Pageviews

Sunday, April 29, 2012

गीत

स्व. स्वप्निल स्मृति 

ओहो जिन्दगी !
मेरो जिन्दगी !!

झन्नैले मैमारेको दुःखहरुमा
खुशीले िसंगारेको सुखहरुमा 
कैले लाग्छ धेरै धेरै धेरै गर् हुँगो
कैले लाग्छ केही केही केही हैन यो
मेरो जिन्दगी !

मृत्युले लखेटेको भेटिनहालेको
गएको गएकैछ पुग्ने कहाँ हो !
अन्धाधुन्द बाँचेको कि जानाजान हो  
सियो जत्रो खुशीमा नि बहुत् रमाएको

 ओहो जिन्दगी !
मेरो जिन्दगी !!

Saturday, March 31, 2012

लोकतन्त्र पोइजन

 
स्व.स्वप्निल स्मृति  
 
हरन लगाउँदै कुम्मायक कुस्सायकलाई 
फिकुले डाँडा थर्किने गरी 
नाच्दै 'उलाला…उलाला' 
आइपुग्यो गाडी गाउँमा

स्वप्नमा गाडी देख्दा कुम्रेक लाग्ने गाउँमा  
यसपल्ट त साँच्ची गाडी आइपुग्यो ! 
 
गाडीको प्रतीक्षामा  तेर्सा  परेका बूढापाका 
किताबमा मात्र गाडी चढेका बालबालिका 
गाडी-बाटो खन्दाखन्दा हत्तु युवायुवती 
घर-घरबाट निस्के फूलमालासँग… 

स्ट्रेट कपाल हल्लाउँदै, निधारमाथिको कालो चश्मा मिलाउँदै 
घुँडासम्म आउने टप बुट लगाएको लोकतन्त्र
फुत्त उफ्रियो छतबाट 
बस्तीतिर एक फनक लायो नजर  
र, थुक्यो पिच्च ! 

लोकतन्त्रलाई सबसे पहिले 
अभिवादन गर्यो ठेकेदार खड्गप्रसाद निरौलाले  
त्यसपछि पालैपालो सेवारो टक्राए गाउँलेहरुले 

लोकतन्त्र र ठेकेदार निरौला 
झण्डै एकघण्टा गोप्य बात मारे 

मौका यही थियो 
गाउँलेले गाडीलाई घुमीघुमी हेरे/छोए 
गाडीको झ्यालमा टाँसिएको
पोस्टरको हिरो-हिरोइनको नमस्कारलाई समेत झण्डै फर्काए ! 

ठेकेदार निरौलाले घर-घर डुलायो लोकतन्त्रलाई 
स्वास्थ्य, शिक्षा, गाँसबाँसबारे रिपोर्ट उठायो 
आदिवासी आमाहरुलाई एक-एक प्याकेट कण्डम थमायो
देउताले समेत जाँड खाने घरमा 
कोकाकोला बाँड्यो
चाउचाउ बाँड्यो… 

कण्डमको हवाइजहाज उडाएर बच्चाहरु बुरुकबुरुक उफ्रिए 
गाउँलेले पहिलोपल्ट थाहा पाए- कोकाकोला र कोला फरक रहेछ 
एउटा चाउचाउ उमाल्दा एकभाँडा भयो 
तर भोक मेटिएन गृहणीहरुको 

सबासाम्माङ मात्र बस्ने सुन्तला बारीमा, कोलाबारीमा  
ताम्भुङ्ना पिङ खेल्ने जंगलमा
वरक्मा नुहाउने खोलामा 
लोकतन्त्रलाई निस्फिक्री घुमाउँदा ठेकेदारले 
सोचे गाउँलेहरुले-
'ला…अब …
यसलाई देउता लाग्छ/रगत छाद्छ 
बिना धूपबत्ती
-जल टेक्यो यसले 
-जमिन टेक्यो यसले 
-जंगल टेक्यो यसले' 

तर उल्टै गाउँलेहरु विराम परे
'हस्पिटल !' यति बोल्यो लोकतन्त्र  
खाँदाखाँद गाडीमा चढाइए बिरामीहरु 
नअटेकाहरु गाडीको अघिपछि  झुण्डिए  कीरैसरी सिस्नुका 

छतमा सुसेली हाल्दै हात हल्लायो लोकतन्त्रले 
गाउँ छोड्यो गाडीले
ह्वार्रह्वार्र रगतजस्तो कोकाकोला र चाउचाउ बमिट गराउँदै  विरामीहरुलाई  ...

गाउँलेहरुले सोधे ठेक्केदारलाई- 
'के भयो कोकाकोला र चाउचाउ मात्र खाएका थिए !' 
ठेक्केदार गम्भीर भयो - 
'देउता लाग्यो ! 
गाउँलेहरु अचम्भित भए- 
'देउता त लोकतन्त्रलाई लाग्नुपर्ने हो !!' 
ठेक्केदार मुस्कुरायो-
' जल, जंगल, जमिनभन्दा ठूलो देउता हो लोकतन्त्र !'

 

Monday, February 27, 2012

'भाषिक, साँस्कृतिक साम्राज्यवाद हावी छ'

'भाषिक, साँस्कृतिक साम्राज्यवाद हावी छ'


कवि स्व.स्वप्नील स्मृतिको असली नाम सनमान चेम्जोङ हो । लिम्बुवानको पाँचथर स्याब्रुम्बाका कवि चेम्जोङको 'रंगैरंगको भीर'२०६१ र 'वाडुली र सुदुर सम्झना' २०६८ कविता कृति ल्याएका छन् । युवाकवीमा छुट्टै पहिचान बनाएका कवि चेम्जोङसँग साहित्यका विभिन्न विषयमा 'द गोर्खाज'का लागि युवराज लिम्बूले गरेको कुराकानी 



नेपाली साहित्यको पछिल्लो प्रवृत्तिबारे तपाइँको दृष्टिकोण के छ ? 

-नेपाली समाजको विविधता साहित्य र चलचित्र माध्यममा थोरै भए पनि प्रतिविम्बित हुन थालेको छ । यसको मिहीन रुपमा उठान हुँदै जानेमा आशा गर्न सकिन्छ । सचेत लेखकहरु त्यतातिर उन्मुख हुँदै गएका छन् । पछिल्लो चरणमा आएका आख्यान र कविताहरुमा एक भूइँ तहको पाठकले आफू र आफ्नो अनुहारलाई भेट्टाउन सक्दछ । राजन मुकारुङको हेत्छाकुप्पा, युग पाठकको उर्गेनको घोडा, नारायण ढकालको प्रेतकल्प, नयनराज पाण्डेको उलार जस्ता कृतिमा सीमान्तीकृत वर्गको जीवन चित्रित छ । कवितामा बैरागी काइँला, श्रवण मुकारुङ, भूपाल राई, हाङयुक अज्ञात, उपेन्द्र सुब्बा, प्रगति राई लगायतले विगत्मा राज्यसत्ताले कुनातिर धकेलिदिएको जीवन सौन्दर्यलाई नेपाली साहित्यको केन्द्रमा ल्याइरहेको देखिन्छ । यो लहर अन्य आदिवासी जनजाति मूलका लेखकमा पनि सर्दैछ । 

विभिन्न वादहरु, आन्दोलनहरु आएका छन् । त्यसको मनोविज्ञान कुनै न कुनै रुपमा हाम्रो विविधतायुक्त समाजको चरित्रमा नै ठोक्किएका छन् । लेखकहरुलाई लेख्नको लागि कुनै बन्देज नभएकोले कतिपय लेखक सीमाभन्दा बढी भड्किएको पनि देखिन्छ । प्रविधिको विकासले साहित्य विश्वव्यापी भएको छ । डायस्पोराबाट नेपाली साहित्यले आर्थिक लगायत सिर्जनात्मक क्षेत्रमा फाइदा उठाएको छ । अन्तर्राष्ट्रिय साहित्यिक जात्रा र महोत्सवहरु बढेका छन् ।

भाषा-शैलीगत दृष्टिले सर्वाधिक पाठकमैत्री र ग्राह्य पनि अहिले लेखिएका साहित्य नै हो कि ! किनभने अमूर्त लेखनले विदावारी पाएको छ । एक्काइसौँ शताब्दिको लेखक नबुझिने भाषामा गन्थन गर्दैन । मुन्धुम फलाक्ने फेदाङ्बा र सप्ताह पुराण भजाउने पण्डितले जस्तो बुझ्न कठिन भाषामा होइन कि सहज र सरल भाषामा लेखकले पाठकसँग साक्षात्कार गरिरहेको छ । 

उत्तरआधुनिकतावादलाई नेपाली साहित्यको पछिल्लो प्रवृत्ति र उपलब्धि हो भनेर दावा पनि गरिन्छ साँचै हो ? 

मैले नेपाली साहित्यको अहिलेको समग्र अवस्था बताएको हुँ । प्रवृत्ति र उपलब्धिमा आआफ्नै दावाहरु रहने भए । सामन्तवादबाट नेपाली समाज बल्ल पुँजीवादी चरणमा प्रवेश गरिरहेको छ । मुलुक भर्खर धर्मनिरपेक्ष भएको छ । यहाँको विविधतालाई बल्ल स्वीकार गरिएको छ । उत्तरआधुनिकतावादले भन्ने महाआख्यानको अन्त्य, लेखकको मृत्यु, विनिर्माण, अनिश्चिता के के भन्ने छ नि …।sे त्यतातिर गइरहेको छ नेपाली साहित्य र समाज म त एउटा उन्नत समाज र सभ्यताको निर्माणमा जुटिरहेको देख्छु । नेपालमा जे जे नयाँ हुन्छ त्यो सप्पैलाई कि उत्तर आधुनिकतावादको घानमा कि माओवादमा हाल्नु ठीक हुँदैन । अरुलाई पनि त केही छोडिदिनुपर्ला । 

तपाइँको लेखनलाई उत्तरआधुनिकतावादी पनि भनिन्छ हैन ?

मेरो लेखनको उद्देश्य सामाजिक रुपान्तरण हो । नेपालमा जुन बेथिती, विसंगति अन्तरविरोध छ । जुन सामाजिक न्याय दूरावस्थामा छ । म त्यसको विपक्षमा लेखिरहेको छु । उत्तरआधुनिक रोबोट होइन म एक 'नेचुरल' मानिस हुन चाहन्छु । लक्ष्य सहितको समाज परिवर्तनमा विश्वास गर्छु । 

तपाइँको नामको 'स्व.'लाई रोला बाँथको लेखकको मृत्युसँग दाँज्नु सही हो ?

उत्तरआधुनिकतावादमा मृत्यु घोषणाको श्रृंखला छ लेखकको मृत्यु, इश्वरको मृत्यु, इतिहासको अन्त्य । उत्तर आधुनिकतावादकै मृत्युको घोषणा गर्न मात्र बाँकी छ । मैले स्व. ख्यालख्यालमा लेखेँ । पछि थुप्रै अन्य लेखकहरुले पनि लेखे । तर उनीहरुले त ख्यालख्यालमा लेखेका होइनन् । मलाई लाग्छ 'फलो' गरे । 

मैले तर्क बनाएको छु मरेपछि कोही पनि स्वर्ग या नर्कमा पुग्दैन । यही प्रकृतिमा सामेल हुन्छ । मरेकाहरु सबैको नाम अगाडि 'स्व.' लेख्ने चलन छ । 'न.' भनेको 'नारकीय'त कसैका नामअगाडि पाइएको छैन । त्यसैले मैले चाहिँ जिउँदै स्व. लेखेको हो । पाठकहरु नझुक्किए हुन्छ म मरेको छैन आफ्नै स्वर्गमा छु । स्व. रोला बाथको लेखकको मृत्यु फरक कुरा हो । कुनै पनि पाठ लेखिसकेपछि लेखकको मृत्यु हुन्छ । अथवा त्यो पाठमा उसको नियन्त्रण गुम्छ । लेखुन्जेल लेखक मानिदिउष भग्वान नै हुन्छ तर लेखिसकेपछि लेखक पाठको हकमा अलविदा हुन्छ । पाठकै हालिमुहाली हुन्छ । 

पछिल्लो कृति 'बाडुली र सुदूर सम्झन' नारा र नश्लीय उग्रचेतनाको सुन्दर प्रस्तुति भन्छन् नि ? 

यो चाहिँ तपाइँले भन्नु भएपछि थाहा भयो । त्यसो भन्न नदिउष कसरी ? 'नारा' नेपाली साहित्यको पुरानो मुद्दा हो । दार्शनिक इन्द्रबादुर राईले लेनीनको साहित्य र कम्युनिष्ट पार्टीसम्बन्धी मान्यतालाई लिएर एउटा किताब नै तयार पार्नुभएको छ । नाम बिसे्रँ मैले …माक्स्रवादिक प्रतिबद्धता..के भन्ने छ । सर्वहारा वर्गको पक्षधरतालाई वकालत गर्ने साहित्यलाई नाराको बिल्ला लगाइँदै आएको छ । साहित्यमा पक्षधरता 'हुन्छ' 'हुँदैन' भन्ने दुवै छ । मलाई लाग्छ सत्ता-राजनीतिलाई लेख्ने हो भने सबैभन्दा बढी पक्षधरता भइहाल्छ । प्रेम यौनमा त हुन्छ । मुस्लिम समुदायमा खुला समाजको वकालत गर्दा तसलिमा नसरिनलाई फतवा जारी हुन्छ । तसलिमा नसरिनले मुस्लिम महिलाको स्वतन्त्रताको कुरा उठाउनु पनि नारा नै हो । नेपालमा कृष्ण सेन इच्छुक माओवादीलाई समर्थन गरेर साहित्य लेख्दा मारिनु पर्यो । नारा बुर्जुवाहरुले लगाउने सजिलो आरोप हो । अर्कोतिर नाराभन्दा माथि उठ्न नसक्नु माक्स्रवादी साहित्यकारहरुले गरिरहने कमजोरी हो । माक्स्रवादी सौन्दर्यशास्त्रमा सारलाई महत्वपूर्ण ठानिन्छ । बुर्जुवा साहित्यमा सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामा लिपिस्टिक पाउडर दलिन्छ । म चाहिँ आफ्नो लेखनमा सटिक सन्तुलन ल्याउन खोज्छु ।

अब आयो नश्लीय उग्रचेतना यो भनेको आदिवासी जनजातिको पक्षमा लेखियो भनेको होला । मेरो विषय म आफैँ पनि हुँ । तर मैले उग्र भएर लेखेको छैन । म त्यस्तो साम्प्रदायिक पनि हैन । सबैभन्दा बढी ब्राम्हण कूलका छोरीसँग भुतुक्कै हुने मानिस हुँ । 

नश्लीय चेतनाको 'अति' रंगवादी साहित्यिक आन्दोलन हो भन्छन् साँचो हो ?

रंगवादलाई एकछिन बिसाउ । नेपाली साहित्यमा नश्लीय बोधको कुरो सृजनशील अराजकताले उठाएको हो । नश्लको कुरा हुँदा मंगोलियन, आर्यन, ककेशीयन, द्रबिड आउँछ । मिलाएर बुझ्नुपर्छ सृजनशील अराजकताले आदिवासी जनजातिका मुद्दालाई लेखौँ उनीहरुको सौन्दर्यशास्त्रलाई लेखौँ भनेको होला । त्यो जायज पनि छ । रंगवादले यो लेखौँ यो नलेखौँ भन्दैन । सृजनशील अराजकता एक आन्दोलन हो भने रंगवाद दुई दिनको जिन्दगी भनेजस्तो हो । जीवनजगत् मीथ्या भन्छ हिन्दूदर्शनले हामीले जीवनजगत् रंग हो भन्यौँ ।

तपाइँ मातृभाषामा पनि साहित्य सृजना गर्नुहुन्छ मातृभाषा साहित्यको अवस्था कस्तो छ ? 

मेरो मातृभाषा लिम्बु हो । आफ्नो भाषामा लेख्नुको जति सन्तुष्टि दोश्रो भाषामा लेख्दा हुँदैन । अहिले मातृभाषामा साहित्य लेखन सन्तोषजनक छैन । हिजो दमन गरियो । मातृभाषामा लेख्नेहरु आज पनि चेपुवामा छन् । साँस्कृतिक भाषिक साम्राज्यवाद हावी छ । भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा कविता गोष्ठिमा सम्मानीय राष्ट्रपति ज्यूले अंग्रेजीभाषा जाने धेरै ज्ञान पाउन सकिन्छ त भन्नुभयो तर उहाँलाई्र नेपालमा कतिवटा भाषा बोलिन्छ भन्ने त अङ्ग्रेजी भाषाले सिकाएको रै'नछ । यसबाट पनि अनुमान लगाउन सकिन्छ नेपालमा मातृभाषाको साहित्यको अवस्था ।

नेपाली साहित्यमा व्यवसायिक लेखक हुन गार् हो छ भनिन्छ नि ?

गार्हो छ । तर व्यवसायिक लेखनको नाममा लेखक लेखनदास हुन सक्दैन । बजारमा जे जे बिक्री हुन्छ त्यै लेख्ने हो भने त सस्तामस्ता प्रेम, तुनामुनाका कुरा लेख्यो बस्यो । त्यो पनि बिक्री नै हुन्छ भन्ने ग्यारेण्टी हुन्न । 
सानो नेपालमा धेरै समस्याहरु छन् । अशिक्षा छ सानो बजार छ । अनुवादको समस्या छ । लेखकहरुले पाठकलाई तान्न सकेका छैनन् । 'ओहो कवि' भनेर जग्गादलालले सजिलै हेप्न सक्छ । भ्रष्ट मन्त्रीलाई लेखेर तह लाउन सक्नुपर्यो नि लेखकले, लेखक पनि कमजोर छ । 

कविता सबैभन्दा कम बिक्री हुनेमा पर्छ भनिन्छ तपाइँको पछिल्लो कृति कतिको बिक्री भयो ?

प्रकाशकले राम्रै बिक्री भइरहेको भन्नुभएको छ । किताबै पाइएन भन्नेहरु पनि छन् ।

कविता मात्र गर्ने कि अब आख्यानमा पनि जाने ?

यो प्रश्नचाहिँ तोङ्बा मात्र खाने कि रम पनि खाने भने जस्तो भयो । कविता लेखिरहेको छु आख्यानमा जाने नजाने सोच्दैछु । 

साहित्य गरेर चामलदाल जुटिरहेको छ कि के गर्नुहुन्छ ?

दालचामलको एकदम भाउ बढ्यो । साहित्य छोडेर दालचामल बेच्दा त अलिअलि कमाइन्थ्यो होला । तर साहित्य गरेर भोकै मर्यो भनेर कसैले सुन्नु नपरोस् । त्यो साहित्य विरोधी कुरो हो । साहित्य गरेर दालचामल होइन बाँच्ने इच्छा शक्ति जुटिरहेको छ । दालचामलको लागि त के के गर्नुपर्छ के के ! सप्पै नभनूँ होला !

Sunday, February 26, 2012

गीत

सार् है भारी भयो जीवन उकालीमा, ओरालीमा
बिसाउने ठाउँ छ कि छैन तिम्रो काखको देउरालीमा !

दु:ख सबै बिसाइहालिन्छ
एउटा स्यानो सुख बोक्न साथ दिन्छौ कि
यात्री आखिर िहंडिजाने हो !
एकै रात बिताउन वास दिन्छौ कि
भारी मेरो नथामिने चौतारीमा, छहारीमा
बिसाउने ठाउँ छ कि छैन तिम्रो काखको देउरालीमा

अलिअलि खरिएको छु
माया झुसी एकै घुट्को पानी दिन्छौ कि
धेरैधेरै भरिएको छु
भारी थोरै गरुँ खाली मानी दिन्छौ कि
टेकन लाएँ तिम्रो मनको बार्दलीमा, अट्टालीमा
बिसाउने ठाउँ छ कि छैन तिम्रो काखको देउरालीमा

Sunday, February 19, 2012

गीत



एक्लै उठ्न नसक्ने म भीरको लहरा
समाउन खोज्दाखोज्दै ढल्यो सहारा
अब कहाँ जाऊँ…
हजार गाँठो परी कतिन्जेल बसूँ एकै ठाउँ !
यो रहरे पालुवाले ताक्दैछ घाम-जूनकॊ गाउँ

सपनाको दश तले आकाश छिचोलूँ कसरी
इच्छाको यो विशाल धर्तीलाई म फन्को लाऊँ कति
कि खोलासँगै ओरालैओरालो घिसारिऊँ
कि सारासंसार बिर्सेर एकचोटि विचारुँ !

लहरिन खोज्दैछु म हुँ एक प्रेमको लहरा
रसाइरै'छ मनमा पवित्र पि्रतीको मूल-जरा
कि आँशुजस्तै तप्केर सप् खेर जान दिऊँ
कि जे सुकै होस् तिम्रो त्यो मनमा लहरिऊँ

Tuesday, February 7, 2012

गीत

स्व.स्वप्निल स्मृति




मेरो मौनतालाई सुनीहेर ठूलो कोलाहल पाउँछौ
मेरो एकोहोरो भावमुद्रा पढ छताछुल्ल पाउँछौ

पढी आधा अंश पाठक हराएको कुनै किताब हुँ म
सुनी सुनी पनि नसुनिने उही मधुर आलाप हुँ म
मेरो थकानमा भयानक एउटा हलचल पाउँछौ
मेरो एकोहोरो भावमुद्रा पढ छताछुल्ल पाउँछौ

उघारेर वर्षौँ खुल्लै छाडिएको एक दैलो हुँ म
तिम्रो प्रतीक्षामा हर कठिनाइमा खुलेयाम छु म
मेरो एक्लोपनमा पस आफूलाई असरल्ल पाउँछौ
मेरो एकोहोरो भावमुद्रा पढ छताछुल्ल पाउँछौ

Sunday, January 15, 2012

सरल गीतहरु 'बिर्सिएका गीतहरु'

स्वप्निल स्मृति

कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा 'बिर्सिएका गीतहरु कृति लिएर नेपाली साहित्यमा उदाएकी छिन् । सामाजिक सन्जाल 'फेसबुक'ले आफूलाई गीतकार बनाएको उनले पुस्तकको 'मेरो भन्नु' महलमा उजागर गरेकी छिन् । उनी लेख्छिन् 'आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरजन र आनन्दको माध्यम भएको छ । म पनि २००९ बाट फेसबुकमार्फत् धेरै साथीहरुसँग रम्ने गर्दथेँ । मन भुलाउने गर्दथेँ । आफ्ना भावना र लेख रचनाहरु साथीहरुसँग आदानप्रदान गर्दथेँ । यस्तै क्रममा २०१० अक्टुबरमा फेसबुकमार्फत् कवि तथा गीतकार टङ्क सम्बाहाम्फेज्यूसँग मेरो भेट हुन पुग्यो । त्यसपछि उहाँले मेरा गीतहरु हेर्न थाल्नुभयो ।' भनाइबाट प्रष्ट हुन्छ कृष्णकलाभित्रको 'गीतकार कृष्णकला' लगभग चार वर्षकी हुन् । त्यसैले पनि होला उनले गीतमा अझै निखारपन ल्याउनुपर्ने देखिन्छ ।
टङ्क सम्बाहाम्फेको गीती साधना निक्कै लामो छ । नेपाली गीत लेखनमा सम्बाहाम्फे एक स्थापित गीतकार र कवि दुवै हुन् । 'बिर्सिएका गीतहरुमाथि टङ्क सम्बाहाम्फे लेख्छन् 'गीतको सम्पादनदेखि लिएर प्रकाशनसम्म मैले सहयोग गर्ने बाचा गरेको थिएँ…' गीतकार सम्बाहाम्फेले यति भन्दाभन्दै पनि वनेमका गीतमा सख्त सम्पादन नपुगेकै देखिन्छ । वनेमका गीतहरु पढिसकेपछि एउटा आंशिक पाठकलाई अवश्य आँट आउनेछ गीत यस्तै हुन्छ भने त जसले पनि लेखिदिन्छ तर एक सचेत पाठकलाई भने गीतकार वनेमले अझै यी गीतलाई काँटछाँट गरेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नै लाग्छ ।
फेसबुक नेपाली साहित्यका पाठक र लेखकबीचको भरपर्दो साँघु बनेको छ । लेखकले 'हातहाती' प्रतिकि्रया अथवा फेसबुककै भाषामा 'कमेन्ट' र 'लाइक' पाठकबाट तुरुन्तै पाउनु यसको फाइदा छ । त्यो सेकेण्डको भरमा गरिने 'लाइक'र मिनेटको भरमा लेखिने 'कमेन्ट'ले गम्भीर पठन र जिम्मेवारपूर्वक प्रतिकि्रया जनाउने प्रकि्रयालाई 'रिमुभ' गरिरहेको छ । गीतहरु पढिसकेपछि वनेमभित्रको एक गम्भीर र शक्तिशाली लेखक कतै त्यसैको शिकार भएको त होइन शंका उब्जिए पनि नेपाली गीतिसाहित्यले एउटा आशालाग्दो कृति भने प्राप्त गरेको छ ।
निराशाको बादल लाग्यो साथ छुटेपिछ
कसलाई खुशी साचूँ मैले माया टुटेपिछ
अक्सर उनका गीत यस्तै अन्त्यानुप्रास मिलाएर लेखिएका छन् । गीतमा भावना पक्षकै प्रधान हुन्छ संगै विचार पनि अन्तर्घुलित भएर आउनुपर्छ । उनका गीतहरु पढिसकेपछि उनको विचारभन्दा उनको भावनात्मक पक्ष छताछुल्ल देखिन्छ । र केही गीतले उनीभित्रको प्रतिभाशाली गीतकारितालाई पनि उद्घाटन गरेको छ ।
पहरामा फुले पनि मन पर्ने सुनाखरी
टिपेर लाउँ भने आकाशको जूनसरी
जम्मा एक सय बीस वटा गीत समाविष्ट 'बिर्सिएका गीतहरु' भित्र सम्झन लायक केही गीतहरु अवश्य छन् । समग्र गीतहरु पढिसकेपछि कृष्णकला वनेम संवेदनाकी प्रचुर खानी व्यक्तित्व पाइए पनि संवेदनालाई गीतिकलामा ढाल्न सक्ने शिल्पी कृष्णकला भने हुर्कँदो अवस्थामा देखिन्छ । जरुर गीतमा संवेदना पक्षको उपल्लो महत्व हुन्छ तर त्यसलाई कलात्मक, लयात्मक र सताङ्गो ढर्रामा प्रस्तुत गर्न सक्नु गीतकारकै क्षमताको प्रश्न हो ।
गीतकार कृष्णकलाले आफ्ना गीतहरु कुनै न कुनै लयमा/प्यारोडीमा गाउँदै रचे कि ! गीतलाई भाकामा गुन्गुनाउँदै लेख्नु र पाठकले एक्कासी पुस्तकमा पढ्नुमा धेरै फरक हुन्छ । फेरि त्यसलाई संगीतमा ढालिएपछि भने गीतको मर्म गीतभित्रबाट बाहिर आउँछ । भाकामा गाउँदै रचिएको गीतले गीतकार स्वयंलाई त 'राम्रो'को प्रशस्त भ्रम दिन्छ तर श्रोता र पाठकमा पुग्दा त्यो राम्रो साँच्चिकै भ्रममा मात्र रुपान्तरण हुन्छ ।
आफ्नो गीति लेखनमा लिम्बु संस्कृति र संवेदनालाई प्रवेश गराउनु गीतकार कृष्णकला वनेमका सकारात्मक पक्षहरु हुन् । आफ्नो स्थानीयता र आाचलिकतालाई गीतमा नउनी नसक्नु एक भावुक गीतकारको नियती र कर्तव्य दुवै हो । उनका केही देशभक्तिपूर्ण गीत पनि संग्रहमा समाविष्ट छन् तर उनले गीतमा प्रयुक्त गरेको भाषा विम्ब र प्रतीकमा नवीनता छ्रैन । त्यसैले उनका गीत पहिले नै पढि/सुनिसकिएका गीत जस्ता छन् जो अहिलेको नेपाली गीतसंगीतको बजारमा बारबार दोहोरिइरहेका सस्ता गीतहरु नै किन नहुन् । तर सँगै औँलामा गन्न सकिने यस्ता गीत पनि छन् जसले उनलाई अलगधारको गीतकारको पहिचानतिर उन्मुख गराएको छ ।
दीपावली मेला जाँदा भयो चिनाजानी
धानै नाचौँ भन्यौ कान्छी मेरो हात तानी
सायद गीतकार कृष्णकला रोजगारीका रुपमा इजरायलमा बसेर पनि होला उनले आफ्ना गीतमा स्वदेश गाउँ फर्किआउने वाचाहरु गर्छिन् । गाउँमा धान नाचेको मेलाहाट भीरपाखा भाज्याङलाई सम्झिन्छिन् । तमोर, शिवा, फुङ्नाम गाउँ, दोभान, मंशीरे पूर्णे, फोलेलुङ डाँडा, छातेढुङ्गा, अमरपुर, हेँवा दोभान, सङ्क्रान्तिबजार, चिहानडाँडा, इवा गाउँ र सल्लेरी पाखाका भाकाहरु उधिनेकी छिन् । यसले सम्बन्धित गीतहरुलाई जीवन्तता दिएको पाइन्छ ।
नेपाल विविधतायुक्त संस्कृतिले सजिएको मुलुक हो । वनेम लिम्बु जातिबाट नेपाली गीतसंगीतमा प्रवेश गरेकी प्रतिभा हुन् । अहिले आफ्नो स्वत्वको मुद्दा साहित्य संगीत राजनीति सबै क्षेत्रमा व्याप्त छ । तर वनेमले कतिपय गीतमा हिन्दू संस्कृतिका मूल्य मान्यतालाई दोहोर् याएकी छिन् । ती मूल्य मान्यता कृष्णकला वनेमका लागि धेरै 'भारी' छन् किभने आदिकवि भानुभक्त राष्ट्रकवि माधव घिमिरेहरुले बोकाएको उक्त भारीलाई कृष्णकला वनेम लिम्बुहरुले बोकिरहनु आवश्यक छैन ।
संसारमा मायाका धेरै 'लाख' गीतहरु लेखिए होलान् कृष्णकलाकै सङ्ग्रहमा गन्ने हो भने दुई तिहाइ गीत त मायाकै छन् । भनिन्छ संसारमा माया छ र लेखिन्छ गीत । प्रेमका विछोडका मिलनका अनेक गीतहरु । तर साँचोमा त माया-प्रेमले पीडित र मायाप्रेममा अनुबन्धित मनुवाहरुले गाउने सम्झिने गीत उतार्नसक्नुचाहिँ गीतकारको असली सामाथ्र्य हो कि खै र जेहोस् आफूलाई लागेको जानेको लेख्ने छुट सबैलाई छ ।
अन्तमा नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशन गरेको बिर्सिएका गीतहरु कृतिले जे भए पनि कृष्णकला वनेमलाई नेपाली साहित्यमा एउटा जिम्मेवारी थपिदिएको छ त्यो हो आइन्दा कृष्णकला वनेमलाई गीतिलेखनबाट भाग्ने छुट छैन । सरल र मध्यम खालका गीत सिर्जना गरेर पाठकमाझ उपस्थित कृष्णकलालाई आफ्नो कृष्णकला नामको 'कला'लाई गीत पक्षमा खरो रुपले प्रयोग गरेर अर्को सुन्दर कृतिका साथ आउनेमा पाठकहरु आशावादी छन् । यही आशा जगाउनु नै 'बिर्सिएका गीतहरु'को सफलता हो ।