Pageviews

46,404

Saturday, October 20, 2012

सिद्धिनरसिंह र कविता लामा

स्वप्निल स्मृति



खत्तम भएछ चन्द्रवीर जी !
खत्तम भएछ ।

अब कहाँ खाने कफी ?
हर–विहान हाम्रो एउटा फुच्चे घाम 
कविताले टक्राइदिने 
एक कप ब्ल्याक कफीभित्रबाट उदाउँथ्यो
विहान–विहान– 
घामले तताएर उठिरहने धरतीको बाफ झैँ
त्यही कफीबाट छुटिरहन्थ्यो हाम्रो श्वास
कतै श्लील जस्तो कतै अश्लील जस्तो
रातो दुनटको चिराभित्रको सेतो क्रिम
बेलाबेला टाँसिन्थ्यो तिम्रो एक हरफ जुँगामा
खत्तम भयो चन्द्रवीर जी !
खत्तम भयो,
पाटन दरबार क्षेत्रको
‘द कविता कफी प्वाइन्ट’ बन्द भयो ।

ब्लेडले कोरेजस्ता आँखा
सिङ्गान फ्याँक्दा चोर औँला र बूढी औँलाले
निचोर्दा–निचोर्दा थेप्चिए जस्तो नाक
डल्ले खुर्सानीजस्तो झर्झर अनुहार
अन्दाजी उन्नाईस बीसकी 
कविता उर्फ कविता लामा
विश्व सम्पदा सूचीमा रहेको 
पाटन दरबारबाट हराई..।

उसको बाजे
तिमालबाट चन्द्र शम्सेरले पिपामा भर्ती गरेर ल्याएको
संस्कृत मात्र पढ्न पाइने पालाको 
उसको बुबा दावा डकर्मी...
नयाँ नयाँ घरको चर उठाउने दावाले 
सत्र, छत्तीस र छयालीस साल गरी
तीनपटक विवाह गर्नु संयोग थियो ! 

कान्छी आमापट्टिकी कविता लामा
र अङ्ग्रेजी पढ्ने जमाना
बुबाले ‘फी’ तिर्न नसकेर  
आठ क्लास पढ्दापढ्दै स्कुल छोडी कविताले–
‘लभ’ गरी, काठमाडौँका पार्क चाहारी
अन्ततः डेभिड सैलुनको कामदार 
माइकल शर्मालाई प्रेमीको रुपमा फेला पारी ।

माइकलले–
सक्दो उखेल्यो आँखीभौहरु कविताको
प्राइभेट क्लिनिकमा लगेर कतिपटक उखेल्यो उसको कुमारित्वलाई
बदलामा फाइनान्सबाट ‘लोन’ झिकेर
कफी प्वाइन्ट खोलिदियो 
गणतन्त्र दिवसको उपहार मेरुदण्डको फेदमा
ड्रागनको ठूलो टाटु खोपिदियो र
माइकल सहरबाट गायब भयो ।

‘द कविता कफी सप’मा
जब हाम्रो प्रवेश भयो–
हामी उसैउसै उसको मेरुदण्डको ड्रागनमा उड्न थालेका हौँ
तर आज हेर !
सटर बन्द छ 
सटरमा माइकल शर्माको ताल्चाको डल्लो झुण्डिरहेछ ।

खत्तम भयो चन्द्रवीर जी !

‘‘खत्तम भयो कवि जीहरु !
खत्तम भयो
कविता आफ्नै मेरुदण्डको ड्रागन चढेर
रातको बा¥ह बजे
विना इजाजत साउदीअरब उडी...
म पत्थरको स्तम्भमाथि टँसाइएको सिद्धिनरसिंह मल्लले 
रोक्न सकिन
फगत् नमस्कार गरिपठाएँ...।’’  


{आजको नागरिक दैनिक http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1153-nagarik-20-oct-2012/2-nagarik.html मा प्रकाशित कविता, छापासंस्करणको पहुँच नभएका कविताप्रेमीहरुका लागि पुनप्र्रकाशित }

No comments:

Post a Comment