Pageviews

Tuesday, December 7, 2010

पश्चिम क्षितिजबाट...



क्षितिजपारि आकाश गर्जिन्दा
क्षितिजपारि बिजुली चम्किँदा
आमालाई सम्झिन्छु,

एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर...

त्योभन्दा पर मेरो देश छैन
त्योभन्दा उता मानिसको बस्ती छैन
एकटक हेरिरहन्छु -
घरतरुलको लहराले घोचा नाघेर जंगलतिर हेरिरहेझैँ...
आँगनमा बिस्कुन उठाउँदै छन् कि आमा
हाँडीमा मकै-भटमास भुट्दै छन् कि आमा
जंगलमा मर्चाको दबाइ खोज्दैछन् कि आमा

सपनामा पनि लखेट्छ सर्पले
विपनामा पनि लेखेट्छ सर्पले
'आमा !'भनेर ब्यूँझन्छु
घरमा सर्पदेवता रिस्सियो िक !
विपनामा पनि रुख ढल्छ यो देशमा
सपनामा पनि रुख ढल्छ यो देशमा
गाउँमा आमाअघिल्तिर झारफुक गर्दै बसेको छ कि देवारी
खरानी ओढेर सेताम्यै खोक्दै रगत बसेकी छिन् कि अगेनोनेर आमा

दुःखको रौँ गन्दागन्दा
गनेको छुइना-
घर छोडेको कति वर्ष भो ?
ए...त्यो यासोक बजारमा
सङ्पाङ्भे तन्नेरीहरुसँगआमा धाननाच्न उभिँदा
म छोरा शर्माएको हिजोजस्तो लाग्छ...

हाट जाने बाटो आमाले चिनाउनुभो
मूलबाटो बाटो आमाले चिनाउनुभो
लाठे भएपछिको एकदिन
पश्चिमतर्फ भन्किगएका माहुरीहरु देखाएर
'लु भन्किगए है !' भनेर
विरक्तिन्दै माहुरी भन्किनुको अर्थ चिनाउनुभो...
बा ! त्यही माहुरीहरुसँगै मेरो आत्मा भन्किएर
म यो ठाउँमा आइपुगेको हो !

यो अर्कैको देशबाट
सुदुरबाट
पूर्वीक्षितिजतिर फर्किँदा
पश्चिम क्षितिजसम्म
मेरो छायाँको पुल टाँगिन्छ लामो न लामो...
स्मृतिको तान टाँगिन्छ लामो न लामो ...

पर्वतको चुचुरामाथि उदाउँदा घाम
पर्वतको चुचुरामाथि उदाउँदा जून
बादलमा फक्रिएर आउँछ मेरी आमाको सूनको फूल...
मेरो अनुहारमा चम्किएर आउँछ मेरी आमाको अनुहारको प्रतिविम्ब
कि मलाई 'मानिस' बनाउन भनी
बुबाले बेचेको मेरी आमाका त्यो सुनको फूल
आकाशमा घामजून भएछ...

सम्झिन्छु-
आमा र बुबा जिस्किदाखेिर
आमाको काखमा टाँसिदै रोएको हिजोजस्तो लाग्छ
'तिमीलाई छोडेर पोइला जान्छु अनि कोसँग सुत्छस्'
आमाले मलाई त्यतिकै डर देखाएको मेरो आँखामा झलझली छ
कि म जीवनका सम्बन्धहरु टुक्रिएर
यो ठाउँमा पोइला आएको हुँ ?
कि म नजाने बाटो हिँडेर
नफर्किने बस्तीमा आइपुगेको हुँ ?

अर्कै देशबाट...टाढाबाट...
एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर म...
मेरी आमासँग नभेटेको कति भो ?
कसरी यो देश यति सुदूर भो ?
कि यो देशबाटमेरो देश पुग्न
यो दुई दिनको जिन्दगीमा
दुई दिन दुई रात लगाउँछ रात्रीबसले,
त्योभन्दा पर मेरो देश छैन
त्योभन्दा पर मेरो जानेठाउँ छैन ।

लिम्बूभाषाबाट अनुदित)

No comments:

Post a Comment