Pageviews
Wednesday, April 20, 2011
शङ्खेकिरा
म हुँ शङ्खेकिरा…
ढि…लो गरी चिप्लिरहेको…
मेरुदण्डमा भारी जिन्दगी बोकेको छु…
आम्मममम…… कति भारी !
पेदु पेदु भएर…
थिचिएर…िसंगो "युनिभस्र'ले पृथ्वी माथिको अचानोमा
हिँडिरहे छु
तर युनिभस्र त होइन मैले ढाँटेको हो
दुःखको कुम्लो पो हो त्यो मेरो मेरुदण्डमा अडिएको……
सयमुन्द्री छिनाउन माइत गइरहेकी
बूढी लिम्बुनी चेलीको थुन्चे पो हो …
गोलीगठ्ठा भरिएको 'कम्ब्याट ब्याग' हो
युद्धमोर्चामा हाजिर हुन गइरहेको सिपाहीको…
त्यस्तै के के के के हो…
म हुँ शङ्खे किरा
ढिलो गरी चिप्लिरहेको…
मेरा दमाली फट्येङ्ग्राहरु
जीवनको एथ्लेक्टिक्स उर्फिएर कहाँकहाँ पुगिसके
मेरा दमाली छेपाराहरु
जीवनको राजनीतिमा कति रङ फेरिसके
मेरा दमाली छुचुन्द्राहरु
यही नर्कटघारीमा हुर्किएर के-के भइसके
आफू त सँधै भारीवाल
नर्कटको पातको लम्बाइ ढिलो-ढिलो…
अड्कली-अड्कली नापिरहेछु…
म हुँ शङ्खे किरा
ढिलो गरी चिप्लिरहेको…
जहाँ जहाँ चिप्लिएको छु
त्यहाँ त्यहाँ छोडेको छु आदिम चिप्लो
त्यही चिप्लोमा चिप्लिएर मभन्दा छिटो भएको हो समय !
Tuesday, April 12, 2011
नयाँ वर्ष
Tuesday, April 5, 2011
शब्द शब्द

आकासगङ्गामा कति होलान्
झल्मलझल्मल ताराहरु ...
शब्दकोषमा
धेरै धेरै शब्दहरु चम्किरहेछन्
जस्तो कि-
स्वतन्त्रता
जो उन्मुक्त चराहरुको पखेटामा
कुँदिएको छ-अक्षरशः ।
जङ्गलमा कति होलान् फन्फनी माकुरे जालहरु
जालहरुमा कति होलान्
माऊ-माकुराका लासहरु
शब्दकोषका पन्नाहरुमा
धेरैधेरै शब्दहरु जेलिएका छन्
एउटा उदाहरण- षडयन्त्र
जो शकुनीको हस्तरेखामा पढ्न सकिन्छ
र महाभारत युद्धको परिणाम
पूर्व अन्दाज गर्न सकिन्छ ।
जङ्गबहादुरले कति फटायो होला
जोर लत्ता-कपडा जीन्दगीमा
शब्दकोषमा
धेरैधेरै पत्ताहरु च्यातिसकेका छन्
जस्तो कि उप्किसकेको छ-
कथित एकीकरणको बाक्लो आवरण
कि अब जरुरी छ संरचनामा पुनर्रचना
-औधी शब्दहरुको अर्थमा परिवर्तन
-उपल्ला शब्दहरुको मूल्यमा विघटन
कहिलेसम्म काँचो खुन पिउला
घट्घट् घट्घट् कालभैरवले
शब्दकोषमा
धेरैधेरै शब्दहरुले माग्दछन् 'इरेजर बलिदान'
जस्तो कि-
लेख्नै मिल्दैन तबसम्म
जबसम्म सम्मानित हुन्छ
-मृत इतिहासको किच्कन्या खेलाउनेहरुको चरित्र
-मृत शब्दहरुको िसंहासन िसंगार्नेहरुको नियत
देश माने बधशाला
जनता माने राष्ट्रिय गधा
यसरी शब्द अर्थ घोकाइरहेछ जो
जबसम्म अमर रहन्छ
शब्दकोषमा उसको मात्र नाम ।
समुद्रमा कति उठ्लान्
झुर्ढुङ झुर्ढुङ झडङडङ झ्वाम् झ्वाम् ज्वारभाटाहरु
शब्दकोषमा
धेरैधेरै शब्दहरु छछल्किरहेछन्
जस्तो कि-
विद्रोह
यहीँ शब्द हो-प्रत्येक भूइँचालोहरुको केन्द्र
कि केही रेक्टर स्केलको सौजन्यमा
शुरु हुन्छ विनिर्माणको महाउत्सव ।
2062/2063
Subscribe to:
Posts (Atom)