Pageviews

Thursday, October 18, 2012

छक्कु उदासीकृत 'आँशु कुन्ज'उपर पाठक प्रतिक्रिया


जापानमा रहेर साहित्य सेवारत छक्कु उदासीको कृति आँशु कुञ्ज भर्खरै बजारमा आएको छ । २६ छोटा छोटा रचनाहरुको यस कृतिलाई लघु रचना सङ्ग्रह नाम दिइएको छ । हुन पनि उनका रचनाहरु छ्यासमिस छन् । कुनै उत्तर आधुनिक समालोचक बोल्नु पर्दो हो त यस कृतिलाई विधाभञ्जन या त्यस्तै केही नामाकरण गरिदिँदा हुन् । कुनै रचना लघु कथा जस्ता छन्, कुनै रचना छोटा निबन्ध जस्ता छन् कुनै रचनामा कविता मिसिएका छन् कुनै रचना लघु संस्मरण भइदिएका छन् । विधागत शास्त्रबाट उम्किएका यी रचनाहरुलाई मलाई चाहिँ एक साहित्यिक मनको स्वतन्त्र उडान जस्तो लाग्यो ।
‘मेरो साहित्य यात्रा’ नामक संस्मरणात्मक रचनामा उदासी जीले पोखरामा हुने साहित्य कार्यक्रमहरुमा सरुभक्तसँग प्रत्यक्ष भेट हुने मौका मिलेर आफ्ना सिङ्गाने रचनाहरुको समीक्षा भएको उल्लेख गरेका छन् । ‘सरुभक्त’ र ‘सिंगाने रचना’ शब्दले आफ्नो साहित्य यात्रालाई लेखकले इङ्गित गर्न खोजे पनि त्यसको मिति उल्लेख छैन । त्यसैले कहिलेदेखि छक्कु उदासी नेपाली साहित्यमा साधनारत छिन् यसै भन्न नसकिए पनि यो कृति उनको पहिलो हो र उनी नेपाली साहित्यको एक अकिञ्चन भक्त पनि हुन् भन्नुपर्छ ।
प्रायः साहित्यको कखरा जुनै लेखकले त नभनुँ अधिकांशले सामान्य अवस्थामा सामाजिक विषय बस्तु, देशभक्ति या प्रेमका विषयमा लेखेर शुरु गर्छन् । सामाजिक विषय बस्तु आम मानिसले दिने प्रतिक्रियाहरु हुन्, देशभक्ति विद्यालयहरुमा घोकाइने शिक्षा भए भने प्रेम चाहिँ एउटा बालकले आमाको काख छोडेपछि एक्लो महसुस गर्दै प्रकृति या अन्य साथी–सङ्गी र यौनावेगात्मक सुखतृप्तिको मित्रप्रतिको अनुराग हो । छक्कु उदासी जीका प्रायः रचनाहरु पनि प्रायः यिनै तीन विषयउपर उधिनिएका छन् ।
'दशैँको बेला र दैवको लीला', 'दशैँ र अबोध फुच्चे' दुई कथा एउटै कथा हो, पात्र मात्र फरक । परिस्थिति पनि एउटै हो । गरिबीका कारण दशैँ खल्लो भएका धेरै कथा नेपाली साहित्यमा लेखिसकिएका छन् । त्यसैको निरन्तरता मान्न सकिन्छन् यी कथालाई । कलम बलियो कि तरबार, मानव सभ्यतामा सोधिँदै र वादविवाद प्रतियोगिताहरुमा बच्चाहरुलाई उभ्याइँदै आएकै हो । लेखिका उदासी निक्कै ढिलो ‘कलम र बन्दुक’ शीर्षक कथा लिएर यस वादविवाद प्रतियोगितामा उभिएकी छिन् । शायद यो बाल कथा पनि हुनसक्थ्यो तर लेखिकाले त्यता ध्यान दिनुभन्दा कथामा बन्दुकलाई विजेताका रुपमा उतारेकी छिन् । कलम एक बौद्धिक शक्ति हो र बन्दुक एक भौतिक शक्ति, बन्दुकले दुष्मनलाई परास्त गरेर आफ्नी आमालाई बचाउँछ कथामा, कलम चाहिँ दुष्मनबाट कुलेलम ठोक्छ । 
‘दुई घण्टे कहानी’ दुई घण्टा अवधिमा प्रकट स्वप्न वर्णन हो भने ‘किन गर्छौ श्रृङ्गार ?’ एक आलेख हो जसले कोमल हृदय नै नारी सौन्दर्यका रुपमा तर्क गर्दछ । ‘नौलो नाता’ एक मनोवाद जस्तो छ । जहाँ एक नारी पात्रले अपरिचित शायद पुरुष पात्रसँग अवचेतनात्मक आशक्ति दर्शाइरहन्छ । ‘रातो स्वेटर’ कथामा श्रीमान्ले श्रीमतीलाई आफैँले ल्याइदिएको रातो स्वेटर च्यातिदिएको छ । फलतः श्रीमतीलाई रातो स्वेटरमाथि स्थापित  ‘मेरो’ स्वामित्व च्यातिएको अनूभूति हुन्छ । श्रीमतीले आफ्नो भरोसा, आस्था र विश्वास च्यातिएको महसुस त गर्छे तर त्यसलाई टुलुटुलु हेर्न समेत विवश छे । 
‘फुकेमाइलो’ चरित्रचित्रणका हिसाबले अरु रचनाभन्दा बलियो देखिन्छ । नेपालबाट जापान भासिएको, घर व्यवहार वास्ता नगरी बूढेसकालमा पनि कानमा टप कोचेर फुलेको केशमा खैरो दलेर साली नानी जिस्क्याउँदै हिँड्ने पात्र हो फुकेमाइलो । फुकेमाइलोलाई घरदेशको वास्तै छैन, आइफोनमै व्यस्त हुन्छ, त्यसैले लेखिका भन्छिन्, ‘‘यो विदेशमा आएर फुकेमाइलो जस्तो कोही नहुनु होला र फुकेमाइलोको देखासिकी झुक्केर पनि नगर्नु होला ।’’ 
‘मेरो गर्भमा भ्रूण हुर्किँदै’ कथाबाट लेखिकाको राजनीतिक दृष्टिकोण बुझ्न सकिन्छ । संविधान सभालाई आमा र नयाँ संविधानलाई भ्रूणका रुपमा यसका कथामा देखाइएको छ । संविधान सभा विघटनअघि लेखिएको कथा भएकोले बच्चा जन्माउन आतुर थिइन् आमा तर अबको अवस्थामा भने नजन्मदै बच्चाको हत्या गरिएको भाव थपेर पाठकले पढ्न सक्दछन् यस कथालाई । ‘काफल र एक अविस्मरणीय क्षण’, 'पुख्र्यौली घर र आमाको बुबू’ र ‘बाडुली लाग्दा’ लेखिकाका बाल्यकालका संस्मरण हुन् तर घटनामा मात्र आएका छन् । समय, स्थान र देशकालको वर्णन जीवन्त छैन । त्यै पनि पठनीय भने छन् । ‘म र मेरो साहित्य यात्रा’ तथा ‘मेरो साहित्य’ शिर्षकमा लेखिकाले आफ्नो साहित्य यात्राबारे बताउन चाहेकी छिन् । एउटै प्रसङ्ग दुई–दुई शिर्षकमा लेख्नुले लेखिका स्वयंले दुःख पाएकी छिन् र अनि पाठकले पनि । ‘सुबिल एक रुप अनेक’ सुबिल चरामाथिको लोक कथाको पुनर्लेखन हो । ‘विचार र अनूभूति’ लेखिकाले आफ्ना मित्र भुवनप्रसाद श्रेष्ठका पिताले जापान भ्रमणका क्रममा जापानको भौतिक विकास र नेपालको प्राकृतिक सम्पदालाई दाँजेर नेपालप्रति जनाएको सहानूभूतिलाई वर्णन गरेकी छिन् । ‘अभाव’मा श्रीमान्, श्रीमती र श्रीमान्को भूतपूर्व प्रेमिकासँगको भेटले श्रीमतीले श्रीमान् छोडेर हिँडेको कथा छ । ‘प्रेम दिवस’ कथामा दिवसकै दिन प्रेमीले आफ्नो प्रेम गुमाउँछ भने ‘नेशनल होलिडे’ कथामा कामदार लेखक ‘होलि डे’ समेत बिर्सन्छिन् कि खजना सकिएकोअलराम नबजेपछि दुई घण्टा ढिलो ब्यूँझिएकी कामदार अफिस जान हतारपतार गर्दा बल्ल साथीबाट फोनमा होलिडेको थाहा पाउँछिन् । यस कथाले वैदेशिक रोजगारका क्रममा रहेका मेशिनमय नेपाली कामदारको झल्को दिन्छ ।
‘बिर्खेको कसम’ एक व्यङ्ग्यात्म कथा छ । जाँडरक्सीको कुलती बिर्खेले एकदिन ढकीमा गुन्द्रुक कुटिरहँदा श्रीमती प्याउलीको आँखामा बलिद्रधारा आँशु देख्छ र आफूप्रति पछुताउन थाल्छ । श्रीमतीलाई मन थाम्न आग्रह गर्दै सबै जग्गा जमिन श्रीमतीको नाममा पास गरिदिने, आइन्दा सही बाटोमा हिँड्ने वाचा गर्दै ढिकी कुटिरहन्छ । गुन्द्रुक कुट्दा रायोको सागले पोलेर श्रीमतीको आँशु खसिरहेको उसलाई पत्तो नै हुँदैन । यस्तै ‘घुम्तीको चिया पसल’ कथा पनि रोचक छ । यस कथामा जुनुलाटीकी बतासे छोरी जुनकिरी हुन्छे । एकदिन घरमा पाहुना हूल आइपुग्छ । त्यही हुलमा जूनकिरीको बुबा पनि हुन्छ । पाहुना सत्कारका क्रममा जूनकिरीले दूध र चिनीको अभावमा रातो चिया भन्दै चिनी बेगरको फिका चिया पाहुनालाई खुवाउँछे । सबैले जूनकिरीको सुन्दरता हेर्दै चिया मिठो मानिमानी खान्छन् र बुबा पर्नेले जूनकिरीलाई हजार रुपैयाँ बक्सिस छोडेर जान्छन् । बाटामा उनीहरु आ–आफ्नो भागमा चिनी बेगरको चिया परेको भन्दै गुनासो गर्छन् ।
‘सुन्तलीको तिहार’मा वैदेशिक रोजगारमा भाइ गएपछि भाइटिका थाप्न नपाएकी दिदी सुन्तलीको कथा छ भने ‘गोरी’मा समाजमा नारी जातिले कुकुरको जतिको पनि सम्मान नपाएको चित्रण गरिएको छ । गोरी कुकुरनीलाई मानवीय सहानूभूति दर्शाउने क्रममा कथाकी नारी पात्रले समाजमा नारीको दयनीय अवस्थाबारेको कथा सुनाउँछिन् । 
राष्ट्रिय फूल फूल्दा साकुरा फुल्न सकेन’ पनि कथाजस्तै छ । २०११ मार्च ११ मा जापानमा सुनामीले निम्त्याएको विपत्तिलाई थोरै भए पनि छुन खोजेकी छिन् कथाकारले । जापनीजहरुले पुष्प उत्सवको रुपमा लिने साकुरा फुलेको अवसरमै सुनामी जस्तो विपर्यासलाई कथामा उतार्न खोज्नु कथाकारको प्रयास देखिन्छ । 
आँशुकुञ्ज भित्रका रचनाहरुलाई साहित्यकार कृष्ण धरावासीले ‘झिनो विषय उपरको उत्कृष्ट टिपोट’को खादा ओढाइदिएका छन् । धरावासीले भने झैँ उदासीका रचना भाषा र शैली परिष्कार उन्मुख देखिन्छ ।  किताब घरले प्रकाशित गरेको यस कृतिको मूल्य रु.१७५ रहेको छ । कृति बिक्रीबाट प्राप्त रकम असहाय तथा पीडितहरुको सेवामा समर्पित गर्ने लेखकको पुस्तकको पछिल्तिरको आवरणको भनाइबाट बुझिन्छ । अतः नेपाली साहित्यको एक सम्पत्ति सँगै यो कृति खरिद गर्नेका लागि समाजसेवामा काटिने सहयोग रसिदको ‘अद्र्धकट्टी’ नै माने हुन्छ ।

'लिम्बुवान मासिक'मा प्रकाशित, यहाँ पुनप्र्रकाशित।

No comments:

Post a Comment