Pageviews
Monday, March 21, 2011
ओ मेरो प्रिय युद्ध !
ओ मेरो प्रिय युद्ध !
अब हाम्रो बर्बर सहयात्रा टुङ्गिन्छ यहीँनेर
साक्षी छन्-
विकिरणले चपाइरहेका यी मान्छेहरु
अस्पतालमा भरिएका आकस्मिक कक्ष
सडकमा हताश दगुरिरहेका एम्बुलेन्स
मसानघाटमा थुप्रिरहेका लास
रित्तिँदै गएको सलाईको बट्टा र देश
यहीँनेर अन्त्य हुन्छ अब
हाम्रो रहस्यमय साँठगाँठ .
आदिम दरबारअघिको
पछिल्लो सफल आत्मघाती विस्फोटसँगै
मध्ययुगीन ख्याकको निरीह गद्दीच्युतलगत्तै
वैज्ञानिक प्रविधियुक्त बङ्करमा भूमिगत
उत्तरआधुनिक तानाशाहको अपदस्तपछि
पूरा भएको छ अब तिम्रो भूमिका
ए युद्ध !
मेरो साथी !
यहीँबाट छुट्टिन्छ अब हाम्रो बाटो ।
जसरी आउँछ पत्तै नपाई भुइँचालो
आँधी, खडेरी, सुनामी या मृत्युलहर
तिमी आयौ मान्छेहरुबीच कहाँबाट कसरी
कि तिमी थियौ मान्छेहरुकै अवचेतनमा
कुनै अपराधीझैँ
कुनै सुराकीझैँ
अथवा पितृदेवझैँ
तिमीसित कसरी मोहित भए मानिसहरु
तिमी नै भयो उनीहरुको जीवनशैली
तिमी नै भयौ उनीहरुको पूज्यदेवता !
तिमीले के दियौ मान्छेहरुलाई ?
तिमी मान्छेहरुका आविष्कार
तिमी मान्छेहरुका प्रिय
मान्छेहरुले नै बनाए तिमीलाई त्यति शक्तिशाली
मान्छेहरुले नै बनाए तिमीलाई खबु सुन्दर
फगत् आँखा बनाइदिएनन् तिम्रो
र अन्धो भयौ
तर देख्छौ निहत्था चेलीबेटीका यौवन
र त चलाउँछौ बलात्कारका अनुपम श्रृङ्खला
तिमी पत्थर हौ तर प्रेमिल !
मान्छेको मुटु हो तिम्रो परमाणु प्रयोगशाला
तिमी क्रूर हौ
ग्यासच्याम्बरमा थुन्ने मान्छेको आवाज
तर उत्तिकै घोकाउँछौ स्तृतिगानको लय...
तिमी धेरैथोक मान्छौ मान्छेसँग-
रगत, पसिना, आँसु र यौन
हुर्किँदै गरेका केटाकेटी
पेन्सनमा बसेका बूढा सैनिक
खाँदाखाँदैका गाँस
के सबैसबै थोक गुमाएर
मान्छेका शरणमा आएका हौ तिमी ?
तर अलिकति मस्तिष्क नमाग्ने
नमाग्ने अलिकति रैथाने मन
कसले बनायो तिम्रो त्यस्तो मस्तिष्क ?
ओ मेरो प्रिय युद्ध !
यहीँनेर टुङ्गिन्छ अब हाम्रो पाशविक सहवास
साक्षी छन्-
क्षेप्यास्त्रले घाइते आकाश
धरापले छेडिएका बाटा
आगोले जलेको सहरको अवशेष
अब सकिँदैन सँगसँगै हिँड्न योभन्दा उता-
अलेग्जेण्डर महान् निदाउँदा
किन चुपी र इलियड सिरानी हाल्थे ?
त्यो खुन कसको थियो
जन्मदै चङ्गिज खाँको हातमा लतपतिएको...
के त्यो अक्टोभियन सर्प थिएन
जसले चुस्यो क्लियोपेट्राको अन्तिम सुन्दरता
किन झुन्डिएर मरिन् जोकास्टा
किन आँखा फुटायो इडिपसले
किन बलात्कृत भइन् मेरी बहिनी ?
युद्ध ! तिमीले सोच्नुपथ्र्यो
हिटलरको आत्महत्यापछि
पोलपोट. पिनासे. इदि अमिन. बोकासा जन्मनुअघि
वा सद्दाम हुसेनलाई मृत्युदण्ड नभई
सेप्टेम्बर एघार नआई
या ओसामा विन लादेन नजन्मी
कुरान, बाइबल र पुराणमा ईश्वर पस्नुपहिले
कम्तीमा पनि बुद्ध जन्मनेबित्तिकै
तिमीले थुक्नुपथ्र्यो आपुनो कुरुपता
पुनर्विचार गर्नुपथ्र्यो आपुनो चरित्र
आत्मदाह गर्नुपथ्र्यो तिमीले
तर तिम्रै क्रीडाभूमि भयो आजसम्म मेरो देश
तिम्रै प्रशस्तिले भरियो मेरो इतिहास
तिम्रै लागि जन्मेजस्तो भएँ म !
ओ युद्ध !
ओ हिँस्रक थोक !!
अब तिमीलाई यहँ रहने अधिकार छैन
अब तिमी यहाँ रहनुमा कुनै सौन्दर्य छैन
जाऊ- अघिल्तिर रगतको समुद्र छ
यदि म युद्ध भए
त्यही हामफलेर आत्महत्या गर्थेँ
सक्छौ भने तरेर आऊ
नसके त्यहाँ-
कङ्कालको लामो झोलुङ्गे पुल छ चढेर जाऊ
बिदाइ छ मेरो प्रिय युद्ध !
मेरो दुष्मन !
यहीँनेर समाप्त हुन्छ अब हाम्रो सम्पूर्ण सम्बन्ध
अब हामी छुट्टिँदैछौँ
अब हामी टाढा टा...ढा.. हुँदैछौँ
अब हाम्रो भेट हुन्न होला
अब हाम्रो भेट नहोस् पनि
वा फेरि हाम्रो भेट हुने हो !
[मिति-२०६३, साभार : गरिमा मासिक]
Subscribe to:
Post Comments (Atom)
कति राम्रो कविता । स्वप्निलजस्तै कविता लेख्ने हुटहुटी छ, आह्रिषलाग्दो मिट्ठो ।यो कविताले युद्ध विरोधी गीतले प्रख्यात जोन लेनन महोदयको 'ईमाजिन देयर ईज नो हेभन नजिकमै पुर् यायो' । Keep it up स्वप्निलजी ।
ReplyDeleteTikajilai John Lennonko yad aaye jhai, yo kabita padepachi malai Bob Dylan ko Knockin on Heaven's Door yaad aayo...Swapnilji...tapai kabita lesundar chitrakari garirahanuhos hai...
ReplyDelete