ताहप्ता ठेगाना बदलिरहन्छिन्
    कहिले बल्खु
    कहिले सानेपा
    कहिले कोटेश्वर
    कहिले पूर्व
    कहिले पश्चिम
    .....भनिन्छ, सीतादेवीलाई सीमानै कटाउँदा पनि
    नेपाल त तिनको छातीमै छ !

    ReplyDelete
    Replies
    1. धन्यवाद् परम साथी चन्द्र जी !

      Delete
  3. स्वप्निल स्मृति दाई ! कविताले उठाएको मुद्दा र स्पष्ट बिचारको कारणले कविता सुन्दर लाग्यो !

    ReplyDelete