स्वप्निल स्मृति
संसारको सबैभन्दा सरल काम
ज्ञात/अज्ञात सहिदहरुप्रति
एक मिनेट मौन धारण गर्नु हो
सभा, सेमिनार या पोलिट्ब्युरोहरुमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्याराहरु
सहिदहरुको श्रद्धाञ्जलीमा मौनधारण गरिरहेछन् ।
तस्करले जन्मदिनमा उपहार थमाएको
हिराजडित नाडी घडीमा उफ्रिरहेको सेकेण्ड काँटासँगै
गद्दार सरकार एक मिनेट कला प्रदर्शन गरिरहेछ
सहिदको रगत लत्पतिएको राष्ट्रिय झण्डा उचालेर
सहिदको आस्था–समाधिलाई सख्त टेकेर
राष्ट्रसेवकहरु मौन मौन
गम्भीर गम्भीर उभिरहेछन्...
संसारको सबैभन्दा कठोर काम
ज्ञात/अज्ञात सहिदहरुप्रति
एक मिनेट मौन धारण गर्नु हो
सार्वजनिक शौचालय वरिपरि
या सहर, सडक या गाऊँ, गल्ली, देउरालीमा
दुई हातले पेट थिचेर
मेरो देश
एक मिनेट उभिरहेछ ।
एक मिनेटमा
सहिद–स्वप्नले धर्ती विचरण गरिसक्छ
एक मिनेट भूइँचालो आयो भने सृष्टि अदलबदल हुन्छ
शासकहरुले ठण्डा दिमागले एक मिनेट सोचेको भए
इतिहास यस्तो हुँदैनथ्यो
हत्या गरिनुअघि सहिदहरुलाई
एक सेकेण्ड बाँच्ने फुर्सद दिइएन
एक सेकेण्ड गडबढ भएर
योद्धाहरु भुर्कुट भए...
मेरो हिमाल सृष्टिकालदेखि मौनधारण गरिरहेछ
यो एक मिनेट मौन धारणले के हुन्छ ?
हर एक मिनेट मौनधारणहरुमा
आधा मिनेट मलाई हाँस उठ्छ
आधा मिनेट मेरो मन रुन्छ ।
संसारको सबैभन्दा उत्कृष्ट नाटक
मेरो देशमा
ज्ञात/अज्ञात सहिदहरुप्रति हुने
एक मिनेट मौन धारण हो ।
No comments:
Post a Comment