Pageviews

Tuesday, April 5, 2011

शब्द शब्द



आकासगङ्गामा कति होलान्
झल्मलझल्मल ताराहरु ...
शब्दकोषमा
धेरै धेरै शब्दहरु चम्किरहेछन्
जस्तो कि-
स्वतन्त्रता
जो उन्मुक्त चराहरुको पखेटामा
कुँदिएको छ-अक्षरशः ।

जङ्गलमा कति होलान् फन्फनी माकुरे जालहरु
जालहरुमा कति होलान्
माऊ-माकुराका लासहरु
शब्दकोषका पन्नाहरुमा
धेरैधेरै शब्दहरु जेलिएका छन्
एउटा उदाहरण- षडयन्त्र
जो शकुनीको हस्तरेखामा पढ्न सकिन्छ
र महाभारत युद्धको परिणाम
पूर्व अन्दाज गर्न सकिन्छ ।

जङ्गबहादुरले कति फटायो होला
जोर लत्ता-कपडा जीन्दगीमा
शब्दकोषमा
धेरैधेरै पत्ताहरु च्यातिसकेका छन्
जस्तो कि उप्किसकेको छ-
कथित एकीकरणको बाक्लो आवरण
कि अब जरुरी छ संरचनामा पुनर्रचना
-औधी शब्दहरुको अर्थमा परिवर्तन
-उपल्ला शब्दहरुको मूल्यमा विघटन

कहिलेसम्म काँचो खुन पिउला
घट्घट् घट्घट् कालभैरवले
शब्दकोषमा
धेरैधेरै शब्दहरुले माग्दछन् 'इरेजर बलिदान'
जस्तो कि-
लेख्नै मिल्दैन तबसम्म
जबसम्म सम्मानित हुन्छ
-मृत इतिहासको किच्कन्या खेलाउनेहरुको चरित्र
-मृत शब्दहरुको िसंहासन िसंगार्नेहरुको नियत

देश माने बधशाला
जनता माने राष्ट्रिय गधा
यसरी शब्द अर्थ घोकाइरहेछ जो
जबसम्म अमर रहन्छ
शब्दकोषमा उसको मात्र नाम ।

समुद्रमा कति उठ्लान्
झुर्ढुङ झुर्ढुङ झडङडङ झ्वाम् झ्वाम् ज्वारभाटाहरु
शब्दकोषमा
धेरैधेरै शब्दहरु छछल्किरहेछन्
जस्तो कि-
विद्रोह
यहीँ शब्द हो-प्रत्येक भूइँचालोहरुको केन्द्र
कि केही रेक्टर स्केलको सौजन्यमा
शुरु हुन्छ विनिर्माणको महाउत्सव ।

2062/2063

No comments:

Post a Comment