मेरो छोरा !
तिमी हर प्रश्नका लागि जन्मशिद्ध हकदार हौ ।
त्यो बुढो हिमाल तिम्रो पुर्खा हो
त्यो गहिरो आकाश तिम्रो इच्छा हो
एक रुख अर्को रुख उफ्रिहिँड्ने
यो चञ्चले बतास तिम्रो प्राण हो
डोरी झुण्ड्याएजस्ता पारि पहाडका ती नागबेली बाटाहरु
तिम्रा स्वप्नहरु हुन् ।
तिम्रा दुई आँखा र
ती अनगिन्ती ताराहरु एउटै सन्तान हुन्
यो हिउँदभरिको हिउँ
यो ऋतुभरिको फूल
यो छिनभरिको इन्द्रेणी
र मैले तिम्रो गलामा दिएको पलभरिको चुम्बन
हाम्रो जीवन हो ।
तिमीलाई जसले जन्मायो, हुर्कायो
र यति कलकलाउँदो बनायो
ऊ धर्ती हो
ऊ तिम्रो अनि मेरो पनि आमा हो
मेरो प्यारो छोरा !
तिमी हर प्रश्नका लागि तयार होऊ
अफसोच !
पन्ध्र दिन हराउने पन्ध्र दिन उदाउने
त्यो बाँसघारीमाथिको जून ?!
क्यै क्यै नसोध...
त्यो किन कहिले दिउँसै उदाउँछ ?
त्यो किन कहिले हँसिया जस्तो हुन्छ ?
लाटा ! त्यो त्यस्तै हो..
किन ? भनेँ–
त्यो तिम्रो बुबाले बैँशमा गुमाएको प्रेम हो ।
No comments:
Post a Comment