Pageviews

46,746

Wednesday, March 2, 2011

यदि बालापन फर्किने भए…




यदि बालापन फर्किने भए

तुरुन्तै गाउँ फर्किन्थेँ

समुद्रपारिको भाइरसले ह्याङ भएर
साइफर क्याफेको डस्बिनमा फ्यालिएको मस्तिष्क
'वेभ क्याम'मा छिल्लिरहने पन्ध्र यू.एस. डलरकी ई-प्रेमिका
उपभोक्ता लडी मर्ने भीरजत्रा सुपर मार्केट
ढुङ्गासमान यो मुटु
अम्लिय वर्षा जस्तै यी आँशु
चिहानघारी बराबर यो सहर
छोडेर सप्पैसप्पै थोक
म त्यो दूर्गम इलाकातिर जान्थेँ

खोलालाई सुन्थेँ
हिमाललाई देख्थेँ
पहाडलाई अङ्गालो हाल्थेँ
सहरमा
फूलको शत्रु बाँच्नुभन्दा
गाउँमा काँडाको साथी बन्थेँ

यदि बालापन फर्किने भए
उमेरको साँपले पच्चिस फन्को बेरिएको म
तुरुन्तै मुक्त हुन्थेँ
र आमाको स्नेहमा लाख फन्को बेरिन्थेँ ।

2 comments:

  1. स्वप्निलजी लाग्यो यो कथा मेरो कथा हो .. यो कविता मेरो आफ्नै हो ।

    ReplyDelete