
जन्मजात देशद्रोही
एसअर्थमा
सर्पजस्ता सीमानाले ठुँगिईरहेछु
बेरिएर पहेँलोले ऐँजेरुले झ्याङ झ्याम्म सिवाँलीको
निष्पक्ष जीवन अर्को निख्लम व्यक्ति
कमजोर हुँदै गएछु क्रमशः
भने
सुँगुरको खोर त्यो क्षेत्र-फलमा
मानी दिऊँ देश नै उपरोक्त पक्षमा
उद्घोष गर्छु-
मबाट धोका शिवाय अरु हुन सक्दैन ।
दास बनाउनु तेसरी व्यवस्थाले
नागरिक भोग्नु राज्यले
थोकहरुमा किनमेल हुनु मन-सत्ता जीवन-सत्ता
फेरि तेस किस्सिम कब्जा गरेर व्यक्ति-सत्ता
किल्ला ठोकेर दाम्लो कानुनको; विधानको
खु कु लो; कसिलो बाँधेर
घाँस खुवाउनु एक अङ्गालो सुविधाको
मल्खु पस्किनु एक निम्ठो राहतको
किल्लामै मर्छ मान्छे किन यस्तरी ?
मान्छेसित छ आत्महत्याको चेतना
मान्छेसित छ आत्महत्याको प्रविधि
मान्छेसित छ आत्महत्याको सौन्दर्य
तै पनि डराएछु कि आत्महत्या सम्पादनमा
भुलिएँ-अलिकति सम्झौतामा
भुलिएँ-नत्थु स्वतन्त्रतामा
भुलिएँ-बाँच्नुको अहं भ्रममा ।
जन्मजात देशद्रोही
एसअर्थमा
म बाँचेँ मात्र त
गति-विधि जिजिविषाको कति अराजनीतिक !
चल-खेल अस्तित्वको कति नीच !!
राज-नेता बन्नसक्छु र देश बेच्न सक्छु
शासक हुन्छु र रैती मार्न सक्छु
आतङ्कवादी भइदिउँला र
अन्तहीन युद्ध सुरुवात गर्न सक्छु
कि फगत्
सास्तीको सं-यन्त्रमा उल्था हुनु त
मान्छे तेसरी गाँठो पर्नु-झण्डामा, धर्ममा, दर्शन…मा
बरु तेस् अघि म
निरपराध आत्महत्या गर्न चाहन्छु ।
आत्महत्याको दफा संविधानमा खोई ?
म बाँचे मात्र भने
निहुँ खोज्न सक्छु पर्ख न,
इतिहास, परम्परा र बेवकुफ वर्तमान !!
तेस् अर्थमा समेत
म मर्न चाहन्छु ।
एतिपछि राज्यको आँखामा
मार्न लायक भइसकेँ कि म
एसो हो त बाँच्न चाहन्छु !
बाँच्न चाहन्छु !
कमसेकम आत्महत्याको नैसर्गिक उपभोक्ता म
कि म सक्दछु एतिखेर-आत्महत्या गर्न
मर्नुअघि मलाई देऊ
एक जोर पोशाक हिटलरका
एक आन्द्रा भोजन इदिअमिनका
मर्नुमघि मलाई नै देऊ
श्रीपेचमय सुनक असर्फी
खरिद गर्नु छ सुन्दर पासो एउटा लम्बाइ
मर्नुअघि केही क्षण आयू देऊ ।
यो पल-
आत्महत्याको उपल्लो कार्यान्वयनमा छु
झुण्डिएर बादशाहको शालिकमा
घेरिएर त्यस्तरी घेराभित्र
चेप्टिएर यस्तरी घेराभित्र
मन्जुरी छैन खेल्न-जीवनको खेल ।
[२०६२, रङ्ग साहित्यबाट]
too good
ReplyDelete